निर्जीवन बीमा व्यवसायमा शिखरको वर्चश्व, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

निर्जीवन बीमा व्यवसायमा शिखरको वर्चश्व, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई



काठमाडौं । आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार २६ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनदेखि फागुनसम्म १४ वटा कम्पनीहरुले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने सामान्य (१.५३ प्रतिशत) बढी हो । गत आवको फागुन मसान्तसम्ममा कम्पनीहरुले कुल २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

चालु आवको आठ महिनामा कम्पनीहरुले १९ लाख ५९ हजार ३८६ वटा निर्जीवन बीमालेख बिक्री बेचेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा भने ४.४२ प्रतिशत बढी हो ।

निर्जीवन बीमा व्यापारमा शिखर इन्स्योरेन्सकै वर्चस्व कायम छ । कम्पनीले बिना मर्जरनै अन्य कम्पनीहरुलाई व्यवसायमा उछिनेको छ । चालु आवको आठ महिनामा शिखर ३ अर्ब ७१ करोड ८७ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले कुल २ लाख ८ हजार २४५ वटा बीमालेख बिक्री गरेको छ । फागुनमा मात्रै कम्पनीले २९ हजार ३३३ वटा बीमालेख बिक्री गरि कुल ८२ लाख ३० हजार ६९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

व्यवसायमा शिखरलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पच्छ्याएको छ । सलिकोले आठ महिनामा ३ अर्ब ४ करोड ३१ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जनको आधारमा भने सलिको दोस्रो सूचीमा छ । समिक्षा अवधिमा कम्पनीले १ लाख ९६ हजार ५६५ वटा बीमालेख बिक्री गरेको छ। फागुनमा मात्रै कम्पनीले २४ हजार ९१ वटा बीमालेख बिक्री गरेर ३७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले पनि २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थले आठ महिनामा २ लाख ३ हजार ५६५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ६३ हजार ३५४ वटा बीमालेख बिक्री गरि २ अर्ब ३० करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, नेकोले २ अर्ब ११ करोड ९१ लाख रुपैयाा बीमा शुल्क आर्जन गरेको छ । यता, हिमालयन एभरेष्टले पनि आठ महिनामा २ अर्ब ८ करोड ९१ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्टले १ लाख ६६ हजार १८९ वटा बीमालेख बिक्री गरेको छ ।

समिक्षा अवधिमा युनाइटेड अजोडले १ अर्ब ७४ करोड ६९ लाख, एनएलजीले १ अर्ब ६२ करोड ७ लाख, प्रभुले १ अर्ब २० करोड १७ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड २० लाख, दि ओरियण्टले १ अर्ब १८ करोड २४ लाख, सानिमा जिआइसीले १ अर्ब ५६ करोड १३ लाख बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, नेपाल इन्स्योरेनस ९९ करोड ४७ लाख, नेशनलले ७६ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आठ महिनामा संकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्