भारतमा पुनर्बीमाको चुक्तापूँजी आधा घटाएको ६ महिना नबित्दै नेपालमा किन दोब्बर बनाइयो ? « Arthapath.com
१८ माघ २०८०, बिहीबार

भारतमा पुनर्बीमाको चुक्तापूँजी आधा घटाएको ६ महिना नबित्दै नेपालमा किन दोब्बर बनाइयो ?



काठमाडौं । छिमेकी भारतले पाँच महिना अघिमात्रै विदेशी पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी १ अर्बबाट आधा घटाएर ५० करोड भारतीय रुपयाँ तोकेको छ । त्यहाँको ‘भारतीय बीमा विनियामक और विकास प्राधिकरण’ले आफ्नो देशलाई विश्वको ‘पुनर्बीमा हब’ बनाउने उद्देश्यले यस प्रकारको कदम चालेको बताएको छ ।

यसअघि भारतमा जीवन, निर्जीवन र स्वास्थ्य बीमा गर्ने कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी भारु १ अर्ब र पुनर्बीमा कम्पनीका लागि न्यूनतम पूँजी भारु. २ अर्ब तोकिएको थियो । भारतको सबैभन्दा ठूलो र संसारकै १६ औं ठूलो पूनर्बीमा समूह जीआईसी रि को चुक्ता पूँजी भारु. ८ अर्ब ७७ करोड (सन् २०२२ को तथ्यांक) छ । यो नेपाली रुपैयाँमा १४ अर्ब हो ।

बंगलादेशमा विद्यमान कानूनले निर्जीवन बीमाका लागि ४० करोड टाका र जीवन बीमाका लागि ३० करोड टाका न्यूनतम चुक्ता पूँजी तोकेको छ । तर पुनर्बीमा कम्पनीको हकमा त्यस्तो कुनै सीमा तोकिएको छैन । त्यहाँको सबैभन्दा ठूलो बीमा कम्पनी (पुनर्बीमाको समेत काम गर्ने) साधारण बीमा कर्पोरेशन (एसबीसी)को अधिकृत पूँजी १० अर्ब र चुक्ता पूँजी ५ अर्ब टाका छ ।

जबकी यो कम्पनीमा बंगलादेशका निजी बीमा कम्पनीहरुले ५० प्रतिशत पुनर्बीमा गर्छन् । अहिलेको भाउमा भारु १०० बराबर नेपाली रुपैयाँ १६० हुन्छ भने बंगलादेशी टाका १३२ हुन्छ । यस अनुसार ५ अर्ब टाका भनेको ६ अर्ब ४ करोड नेपाली रुपैयाँ बराबर हो । यो अहिले नै नेपालको सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको तुलनामा आधाभन्दा कम हो । नेपाल पुनर्बीमा कम्पनीसँग अहिले १२ अर्ब ८१ करोड चुक्ता पूँजी छ भने हिमालयन रिसँग १० अर्ब सेयर पूँजी छ ।

पाकिस्तानमा त्यहाँको नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन अफ पाकिस्तानले पुनर्बीमा कम्पनीलाई पनि निर्जीवन बीमा कम्पनीकै सरह ५० करोड पाकिस्तानी रुपये न्यूनतम पूँजी तोकेको छ । यसका बाबजुद पाकिस्तान रिइन्स्योरेन्स (पाक रि) कम्पनीको चुक्ता पूँजी ९ अर्ब पाकिस्तानी रुपये छ । यो भनेको अहिलेको भाउमा नेपाली रुपैयाँ ४ अर्ब २६ करोड हाराहारी हो ।

सन् २०२२ को अन्तिम मूल्यमा यो रकम ५ अर्ब २२ करोड नेपाली रुपैयाँ बराबर थियो । २०७८ वैशाखपछि पाकिस्तानी मुद्राको भाउ लगातार ओरालो लागेका कारण अहिले नेपाली मुद्राको तुलनामा यसको मूल्य निकै सस्तो भएको हो । हाम्रा छिमेकी बजारहरुभन्दा टाढा गएर विश्व बजारकै ठूला पुनर्बीमा कम्पनीहरुको आकडा नियाल्ने हो भने पनि अवस्था त्यस्तै छ ।

जर्मनी र स्वीट्जरल्याण्डका तीन ठूला कम्पनीले संसारको पुनर्बीमा बजारमध्ये करीब ३२ प्रतिशत हिस्सा ओगट्छन् । संसारको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी (समूह) मुनिच रिको सेयर पूँजी ५८ करोड ७७ लाख युरो छ । विश्वको झण्डै १३ प्रतिशत पुनर्बीमा बजार ओगटेको यो जर्मन कम्पनीको उक्त चुक्ता पूँजी नेपाली रुपैयाँमा परिवर्तन गर्ने हो भने ८४ अर्ब ८५ करोड रुपैयाँ हाराहारी हुन्छ । अर्थात् नेपालमा बीमा प्राधिकरणले दुई वटा पुनर्बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्ता पूँजीको दोब्बर हाराहारी हो ।

