साउन १ गतेदेखि बीमा प्राधिकरणको काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

साउन १ गतेदेखि बीमा प्राधिकरणको काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गरे हुन् । प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताए ।

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने बताए । बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए ।

सोही अवसरमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताए ।

आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेभसाइटलाई परिमार्जन गर्दै लगिने बताए । कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए ।

कार्यक्रममा प्राधिकरणका कर्मचारीहरू र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्