कस्तो चल्दै छ लघु जीवन बीमा कम्पनीहरूको व्यापार ?

काठमाडौं । सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीहरूले चार महिनामा करिब आधा करोडको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८२ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
हाल गार्डियन माइक्रो लाइफ, क्रेष्ट र लिवर्टी माइक्रो लाइफ सञ्चालनमा छन् । यी कम्पनीहरूले चार महिनामा ४८ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत असोज मसान्तसम्मको तुलनामा भने १८ लाख ९ हजार रुपैयाँले बढी हो । गत असोज मसान्तसम्ममा भने कम्पनीहरूले ३० लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
हाल लघु जीवन बीमा कम्पनीहरूको ५ हजार १७८ वटा बीमालेख सक्रिय देखिएको छ । कात्तिकमा मात्रै कम्पनीहरूले २ हजार ४४७ वटा लघु जीवन बीमालेख बिक्री गरेका हुन् ।
समीक्षा अवधिमा सबैभन्दा धेरै व्यापार गार्डियन माइक्रो लाइफले गरेको छ । कम्पनीले चार महिनामा २७ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । समीक्षा अवधिमा कम्पनीले २ हजार ८८० वटा बीमालेख बिक्री गरेको छ । कात्तिकमा मात्रै कम्पनीले ८ लाख ३९ हजार रुपैयाँ बराबरको १ हजार १३९ वटा लघु जीवन बीमालेख बिक्री गरेको देखिन्छ । कम्पनीले चालु आवको पहिलो महिना अर्थात् गत साउनमा ४ लाख २३ हजार रुपैयाँ बराबरको ३५५ वटा बीमालेख बिक्री गरेको थियो । यस्तै, गत भदौमा ६ लाख १४ हजार रुपैयाँ बराबरको ५०१ वटा बीमालेख बिक्री गरेको थियो ।
दोस्रो स्थानमा रहेको क्रेष्ट माइक्रो लाइफले भने चार महिनामा २० लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २ हजार २३५ वटा बीमालेख बिक्री गरेको हो । कात्तिक महिनामा मात्रै कम्पनीले १ हजार २४५ वटा बीमालेख बिक्री गरी ८ लाख ९७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत साउनमा १ लाख ४५ हजार रुपैयाँ बराबरको ११९ वटा र भदौमा १ लाख ६३ हजार रुपैयाँ बराबरको १५० वटा बीमालेख बिक्री गरेको थियो ।
यता, लिवर्टी माइक्रो लाइफले भने चार महिनामा ७२ लाख रुपैयाँ बराबरको ६३ वटा बीमालेख बिक्री गरेको छ । यद्यपि, यो कात्तिकमा मात्रे गरेको व्यापार हो ।