एक प्रौढ नियामकले पार गरेको ‘उकाली-ओराली’
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आज (जेठ १ गते)देखि स्थापनाको ५५ वर्ष पार गरेको छ । नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने एक मात्र नियामक निकाय हो, प्राधिकरण । समग्र बीमा क्षेत्रलाई नियमन गर्न यो संस्था वि.स. २०२५ सालमा स्थापना भएको थियो । यद्यपि, नेपालमा बीमाको अवधारणा तथा अभ्यास भने त्योभन्दा अघि नै सुरु भइसकेको थियो ।
नेपालमा बीमा क्षेत्रको औपचारिक सुरुवात भएको आज साढे ७ दशक पुरा भइसकेको छ । बीमा क्षेत्रको छुट्टै नियामकका रूपमा पहिलो पटक २०२६ सालमा बीमा बोर्ड (बीमा समिति) स्थापना भएको थियो । जुन बीमा ऐन, २०७९ लागू भएसँगै नेपाल बीमा प्राधिकरणमा परिणत भएको हो । अघिल्लो वर्ष २०७९ कात्तिक २२ गतेदेखि समितिबाट प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन, २०७९ लागू भएसँगै नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ ।
नेपालमा निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने उद्देश्यले प्राधिकरणलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बीमा व्यवसायलाई प्रभावकारी ढङ्गले नियमन गरी नीति धारकहरूको हकहित रक्षा गर्ने जिम्मेवारी पनि प्राधिकरणको हो । नेपाल बैंक लिमिटेडको अग्रसरता र स्वामित्वमा वि.स. २००४ सालमा पहिलो बीमा कम्पनीको रूपमा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’ स्थापना भएको थियो ।
पछि सरकारले वि.सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना गरेको थियो । बीमाको महत्त्व र आवश्यकता बढ्दै जाँदा कम्पनीलाई वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी गरी सरकारी कम्पनीका रूपमा राष्ट्रिय बीमा संस्थानका रूपमा परिवर्तन गरिएको थियो । कम्पनीले निर्जीवन बीमा व्यवसाय मात्र गर्दै आएको थियो । तर, वि.सं. २०२९ सालबाट भने कम्पनीले जीवन बीमा व्यवसायको थालनी गरेको थियो ।
नेपालमा प्रथम पटक निजी क्षेत्रको सक्रियतामा वि.सं. २०४४ सालमा विदेशी लगानीमा संयुक्त लगानीको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भयो । यो कम्पनीले तत्कालीन समयमा जीवन तथा निर्जीवन दुवै खाले बीमा व्यवसाय गरे पनि हाल दुई कम्पनीमा विभाजन भई छुट्टा छुट्टै व्यवसाय गर्दै आएका छन् ।
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् बनेको सरकारले उदार अर्थनीति अवलम्बन गरेअनुरूप सार्वजनिक उद्यमहरू निजीकरण गर्ने क्रम बढेको थियो । त्योसँगै निजी क्षेत्रलाई अन्य उद्योग जस्तै बीमा उद्योगमा आकर्षित गर्ने नीति ल्याएको थियो । त्यसपछि नेपालमा निजी क्षेत्रको स्वामित्वमा बीमा कम्पनीहरू स्थापना गर्ने लहर नै चल्यो । त्यस अघि पाँच वटा रहेको बीमा कम्पनीको सङ्ख्या हाल ३७ वटा पुगेको छ ।
प्राधिकरणले बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन, पुँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन र बिमितको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षालाई प्रभावकारी बनाउन बीमकहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणको सो निर्णयसँगै ९ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीले मर्जरको बाटो अपनाएका थिए । हाल नेपाल बीमा बजारमा १४ वटा जीवन बीमकहरू, १४ वटा निर्जीवन बीमकहरू, ७ वटा लघुबीमक र २ पुनर्बीमक गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सक्रिय रहेका छन् ।
