‘शिखर इन्स्याेरेन्सकाे रफ्तार बढाउनु पर्ने बेला आएको छ’

लामो समय नेपाली बीमा उद्योगमा रहेका दीप पाण्डे आज पनि निर्जीवन बीमा व्यवसायमा एक पृथक ‘ब्राण्ड’ हुन् । उनी तीन दशकदेखि देशका प्रमुख बीमा कम्पनीमा नेतृत्वको भूमिकामा छन् ।
२०५१ सालमा तत्कालिन एभरेष्ट इन्स्योरेन्समा वित्त प्रशासन प्रबन्धकको रुपमा उनले काम थालेका थिए । त्यसयताका ३० वर्षदेखि उनी निरन्तर बीमा क्षेत्रमा आवद्ध छन् ।
सुरुको १० वर्ष एभरेष्टमा काम गरेपछि उनी शिखर इन्स्योरेन्समा पुगे । २० वर्षयता शिखरमै छन् । खेतान समूहले प्रबद्र्धन गरेको एभरेष्ट इन्स्योरेन्समा म्यानेजर तहबाट काम सुरू गरेको डेढ वर्षपछि उनी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा पुगे ।
त्यस खबत ठूलो जिम्मेवारी पाएपछि असफल भइन्छ की भन्ने डरले उनलाई असाध्यै मिहेनत गर्न बाध्य तुल्यायो । त्यही मिहेनतले उनलाई तीन दशक पछि पनि सिंगै बीमा उद्योगमा एक अलग पहिचान दिइराखेको छ ।
नेपालमा निर्जीवन बीमाका एक हस्ति उनै पाण्डेसँग अर्थपथले बीमा उद्योगको विगतदेखि भविष्यसम्मका आरह, अवरोह र संभावना तथा चुनौतीको उकेरा लगाउने कोसिस गरेको छ ।
एभरेष्ट इन्स्योरेन्स स्थापना गर्दाका सुरुवाती चुनौतीहरू के के थिएँ ?
त्यो बेला टिम राम्रो थियो । मोहनगोपाल खेतान अध्यक्ष हुनुहुन्थ्यो । सञ्चालकहरु राम्रा थिए । फाइनान्समा मलाई अधिकार थियो । अकाउन्टिङ पढेको हुनाले म राम्रोसँग काम गर्न सक्थेँ ।

इन्स्योरेन्समा पछि अलिकति गाह्रो चाहिँ भएको थियो । तर मिहेनत गरियो । तालिमका लागि विदेश पनि गइयो । पढियो पनि । मार्केटिङमा व्यक्तिगत सम्बन्ध नै ठूलो कुरा रहेछ । कति ठाउँमा बुबाको नाम बेचियो । कति ठाउँमा दाइको नाम बेचियो । जनसम्बन्ध विकास गर्दै गइयो ।
इन्स्योरेन्समा सम्बन्ध राम्रो बनाउन सकियो भने सफल बन्न सकिने रहेछ । सबैको माया पायौँ । जसले गर्दा व्यावसायिक वातारण सहज भयो ।
त्यतिबेला त सरकारी जागिरलाई खुबै महत्वका साथ हेरिन्थ्यो । तपाईं निजी क्षेत्रमा किन आउनुभयो ? बुवाको पदचाप पछ्याउन मन लागेन ?
त्यतिबेला मेरो आमा पद्मकन्या क्याम्पसमा पढाउनु हुन्थ्यो । बुवा नेपाल सरकारको सचिव भएर अवकाश लिनुभयो । त्यति गर्दा पनि हामीलाई हुर्काउन धौ–धौ हुन्थ्यो । तलब कम हुन्थ्यो । त्यसले गर्दा निजी क्षेत्र र व्यवसाय नै रोजाइमा पर्यो ।
व्यवसाय गर्दै अवसर पाइन्छ भनेर नै यतातिर सोच बनाएको हो । तर जागिर गर्दै जाँदा यहीँ अवसर देखेँ । यसैमा अघि बढियो । मेरो परिवार पनि आफूलाई इच्छा लागेको ठाउँमा काम गर्नुपर्छ भन्ने खालको हुनुहुन्थ्यो । त्यसैले आफ्नो इच्छाअनुरूप नै यो क्षेत्रमा छु ।
बीमामा काम गर्न सुरू गरेपछि तपाईंले कसरी अगाडि बढ्छु भन्ने सोच्नुभयो ?