तर मुनिचभन्दा अलिकति साना कम्पनीलाई हेर्ने हो भने अवस्था उल्टिन्छ । संसारको पुनर्बीमा बजारमा करीब १० प्रतिशत हिस्साभएको विश्वकै दोस्रो ठूलो पुनर्बीमा कम्पनी स्वीस रिको सेयर पूँजी ३ करोड १७ लाख ४९ हजार ७३० स्वीस फ्र्याङ्क छ । यो भनेको आजैका मूल्य अनुसार ४ अर्ब ८९ करोड ७७ लाख नेपाली रुपैयाँ हाराहारी हो ।

संसारको तेस्रो ठूलो पुनर्बीमा कम्पनी पनि जर्मनीकै हो । सन् २०२२ को एकै वर्षमा ४८ खर्ब रुपैयाँभन्दा बढी प्रिमियम उठाएको हनोफा रिसँग १२ करोड ५ लाख ९७ हजार युरो सेयर पूँजी छ । नेपाली रुपैयाँमा यो भनेको १७ अर्ब ४१ करोड रुपैयाँ हाराहारी हो । अर्थात्, नेपालमा बीमा प्राधिकरणले ‘न्यूनतम’ भनेर दिएको सीमाभन्दा झण्डै ३ अर्ब कम ।

सेयर पूँजीलाई बढाएर व्यवसाय बढ्छ वा व्यवसाय बढाउन चुक्ता पूँजी बढाउनै पर्छ भनेर नेपालमा स्थापित गर्न खोजिएको मान्यतालाई यी आँकडाहरुले स्वीकार गर्दैनन् । तै पनि नेपालमा पुनर्बीमा कम्पनीका लागि तुरुन्तै २० अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था गर्न नियामक बीमा प्राधिकरणले निर्देशन दिएको छ । यसलाई बीमा क्षेत्रमा जानकारहरुले ‘नियोजित चाल’का रुपमा बुझलेका छन् ।

‘यो व्यवस्था कसको इसारामा आएको हो भन्ने अहिले नै प्रष्ट भइएसकेको छैन’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘नियामकले यसरी खेल खेलिरहने कोसिस गर्नु समग्र बीमा र आर्थिक क्षेत्रकै स्थायित्वका लागि जोखिमपूर्ण हुनसक्छ ।’ हालका वर्षमा अन्तरराष्ट्रिय अभ्यासहरु ‘जोखिममा आधारित पूँजीको व्यवस्था गर्ने बाटोमा अघि बढेका छन् । व्यवयास र दायित्वको भारि जति बढ्दै जान्छ, त्यसलाई थेग्न सक्ने गरी कम्पनी पनि बलियो पार्दै लानु पर्ने हुन्छ । तर यहाँ सेयरधनिलाई पैसा थप्नमात्रै लगाउने काम भइरहेको भनेर उनीहरुले गुनासो गरे ।

जानकारहरु यसरी अधिक पूँजीकरण गर्नुका पछाडी त्यसले ल्याउन सक्ने संभावित जोखिमलाई नियामकले नजरअन्दाज गरेको बताउँछन् । केही वर्षयता नेपाल पुनर्बीमा कम्पनीले १० अर्ब लगानी गरेका सेयर धनिलाई लाभांश दिनुपर्ने दबाबमा काम गर्दा बंगलादेशको गार्मेण्ट उद्योगको बीमाका ठूलो क्षति व्यहोर्नु परेको थियो । पुनर्बीमा व्यवसाय पछिल्ला वर्षमा संसारभर नै ठूलो क्षति व्यहोरिरहेका बेला नेपालले आफ्ना कम्पनीहरुलाई बिना योजना र स्पष्ट दृष्टिकोण बिनै अस्वस्थ प्रतिस्पर्धातर्फ धकेलिदिएको जानकारहरुको टिप्पणी छ ।

यसअघि बैंक तथा वित्तीय संस्था, लघुवित्त र बीमा क्षेत्रमै पनि अधिक संस्था र अधिक पूँजीका कारण वित्तीय स्थापित्वमा बारम्बार समस्या सिर्जना भएको भन्दै नियाकले पुनः एक पटक गलत निर्णय गरेको जानकार बताउँछन् । ‘कि त नियामकले यस निर्णयका पछाडी चित्तबुझ्दो कारण र रणनीति प्रस्ट्याउन सक्नुपर्छ, होइन भने यो कुनै नियोजित स्वार्थका लागि अघि सारिएको हो भनेर स्वीकार्नु पर्छ’ ती बीमा विज्ञ भन्छन् ।


प्रतिक्रिया दिनुहोस्