मासिक सवा २ अर्बको नयाँ बिजनेश भित्राउँदै जीवन बीमा कम्पनी: नेपाल लाइफ पहिलो, एलआइसी र हिमालयनलाई नेशनलले टप्यो « Arthapath.com
१४ मंसिर २०८०, बिहीबार

मासिक सवा २ अर्बको नयाँ बिजनेश भित्राउँदै जीवन बीमा कम्पनी: नेपाल लाइफ पहिलो, एलआइसी र हिमालयनलाई नेशनलले टप्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मासिक औसत सवा दुई भित्र्याउने गरेका छन् ।नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक तथ्याङ्कले यस्तो देखाएको हो ।

जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।

चालु आवको चार महिनामा कम्पनीहरुले ८ अर्ब ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका हुन् । सो अवधिमा कम्पनीहरुले कुल २८ लाख ८६ हजार १२६ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
यसरी औसतमा मासिक २ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय कम्पनीहरुले गरेका छन् । औसतमै मासिक ७ लाख २१ हजार ५३१ वटा नयाँ बीमालेख बिक्री गरेको तथ्याङ्कले देखाउँछ ।

प्राधिकरणका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन भएको थियो । साउनमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ वटा बीमालेख बिक्री गरेका थिए ।

गत भदौमा पनि ८ लाख १५ हजार ३६६ वटा बीमालेख बिक्री गरि कम्पनीहरुले २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका थिए । यस्तै, असोजमा मात्रै ९ लाख १६ हजार ९३ वटा बीमालेख बिक्री गरि कुल २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन यो वर्षकै धेरै हो ।

तर, कात्तिकमा भने औसतभन्दा कम अर्थात् १ अर्ब ९० करोड ४० लाख रुपैयाँ मात्रै नयाँ व्यवसाय गरेका छन् । कात्तिकमा कम्पनीहरुले ३ लाख २१ हजार ९०८ वटा बीमालेख बिक्री गरेका हुन् । कात्तिकमा भने चाडपर्वको असर देखिएको प्राधिकरणले जनाएको छ । नेपालका ठुला पर्व दसै, तिहार छठ लगायत कात्तिक महिनामै पर्छन्, त्यसकै प्रभावले नयाँ व्यवसाय कम देखिएको प्राधिकरणको भनाई छ । तर, मंसिरदेखि भने बढ्न सक्ने आकलन गरिएको छ ।

चालु आवको चार महिनामा कम्पनीहरुले गरेको व्यापार गत आवको सोही अवधिको तुलनामा भने ४९ करोड ३५ लाख रुपैयाँले कमी हो । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

नयाँ व्यवसायमा पनि नेपाल लाइफकै राज, नेशनल लाइफ पनि तगडा

नयाँ व्यवसायमा पनि नेपाल लाइफ नै अघि देखिएको छ । चालु आवको चार महिनामा कम्पनीले २ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको हो । कात्तिकमा मात्रै कम्पनीले ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । कुल व्यपारमा पनि नेपाल लाइफको अग्रता नै छ ।

नयाँ व्यवसाय भित्राउन नेशन लाइफ पनि तगडा देखिएको छ । चार आवको चार महिनामा कम्पनीले १ अर्ब २५ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । कात्तिकमा मात्रै कम्पनीले ३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि ६७ करोड ६४ लाख रुपैयाँ बराबरको नयाँ विजनेश गरेको छ । चौथो सूचीमा रहेको हिमालयन लाइफले पनि ६२ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफसँग सूर्यज्योति प्रतिस्पर्धा जस्तो देखिएको छ । समिक्षा अवधिमा सूर्यज्योतिले पनि ६२ करोड ४६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको हो ।

यस्तै, सिटिजन लाइफले ४८ करोड ६५ लाख, एशियन लाइफले ४२ करोड २६ लाख, सानिमा रिलायन्सले ४० करोड ४२ लाख, सन नेपालले ३९ करोड १४ लाख, रिलायवल नेपालले ३८ करोड ५८ लाख, मेट लाइफले ३८ करोड १७ लाख, प्रभु महालक्ष्मीले २६ करोड ७९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १८ करोड ३४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्