मेरो बुवाले जहाँ काम गरे पनि हाकिम नै बनेर अथवा कमाण्ड सम्हालेर बस्नु भएको मान्छे हो । जसको प्रभाव ममा पनि थियो । म पनि हाकिम नै हुनुपर्छ भन्ने खालको इच्छा, चाहना सबैमा हुन्छ । त्यही भएर मैले जागिर खाँदा पनि माथिल्लो तहमै खानुपर्छ भन्ने सोच थियो ।
तपाईं यो पिरामिड हेर्नुहुन्छ भने तलबाट जागिर खानुभयो भने तपाईं हराउनुहुन्छ । त्यही भएर माथिल्लो लेभल नै रोज्नुपर्छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा मेरो दाइ हुनुहुथ्यो । दाइले छोडेर हिमालयन बैंकमा गएपछि इन्भेस्टमेन्ट बैंकमा मलाई सुपरभाइजर लेभलमा जागिर खान बोलाइएको थियो ।
अहिले काम सुरू गर, पछि राम्रो हुन्छ भन्ने कुरा आएको थियो । नेपाल एसबीई बैंकमा कम्पनी सचिवको अफर आएको थियो । दुवैले नियुक्ति पत्र नै दिएको थियो । तर त्यसरी जानु हुँदैन भन्ने लाग्यो ।

कम्पनी सचिव त राम्रो थियो, तर त्यो प्राविधिक लाइन भएन । त्यसैले यहाँ अवसर पाएँ । यहीँबाट मिहेनत गरेर अगाडी बढेँ । अहिले व्यवस्थापन सम्हालिरहेको छु ।
एभरेष्ट इन्स्योरेन्सको सुरुवाती चरणमा कस्ता कस्ता खालका चुनौतीहरू थिए ?
चुनौती त थिए । म गैर–बीमा क्षेत्रबाट आएको हो । अरूले सिकाउने प्रचलन नै थिएन । जे काम पनि आफैँले गर्नु पथ्र्यो । अहिले पो हामीले सबैलाई सिकायौंँ, बढायौंँ । अझ अहिले त इन्टरनेट छ ।
अभावले कसैलाई सिक्नबाट बञ्चित गर्न सकिँदैन रहेछ । त्यो वास्तविक पनि हो । पहिला–पहिला अरूलाई सिकाउन बार लगाउँथे, तर हामीले त्यो गरेनौँ । खुला रूपले अगाडि बढ्यौँ । आफू पनि अगाडि बढ्न सक्यौँ । अरूलाई पनि अगाडि बढाइयो ।
पहिलो तलब कति थियो ?
सिए पढेको मान्छे । त्यतिबेला मैले मासिक ८ हजार रुपैयाँमा काम सुरू गरेको थिएँ । त्यो भनेको धेरै नै थियो ।
बाल्यकालमा कत्तिको खर्चालु हुनुहुन्थ्यो ?
त्यति धेरै खर्चालु थिइन । मेरो फजुल खर्च केही पनि थिएन । तर साथीभाई भेट्दा कहिलेकाहीँ खर्च हुन्थ्यो । म रक्सी, चुरोट केही खाँदिन ।
म त्यस्तो खर्चालु कहिले पनि थिइन् । म एकदम सामान्य जीवनयापन गर्ने मान्छे हूँ । तर एउटा हैसियतमा पुगेपछि त्यही अनुसारको तौरतरिका अपनाउनु पर्ने बाध्यता हुन्छ ।
एभरेष्ट छोडेर शिखर चाहीँ किन आउनुभयो ?
