सिद्धार्थ प्रिमियरको नाफा र खुद बीमा शुल्क आर्जनमा छलाङ, दाबी भुक्तानी ३.२३ गुणा बढायो « Arthapath.com
२९ माघ २०८०, सोमबार

सिद्धार्थ प्रिमियरको नाफा र खुद बीमा शुल्क आर्जनमा छलाङ, दाबी भुक्तानी ३.२३ गुणा बढायो



काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको खुद नाफा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको नाफा ११७.३४ प्रतिशत वृद्धि भई २६ करोड ९ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीले १६ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

६ महिनामा कम्पनीले ७९ करोड २५ लाख ७६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यो बीमा शुल्क गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १६४.०६ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड १ लाख ५२ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको दाबी भुक्तानी पनि ३.२३ गुणाले वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १४ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो । तर, यो वर्षको सोही अवधिमा भने २२३.७९ प्रतिशत वृद्धि भई ४६ करोड ६ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ छ भने कुल खर्च ८१ करोड ७६ लाख रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीको विशेष जगेडा कोषमा भने २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७६ करोड ८८ लाख र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २५ रुपैयाँ ७२ पैसा छ । जुन गत वर्षको दोस्रो त्रैमासको तुलनामा २ रुपैयाँ ४ पैसाले बढी हो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने २६४ रुपैयाँ ३६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्