मधेशमा बीमाको दायरा दुई वर्षभित्र ३५ प्रतिशत पुर्‍याउने, छुट्टै प्याकेज बनाएर अघि बढ्दै प्राधिकरण « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

मधेशमा बीमाको दायरा दुई वर्षभित्र ३५ प्रतिशत पुर्‍याउने, छुट्टै प्याकेज बनाएर अघि बढ्दै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा मङ्गलबार बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरूको बीच उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशमा बीमा दायरा बढाउन आवश्यक रहेको बताए । उनले दुई वर्ष भित्र मधेशमा बीमाको दायरालाई ३५ प्रतिशत पुयाउने प्याकेजसहितको तयारी रहेको बताए । उनले भने, ‘मधेश प्रदेशमा हाल बीमाको दायरा ९ प्रतिशतमा सीमित छ । तर, आगामी दुई वर्षमा २५ प्रतिशत पुर्‍याउने लक्ष्यका साथ छुट्टै प्याकेज बनाएर अगाडि बढ्ने तयारी भइरहेको छ।’

निर्देशक लालले बीमाले बचत सँगसँगै जोखिमको आर्थिक सुरक्षा समेत गर्ने भएकाले बीमाको विकास एवम् विस्तारलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले बीमा दावी भुक्तानीलाई सहज बनाउन प्राधिकरणले सीमित कागजातका आधारमा छिटोछरितो रूपमा साना दाबी भुक्तानीको व्यवस्था गरेको स्पष्ट पारे ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बीमा दाबी भुक्तानीमा समस्या रहेको उल्लेख गरे । उनले बीमाको पहुँच विस्तारका लागि नगरपालिकाले बीमा सम्बन्धी कार्यक्रम ल्याउने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्