काम सुरू गरेको १० वर्ष भइसकेको थियो । केही नयाँ गरौँ भन्ने लाग्यो । त्यो बेला इन्स्योरेन्स कम्पनीहरूमा ४–५ वटा व्यावसायिक घरानाहरुको नियन्त्रण थियो ।
मलाई के लाग्थ्यो भने पब्लिक कम्पनीलाई साहुजीहरूले दख्खल दिनु हुँदैन है भन्ने लाग्थ्यो । व्यवस्थापनलाई निर्वाध काम दिनु पर्छ र सर्वसाधारणको सहभागिता हुनुपर्छ भन्ने सोच राखेर नै अगाडि बढेको हो ।
शिखरलाई त्यसरी नै विकास गरेको हो । संस्थापकले पनि सहयोग गर्नुभयो । हामीले पनि जिम्मेवार भएर काम गर्यौँ ।
खासमा शिखर इन्स्योरेन्स खोल्ने योजना कसले बनायो ? कसरी यो संस्था जन्मियो ?
यसको कथा धेरै लामो छ । यसका मुख्य लगानीकर्तामा एयरलाइन्स ग्रुपका आङछिरिङ शेर्पा र वीरेन्दबहादुर बस्नेत जी मुख्य हुनुहुन्छ ।

पहिला–पहिला उहाँहरूसँग मार्केटिङ गर्न जाँदा ‘हामीले यति धेरै प्रिमियम तिर्छौँ । हाम्रो पनि आफ्नै कम्पनी भएदेखि त्यसलाई प्रयोग गर्न सकिन्थ्यो कि’ भन्नुहुन्थ्यो ।
म टाढिन्थे । त्यो बेला भवन बन्दै थियो । त्यो सकाएरमात्र जान्छु भन्थे । त्यो बिल्डिङ सकिएको दुई महिनाभित्रै उहाँहरू आउनु भयो । मैले पनि आफ्नो कुरा राखँे । उहाँहरूले पनि मान्नुभयो ।
आजसम्म मलाई उहाँहरूले स्वतन्त्र रूपमा काम गर्न दिनुभएको छ । कन्सेप्ट पनि उहाँहरूकै थियो । त्यसपछि हामीले व्यवसायका लागि विभिन्न कुराहरू पनि हेर्यौँ ।
त्यसरी शिखर इन्स्योरेन्स अगाडि बढेको हो । त्यतिबेला हामी २ जना महाप्रबन्धक थियौँ । बीमा संस्थानबाट खेम बराल र म थिएँ । त्यसपछि व्यवस्थापन तहमा राम्रो टीम बन्यो ।
शिखर इन्स्योरेन्स खुलेको कति समयपछि सीईओ बन्नुभयो ?
करीब ६–७ वर्षपछि होला, मैले सीईओको जिम्मेवारी पाएको । बरिष्ठ महाप्रबन्धक भएँ । त्यसपछि सीईओ बनाउने भनेर निर्देशिका आयो । अनि सीईओ बनेँ ।
हामीले टीममा काम गर्ने हो । म अगुवा भएँ । तर खम्बाको रूपमा काम गर्ने त टीमले नै हो । २ वर्ष अगाडि बीमा प्राधिकरणले स्थलगत सुपरिवेक्षण गर्यो । त्यो सुपरिवेक्षण पछि हामी झन् बलियो बन्यौँ । सबै चिजमा बलियो हुँदै छौँ । म भनेर होइन हामी भनेर काम गर्नुपर्छ ।
शिखरलाई ‘नम्बर वान’ बनाउन स्थापना कालदेखि नै के–के काम गर्नुभयो ?
