जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन ८८ प्रतिशतसम्म बढ्यो, सानिमा र प्रभु महालक्ष्मी अगाडी « Arthapath.com
१८ असार २०८२, बुधबार

जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन ८८ प्रतिशतसम्म बढ्यो, सानिमा र प्रभु महालक्ष्मी अगाडी



काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसन ८८ प्रतिशतसम्म बढाएका छन् । ९ महिनामा आफ्ना अभिकर्ताहरुका लागि कम्पनीहरुले झन्डै ९ अर्ब रुपैयाँ खर्चिएका छन् । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चैत मसान्तसम्ममा कम्पनीहरुले अभिकर्ताका लागि ८ अर्ब ९४ करोड २ लाख ६७ हजार रुपैयाँ छुट्याएका छन् । तर, गत आवको सोही अवधिको तुलनामा भने १.५३ प्रतिशत मात्र बढी हो । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीहरुले ८ अर्ब ८० करोड ४८ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्च गरेका थिए ।

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेबापत कमिसन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको सङ्ख्याको आधारमा निर्धारण हुने गर्दछ ।

समिक्षा अवधिमा आठ वटा कम्पनीहरुको अभिकर्ता कमिसन घटेको छ, ती बाहेकका कम्पनीहरुको भने बढेको छ । अभिकर्ता खुसी पार्नका लागि सानिमा रिलायन्स लाइफ अगाडी देखिएको छ । कम्पनीले अभिकर्ता कमिसन खर्च ८८.६२ प्रतिशत बढाएर ४३ करोड ३१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले अभिकर्ताका कमिसनका लागि २१ करोड ९६ लाख रुपैयाँ खर्चिएको थियो ।

यता, प्रभु महालक्ष्मी लाइफले पनि अभिकर्ता कमिसन खर्च ५८.८३ प्रतिशत बढाएर ३३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा पनि २१ करोड ९ लाख रुपैयाँ खर्चिएको थियो । यता, सूर्यज्योति लाइफको अभिकर्ता कमिसन पनि २२.९० प्रतिशत बढेर ५७ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

अभिकर्ता कमिसनका लागि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले धेरै खर्च गरेका छन् । नेपाल लाइफले ९ महिनामा अभिकर्ता कमिसनका लागि २ अर्ब १९ करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । तर, यो गत आवको तुलनामा तुलनामा भने १.८७ प्रतिशत कमी हो ।

दोस्रो सूचीमा रहेको नेशनल लाइफले अभिकर्ता कमिसन खर्च ६.६८ प्रतिशत बढाएको छ । चालु आवको ९ महिनामा कम्पनीले १ अर्ब १६ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै, मेट लाइफको पनि २.३५ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १.०१ प्रतिशत बढेर क्रमशः ३६ करोड ७ लाख र १३ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

यी बाहेकका सिटिजन लाइफको अभिकर्ता कमिसन १२.५८ प्रतिशत, एलआइसी नेपालको ११.०८ प्रतिशत र रिलायवल नेपाल लाइफको १०.२७ प्रतिशत घटेको छ । चालु आवको ९ महिनामा यी कम्पनीहरुले अभिकर्ता कमिसनका लागि ४३ करोड ३५ लाख, ९३ करोड ५९ लाख र ३२ करोड ७८ लाख रुपैयाँ खर्चिएका छन् ।

यता, हिमालयन लाइफले पनि अभिकर्ताका लागि ९९ करोड ८१ लाख, आइएमई लाइफले ३१ करोड १७ लाख, सन नेपालले २२ करोड ९७ लाख रुपैयाँ खर्चिएको छ ।


प्रतिक्रिया दिनुहोस्