मर्जरको नीति अघि अर्थात् अघिल्लो आर्थिक वर्षसम्म भने नेपालमा १९ वटा जीवन, २० वटा निर्जीवन र २ निर्जीवन बीमक गरी ४१ वटा बीमा कम्पनी रहेका थिए । बीमा क्षेत्रलाई थप बलियो र विश्वसनीय बनाउन बागमती प्रदेशको कार्यभार केन्द्रीय कार्यालयबाट सम्हाल्ने गरी छ वटा प्रदेश कार्यालयको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले बीमा ऐन तथा बीमा नियमावलीको अधीनमा रही बीमाका आधारभूत सिद्धान्तहरू अनुरूप आफ्नो नियमनकारी भूमिका अवलम्बन गर्दै आइरहेको छ । प्राधिकरणले बीमाको पहुँच सर्वसाधारणसम्म पुर्याउन बीमाप्रति सम्पूर्ण नागरिकहरूलाई जागरूक तथा सजग गराउन स्थानीय निकाय, विद्यालय, प्रहरी, अन्य वित्तीय क्षेत्र, उद्योग व्यवसाय, बीमाका मध्यस्थकर्ता लगायत बीमक तथा अन्य सरोकारवालासँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै आइरहेको छ ।
प्राधिकरण बिमितको हक हित संरक्षण तथा बीमा बजारमा हुन सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्थलगत तथा गैर–स्थलगत निरीक्षण कार्यलाई प्रभावकारी रूपमा अङ्गालेर अगाडि बढेको छ । बीमा क्षेत्रको सुदृढीकरणका लागि प्राधिकरणबाट विभिन्न निर्देशिकाहरू जारी तथा परिमार्जन गर्दै आएको छ । बीमा क्षेत्रमा भएका चुनौतीलाई अवसरमा रूपान्तरण गरी आगामी दिनहरूमा बीमा सेवालाई ग्रामीण क्षेत्र तथा न्यून आय भएका विपन्न वर्ग समेतमा विस्तार गर्नुपर्ने आवश्यकता छ । बीमालाई दैनिक जीवनको एउटा अङ्गको रूपमा विकास गर्न प्राधिकरण सधैँ प्रतिबद्ध रहेको छ ।
वित्तीय प्रणालीको एउटा प्रमुख अङ्गको रूपमा रहेको बीमा क्षेत्रले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । पछिल्लो समय बीमाप्रति आम सर्वसाधारणको रुचि पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुल जनसङ्ख्याको ४३.३२ प्रतिशत जनासंख्यामा (म्यादी, लघु–म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) बीमाको पहुँचमा पुगेको छ । सरकार, बीमा प्राधिकरण, बीमक लगायत सरोकारवालाको सामूहिक प्रयासबाट आगामी दिनमा बीमाको पहुँच अझै उल्लेख्य रूपले बढ्दै जाने विश्वास लिएको छ ।
बीमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखी विकास गर्न, बदलिँदो परिवेश तथा त्यसबाट उत्पन्न चुनौती सामना गर्न र सिर्जित अवसरहरू प्रभावकारी रूपले उपयोग गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । सबै क्षेत्रमा बीमाको पहुँच बढाउन, बीमा क्षेत्रको गुणस्तर कायम गर्न तथा विद्यमान विविध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान अभिवृद्धि गर्नको लागि राष्ट्रिय बीमा नीति पनि जारी गरिसकेको छ । अब बीमा नीति तथा ऐन कार्यान्वयन गर्न प्राधिकरण लागि परेको छ ।
प्राधिकरणबाट प्रवाह गरिने सेवालाई सहज, सरल एवम् छिटो छरितो बनाउन विद्युतीय माध्यमबाट सेवा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । जुन ५६ औँ वार्षिकोत्सव मनाउँदै गर्दाको एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो । प्राधिकरण आफ्नो ५६औं वर्षसम्म आइपुग्दा निकै ठुला र महत्वपूर्ण फड्को मारिसकेको छ । बीमालाई प्रविधिमैत्री बनाउन विभिन्न कामहरू पनि सम्पन्न भएका छन् । हाल बीमा अभिकर्ता, सर्भेयर दर्ता तथा नवीकरण लगायतका काम कारबाहीहरू अनलाइन व्यवस्था मार्फत भइरहेका छन् । आगामी आर्थिक वर्षदेखि नै प्राधिकरणले आफ्ना अधिकांश काम कारबाहीलाई पेपर–लेस बनाउने गरी अघि बढेको छ ।
नेपालको बीमा उद्योगले विभिन्न चरणमा धेरै खालको आरोह–अवरोह छिचोलेको छ । बीमा क्षेत्रको समग्र विकाससँगै स्थानीय स्तरमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गलाई बीमाको पहुँचमा पुर्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुवीमा व्यवसाय तीव्रताका साथ प्रवर्द्धन गर्न बीमा प्राधिकरण निरन्तर लागिरहेको छ ।
मानव जीवन, सम्पत्ति एवम् दायित्वको जोखिम विरुद्ध आर्थिक सुरक्षा गर्ने सबल एवम् विश्वासिलो वित्तीय उपकरणका रूपमा रहेको बीमालाई अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउँदै गरिब, विपन्न, न्यून आय भएका र जोखयुक्त वर्गसम्म पुर्याउन प्राधिकरणले आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी बनाउँदै आएको छ ।