कति कुरामा परिवारको नामसमेत बेचेँ होला । कति कुरामा मैले मिहेनत गरेँ होला । जुन कुरा अघि पनि मैले भनेँ । कम्पनीले दाबी भुक्तानी तिरेको छ ।
भुइँचालो जानुअघि हामी नम्बर ४ मा थियौँ । भुइँचालो आयो । हामीले रिइन्स्योरेन्स टर्म्स म्यानेज गरेका थियौँ । १४ दिनपछि दाबी तिर्न थाल्यौँ । ३ महिनासम्म ७०–८० प्रतिशत तिरिसकेका थियौँ । बीमामा जति छिटो तिर्न सक्यो, त्यसले उति नै बजारमा सकारात्मक सन्देश जान्छ र बजार पनि बढ्दै जान्छ ।
३० वर्षदेखि यही क्षेत्रमा हुनुहुन्छ । त्यो बेलाको र अहिलेको अवस्थामा बीमा क्षेत्रका चुनौतीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो उद्योग ‘डायनामिक’ र ‘फास्ट ग्रोइङ’ छ । अहिले पनि म सिकारू नै छु । अब अहिले जोखिममा आधारित पूँजी, मूल्यांकन, एनएफआरएस १७ भन्ने जस्ता नयाँ कुराहरु आइरहेको छ ।
आफूलाई समयसँगै अगाडि बढाउन सकेन भने मान्छे बिचलित हुन्छ । पहिलाको बजारको आकारस (भोल्यूम) र अहिलेको बजार आकारमा आकाश–जमीनको फरक छ ।
पहिला १ लाख प्रिमियम ल्याउँदा पनि पुग्ने ठाउँमा अहिले १ करोड ल्याउँदा पनि सुख छैन । प्रडक्टहरू नयाँ नयाँ नल्याई बजार विस्तार हुँदैन । कृषि बीमा हुन्छ भनेर कसले सोचेको थियो ? १०० करोड प्रिमियम हुन्छ भनेर कसले सोचेको थियो ?
अहिले पाँच सय करोड (५ अर्ब) प्रिमियम पुर्याउँदा पनि पुगेन भनेर बोर्डले भनिरहेको हुन्छ । आजका दिनमा बजारमा अथाह अवसर छ ।
पहिलाको मान्छेले साधनस्रोतमा खर्च नै गर्दैन थिए । अहिले युवाहरुको टिम छन् । मिहेनत गरेका छन् । बजार विकास गरेका छन् । पहिला र अहिलेको हेर्ने हो भने धेरै ठूलो अन्तर देखिन्छ ।
अहिले बीमा क्षेत्रको व्यवसायमा उतारचढाव आइरहेको छ । चुनौती बढेको हो ?
हाम्रो बानी नै अरुले पकाएर पस्किदिएको कुरा खाने जस्तै छ । अहिलेसम्मको जति प्रडक्ट छ नि, सबै नियामक निकायले बनाएको प्रडक्टमात्र हामीले बेचिरहेका छौँ । शिखर इन्स्योरेन्सले त १२–१४ वटा नयाँ प्रडक्ट ल्याएको छ ।
हाम्रा कतिपय प्रडक्ट अरू कम्पनीले बिगारिदिए । कतिपय प्रडक्टमा अस्वस्थ प्रतिस्पर्धा छ । मैले धेरै प्रडक्ट ल्याएको छु । अहिले ‘अटोकेयर’ भनेर ल्याएका छौँ । यो एकमात्र हाम्रो प्रडक्ट हो ।
कृषिमा नयाँ प्रडक्ट हामीले नै ल्यायौँ । ‘क्यासलेस’ हामीले नै ल्यायौँ । ‘डोमिनेट फिगर’को रूपमा शिखरलाई राख्न पाउनु, शिखरले के गर्यो भनेर एउटा वातावरण बनाउन पाउनु भनेको ठूलो कुरा होजस्तो लाग्छ ।

बजारलाई अगाडि लान धेरै अवसर छ । तर इच्छाशक्ति हुनुपर्यो । कृषिमा सुरुवात नै हामीले गरेका हौँ । आज सबै कम्पनी कृषि बीमा गरेर व्यवसाय बढाउनुपर्छ भनेर लागिरहेका छन् । ३ करोडको प्रिमियम अहिले ३०० करोड हाराहारीमा पुगेको छ ।
शिखरले व्यवसाय सुरू गरेपछि धेरैले अस्वस्थ प्रतिस्पर्धा गरेका छन् । पुल बनाइएको छ । सबैले लेखापरीक्षण गराउने भनेको त्यो पनि भएको छैन ।
मोटरमा तेस्रो पक्ष बीमा पनि शिखरले नै अगाडि बढाएको हो । पुल पनि आफैँ लागि परेर गराउनुभयो । अहिले त्यही पुलले आफैँलाई अप्ठ्यारो बनाएको हो ?
जे चिज पनि स्थायी हुँदैन । घटाउने, बढाउने, हटाउने, थप्ने त्यो सबै इन्डोर्समेन्टबाट हुन्छ । पुलमा पनि एउटा इन्डोर्समेन्ट आउनुपर्यो । के–के कुरा परिमार्जन गर्ने त ?
