व्यवसाय ग्रोथमा प्रभु, हिमालयन र आइएमइ लाइफ तगडा: अधिकांशको व्यापारमा करेक्शन, कुनको कस्तो ? « Arthapath.com
२१ पुष २०८०, शनिबार

जीवन बीमा बजार:

व्यवसाय ग्रोथमा प्रभु, हिमालयन र आइएमइ लाइफ तगडा: अधिकांशको व्यापारमा करेक्शन, कुनको कस्तो ?



काठमाडौं । व्यवसाय बढाउन तीन जीवन बीमा कम्पनीहरू अघि देखिएका छन् । व्यवसाय वृद्धिदरमा प्रभु महालक्ष्मी, हिमालयन र आइएमई लाइफ इन्स्योरेन्स शीर्ष सूचीमा छन् । यी तीनै वटा कम्पनीहरूले बीमा शुल्क आर्जन दोहोरो अङ्कले बढाएका हुन् । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले पाँच महिनामा कुल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको मङ्सिर मसान्तसम्मको तुलनामा सामान्य (३.७४ प्रतिशत)ले बढेको हो । 

समीक्षा अवधिमा सबैभन्दा धेरै व्यवसाय प्रभु महालक्ष्मी लाइफले वृद्धि गरेको छ । कम्पनीले गत वर्षको तुलनामा १५.९ प्रतिशतले व्यवसाय बढाएर १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ पुर्‍याएको छ । 

यस्तै, हिमालयन लाइफले पनि बीमा शुल्क आर्जन १३.३ प्रतिशतले वृद्धि गरेको छ । गत मङ्सिरसम्मको अवधिमा कम्पनीले कुल ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।  तेस्रो सूचीमा रहेको आइएमई लाइफको पनि बीमा शुल्क आर्जन ११.१ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । 

राष्ट्रिय जीवन बीमा, सन नेपालको व्यापार घट्यो, एलआइसीको करेक्सन 

समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमासहित तीन कम्पनीको व्यापार भने घटेको छ । गत वर्षको मङ्सिरसम्मको तुलनामा यो वर्ष राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १८.६३ प्रतिशतले घटेको छ । सो अवधिमा कम्पनीले ४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

यता, सन नेपाल लाइफको बीमा शुल्क आर्जन पनि ११.१७ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।रकमको आधारमा सबैभन्दा धेरै व्यापार गर्नेको तेस्रो सूचीमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल छ । तर, गत वर्षको मङ्सिरको तुलनामा भने कम्पनीको व्यापारमा सामान्य करेक्सन अर्थात् १.४९ प्रतिशतले घटेको छ । 

एकल अङ्कमा व्यवसाय वृद्धिदर, अझै हटेन आर्थिक सङ्कुचन 

समीक्षा अवधिमा अधिकांश कम्पनीहरूको व्यवसाय वृद्धिदर एकल अङ्कमै छ । आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले जीवन बीमा व्यवसायको संंकुचन अझै हट्न सकिरहेको छैन । आर्थिक शिथिलताकै कारण कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा बढ्न सकिरहेको छैन । यद्यपि, बिस्तारै बढ्न थालेको भने सङ्केत देखिएको छ । 

मङ्सिरसम्मको तथ्याङ्क अनुसार धेरै कम्पनीको बीमा शुल्क आर्जन १० प्रतिशत भन्दा कमले वृद्धि भएको छ । रकमको आधारमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफको ग्रोथ पनि ७.२४ प्रतिशत मात्रै छ । 

समीक्षा अवधिमा नेशनल लाइफले पनि आफ्नो व्यवसाय ९.५४ प्रतिशत, एशियन लाइफले ७.८४ प्रतिशत, रिलायवल नेपालले ६.८८ प्रतिशत र सानिमा रिलायन्स लाइफले ६.६८ प्रतिशतले व्यवसाय बढाएका छन् । 


प्रतिक्रिया दिनुहोस्