कृषि बीमाको सेवा थप फराकिलो बनाउँदै प्राधिकरण: अब आँप, ओखर र दाल खेतीको पनि बीमा, कति लाग्छ पैसा ?  « Arthapath.com
११ पुष २०८०, बुधबार

कृषि बीमाको सेवा थप फराकिलो बनाउँदै प्राधिकरण: अब आँप, ओखर र दाल खेतीको पनि बीमा, कति लाग्छ पैसा ? 



काठमाडौं । अब आँप, ओखर खेती र दलहन (दाल) बालीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तर्गतका यी तीन खेतीको बीमालेख जारी गरेको हो । योसँगै अब किसान तथा व्यवसायीलाई आँप, ओखर र दाल खेतीको पनि बीमा गर्न बाटो खुला भएको हो । प्राधिकरणको निर्देशनअनुसार बीमा कम्पनीहरूले आगामी पुस १६ गतेदेखि नै आँप, ओखर र दालको बीमा गर्न सक्नेछन् ।

तीनै वटा खेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बीमालेख बनाइएको  प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कृषि बीमाको सेवालाई थप फराकिलो बनाउन तीन खेतीको बीमालेख जारी गरिएको उनले बताए । उनले भने,–‘प्राधिकरणले कृषि बीमाको सेवालाई फराकिलो बनाउन थप तीन खेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको छ । यसले दाल, आँप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुला भएको छ ।’

नेपालमा २०६९ मा कृषि बीमा निर्देशका जारी गरेर आव २०७०/७१ देखि कृषि बीमाको कारोबार हुँदै आएको छ । यसमा बार्षिक दुइ अर्ब माथिको कारोबार हुँदै आएको छ ।

प्राधिकरणले हालै जारी गरेको दलहन बाली, ओखर र आँप खेतीको बीमाले अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य भूमिजन्य, चट्याङजन्य, रोग/कीराजन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरूबाट हुने क्षतिलाई रक्षावरण गर्नेछ । सम्बन्धित व्यवसायी तथा किसानको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दलहन, आँप र ओखर खेतीको सामूहिक रूपमा पनि बीमा गर्न सकिनेछ । 

तर, अप्रत्यक्ष क्षतिमा भएमा, अधिकार प्राप्त निकायको आदेशमा खेती नष्ट गरिएमा, विकिरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोर वा अवशेष संसर्ग, कन्टामिेनशन) बाट क्षति भएमा, आणविक, रासायनिक तथा जैविक लगायत आम विनाशकारी हतियारको प्रयोगबाट क्षति भएमा बीमाले रक्षावरण नगर्ने प्राधिकरणले जनाएको छ । यसका साथै सैनिक विद्रोह, शक्ति अपहरण, घेराबन्दी वा युद्ध, आक्रमण, विदेशी सैन्य कारबाही वा कुनै युद्ध सरहको कारबाही वा गृहयुद्ध वा राजद्रोह लगायत कारण क्षतिमा भएमा पनि बीमाले रक्षावरण नगर्ने बताइएको छ । 

के छ बीमांक र बीमाशुल्क  सम्बन्धी व्यवस्था ? 

दाल तर्फ बालीको किसिम, जात, बाली लगाइएको क्षेत्रफल, जिल्लाको उत्पादकत्व क्षमता र समर्थन मूल्यको आधारमा बीमांक रकम निर्धारण गरिनेछ । बीमालेख जारी भइसकेपछि बीमांक रकम परिवर्तन गर्न पाइने छैन । 

मुंग, मास र गहत दालको बीमाशूल्क बीमांकको ३ प्रतिशतको दरले निर्धारण गरिनेछ । यसैगरि चना, मसुरो, केराउ, बोडी, सिमी, भटमास र राजमा बालीको हकमा बीमांकको चार प्रतिशतका दरले बीमाशुल्क निर्धारण गरिनेछ । रहर बालीको हकमा भने बीमांकको ५ प्रतिशतको दरले बीमाशुल्क निर्धारण गरिनेछ । बीमाशुल्कमा सरकारले प्रदान गर्ने अनुदान पाइनेछ । दुर्घटना बीमा बापत भने प्रति व्यक्ति ५ सय रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

आँप खेती तर्फ भने लागत र उत्पादनको आधारमा बीमांक निर्धारण गरिनेछ । लागत तर्फ बोटको उमेर वर्ष र प्रति बोट उत्पादन लागत खर्चको आधारमा  बीमांक निर्धारण गरिने छ । यसैगरि उत्पादनको आधारमा बोटको उमेर, उत्पादन क्षमता र मूल्यको आधारमा बीमांक निर्धारण गरिनेछ । बीमालेख जारी भइसकेपछि बीमांक परिवर्तन गन पाइने छैन । 

लागत आधारमा बीमा गर्दा बीमांकको ५ प्रतिशतका दरले शुल्क बुझाउनुपर्नेछ ।  उत्पादनको आधारमा बीमा गर्दा बीमांकको ७ प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने छ । यसमा पनि सरकारको अनुदान पाइनेछ । दुर्घटना बीमा बापत प्रतिव्यक्ति थप ५०० रुपैयाँ शुल्क लाग्नेछ । 

यसैगरि ओखर खेतीको पनि लागत र उत्पादनको आधारमै बीमांक निर्धारण गरिनेछ । त्यसमा पनि बिजु बिरुवाको हकमा ७ वर्षसम्म लागतको आधारमा मात्रै र त्यसपछि उत्पादन वा लागत वा दुवैको आधारमा बीमा गर्न सकिनेछ ।  कमली बिरुवाको हकमा ३ वर्षसम्म लागतको आधारमा मात्रै र त्यसपछि उत्पादन वा लागत वा दुवैका आधारमा बीमा गर्न सकिनेछ । 

यसमा लागतको आधारमा बीमा गर्दा बीमांकको ५ प्रतिशतको दरले शुल्क लाग्नेछ । उत्पादनको आधारमा बीमा गर्दा बीमांकको ७ प्रतिशतको दरले शुल्क लाग्नेछ । यसमा सरकारी अनुदान समेत पाइनेछ । यसैगरि दुर्घटना बीमा बापत प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क लाग्नेछ ।

दलहन बाली बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्

आँप खेती बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्

ओखर खेती बीमालेख हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्