आजभन्दा पाँच वर्ष अगाडिको पुल र आज के–के परिवर्तन आयो ? त्यसमा के–के विसङ्गतिहरू आए ? ती चिजहरू हुनुपर्यो । पारदर्शी हुनुपर्यो । नियममा आधारित खेल हुनुपर्यो । अनिमात्र समाधान भेटिन्छ । हैन भने सबै कम्पनीले स्वतन्त्र ढङ्गले ब्यापार गर्छन् ।
सबै सक्षम छन् । अहिले त नियामकले पनि प्रशस्त पूँजी बढाउन दबाब दिएको छ । अहिले पनि हामीले निश्चित शर्तमा सम्झौता गरेका छौँ । अब एक महिना कुर्छौँ ।
त्यस पछाडि पनि समस्या सल्टिएन भने यो पुल भत्किए पनि मलाई मतलब भएन । हामी अगाडि बढ्न सक्छौँ । सबैलाई ल्याउन पर्यो । खाली एउटा ‘झारो टार्ने’ काम पनि गर्नु भएन ।
सरकारले पनि सहुलियत दिइराखेको छैन । कृषि बीमाको अवस्था के छ ?
कृषि बीमा जुन उद्देश्यले ल्याइएको हो, त्यो देखिएन । कृषिलाई व्यावसायिकरण गर्ने, साना किसानको आर्थिक हैसियत माथि उठाउने र व्यावसायिकरणतिर धकेल्ने भने उद्देश्य थियो ।
अब सरकारी तबरबाट पनि सोच्नुपर्यो– त्यो कत्तिको प्रभावकारी भएको छ ? म भन्छु, यो सफल भएको छ । कृषि बीमाबाट कसकसको व्यवसाय दिगो भइसक्यो ? त्यो पनि खोज्नु पर्यो ।
सधैँ राहत मात्र होइन, अब त बीमा गर्नुपर्छ भनेर केही पैसा छुट्याउनु पर्यो । त्यो क्षेत्रमा अब बिस्तारै अनुदान घटाउनु पर्यो । कुन–कुन क्षेत्र बढ्न सकेको छैन, त्यता पहुँच बढाउनु पर्यो ।
सरकारले सधँै राहत दिने पनि होइन, त्यो घटाउँदै जानुपर्यो । यसलाई ‘भोट बैंक’ बनाउनु भएन । त्यो अनुसार अगाडि बढ्यो भने सफल हुन्छ ।
कृषि बीमाबाट धेरै कम्पनीलाई घाटा छ भनिरहेका छन् । शिखरले कसरी व्यवस्थापन गरिरहेको छ ?
राष्ट्रको आर्थिक उत्थानका लागि ज्यादै कम नाफा मार्जिनमा काम गर्नुपर्ने छ भने त्यो गर्नुपर्छ । किनभने किसानले आज जुन बीमा गरिराखेका छन्, त्यसले उनीहरूको आर्थिक स्तर माथि लैजान्छ ।
जब किसानको आर्थिक अवस्था राम्रो हुन्छ, उसले बीमा गर्न थाल्छ । बीमाको अरू दायरा खोज्न थाल्छ । जसले बीमाको बजार बढाउँछ । आजको दिनमा कृषि बीमा गर्ने भनेको पोखरी खन्ने काम हो । जुन भोलि भरिन्छ । यो आवश्यक छ ।
शिखरको आगामी रणनीति के छ ?
कम्पनीहरु गाभिने श्रृङ्खला नभएको भए हामी सायद ५०० करोडमा आफ्नो निर्माण गथ्र्यौँ । नाफा र व्यवासायलाई माथि लाने थियौँ । मर्ज भयो, सबै कम्पनीहरू नजिक नजिक आए ।
अब हामीले रफ्तार बढाउनु पर्नेछ । हामी आफ्नै सुरले अगाडि बढ्छौँ । आफ्नो बाटो आफैँ बनाएर हिड्नु छ । नीति नियम र परिवेशमा बसेर अगाडि बढ्ने नै लक्ष्य हो । जाँदै गर्दा कहाँ पुगिन्छ, हेर्दै जाऊँ न ।