‘ट्रष्ट माइक्रोलाई नम्बर–वान कम्पनी बनाउने रफ्तारमा काम भइरहेको छ’ « Arthapath.com
१४ जेष्ठ २०८१, सोमबार

‘ट्रष्ट माइक्रोलाई नम्बर–वान कम्पनी बनाउने रफ्तारमा काम भइरहेको छ’



वि. सं. २०४३ सालमा साबिकको नेशनल लाइफ एण्ड जनरल (एनएलजी) इन्स्योरेन्सबाट ‘डेभलपमेन्ट अफिसर’ हुँदै बीमा क्षेत्रको ‘करियर’ सुरू गरेका उज्ज्वल ढुंगाना अहिले ‘ट्रष्ट माइक्रो इन्स्योरेन्स’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

ढुंगानाले विभिन्न जिम्मेवारीमा रहेर बीमा क्षेत्रको अनुभव संगालेका छन् । एनएलजीमा २६ वर्ष उनी प्रुडेन्सियल इन्स्योरेन्समा वरिष्ठ प्रबन्धक पदमा प्रवेश गरेरका थिए । त्यहाँ १० वर्षसम्म काम गरेका उनी आजभन्दा ६ महिना पहिले लघुबीमामा आउनुअघि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको डेपुटी सिईओ थिए ।

त्यसै बेला ग्रामीण अर्थतन्त्र र मूलतः कृषि उद्यमलाई बीमाको पहूँचमा ल्याउने सरकारी अभिलाषा पुरा गर्न स्थापित लघु बीमा व्यवसायलाई अघि बढाउन उनी अहिले प्रयासरत छन् । उनै ढुंगानासँग अर्थपथका लागि सरस्वती अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

मुलधारको बीमा व्यवसायमा आवद्ध मान्छेलाई विशिष्टिकृत लाइसेन्स पाएर भर्खरै खुलेको लघुबीमाले कसरी आकर्षित गर्यो ?

योभन्दा पहिले नेपाल माइक्रो इस्योरेन्सले बोलाउँदा ‘आउँदिन’ भनेको हो । पछि प्रुडेन्सियल र आईजीआई मर्ज भइसकेपछि ‘के नमिलेको’ जस्तो भयो । कता कता खड्किरहेको थियो । त्यसै बेला ट्रष्ट माइक्रो इन्स्योरेन्सबाट प्रस्ताव आयो । त्यसपछि यता आएँ ।

त्यता (प्रुडेन्सियलमा) ठूलो विजनेस गरिरहेकै हो । एकैपटक ३–४ करोडको विजनेस गथ्र्यौँ । यहाँ औसत एउटा पोलिसी (बीमालेख)को प्रिमियम २५०० देखि ३००० रुपैयाँसम्म आइरहेको छ । तर मेरो राम्रो जनसम्पर्क छ । त्यसैले मैले जहाँ गए पनि सफलता पूर्वक नै काम गरिरहेको छु ।

कतिपय ठाउँमा त स्थलगत भ्रमण नै नगरी शाखा खोलेको छु । अन्य इन्स्योरेन्सका साथीहरूले पनि सहयोग गरिरहनु भएको छ । उहाँहरूकै सहयोगका कारणले आज हामीले सफलता पूर्वक काम गर्न सकेका छौं ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले अन्तिममा मात्र लाइसेन्स पायो । भर्खरै कार्यभार सम्हाल्नु भएको छ । नयाँ संस्था स्थापित गर्न कस्ता चुनौती सामना गर्नुपर्ने रहेछ ?

त्यस्तो चुनौती महसुस भएन । न स्टाफिङ (कर्मचारी भर्ति)को लागि मैले चुनौती खेप्नुपर्यो, न विजनेसको लागि नै चुनौती सामना गर्नुपर्यो । कर्मचारीको हकमा मैले आफ्नै कम्पनीमा कार्यरत विभागीग प्रमुखहरुलाई ल्याउने भनेर पहिले नै कुरा गरिरहेको थिएँ । उहाँहरू पनि सहजता पूर्वक आइदिनु भयो ।

व्यवसाय स्थापित गर्नमा पनि एनएलजीमा हुँदाको नेटवर्क र आईजीआई इन्स्योरेन्सका साथीभाइको नेटवर्कले काम गरेको छ । साथीभाइलाई नै भरपर्दा कर्मचारी खोज्न लगाएँ । उनीहरुले परिणाममुखि काम गरिरहेका छन् । अहिले हामीसँग देशभर गरेर ५० जना जति कर्मचारी जोडिनु भएको छ । २ महिनामै डेढ करोडको विजनेस गरिसकिएको छ ।

कम्पनीले आफ्नो व्यवसाय कसरी अघि बढाईरहेको छ ?

गएको चैत ९ गतेबाट हामीलाई विधिवत रूपमा कारोबार सञ्चालन गर्न बीमा प्राधिकरणले स्वीकृति दिएको हो । यो २ महिनाको अवधिमै हामीले डेढ करोडको व्यवसाय गरिसकेका छौँ, जुन आफैँमा पनि ‘रेकर्ड’ हुनुपर्छ ।

अरू कम्पनीहरूको हिसाब हेर्दा एक वर्षमा ७–८ करोडमात्रै व्यवसाय गरेको अवस्था छ । त्यो अवस्थामा हामीले आजसम्म डेढ करोडको व्यवसाय गर्नु भनेको राम्रो सुरुआत हो । यो आर्थिक वर्षको अन्त्यसम्म हामीले ३ करोड रुपैयाँको विजनेस गर्ने लक्ष्य राखेका छौँ ।

तेस्रो त्रैमासमा सार्वजनिक २ महिनाको विवरणमा पनि हामीले एक करोड १४ लाख रुपैयाँ नाफा कमाएका छौँ । जुन अरू माइक्रोको तुलनामा सबैभन्दा धेरै हो । यो अवधिमा दाबी भुक्तानी जम्मा एउटा मात्र परेको छ । त्यसको आकार एक लाख ४० हजार रुपैयाँको छ ।

ट्रष्ट माइक्रोले कस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

अहिले त हामीले जहाँबाट तुरुन्त प्रिमियम सङ्कलन हुन्छ, त्यही क्षेत्रमा लागेका छौँ । तेस्रोपक्ष बीमामा ध्यान दिएका छौँ । बैंकिङ क्षेत्रमा हामी असाध्यै बाक्लो रूपमा प्रस्तुत भएका छौँ । त्यहाँबाट पनि राम्रो ‘रेस्पोन्स’ आइरहेको छ । बैंकको पोलिसी पनि नियमित रूपमा गरिरहेका छौँ ।

यो आर्थिक वर्षबाट हामीले के विचार गरेका छौँ भने, एउटा भ्यान किनेर बुटवलको २९ वटा गाउँपालिकाहरूमा प्रवेश गर्ने छौँ । गाउँपालिकामा उपभोक्ता समितिबाट दिइने ठेक्काहरूको बीमा गर्न सकिन्छ । पालिकाले नै अनुदान दिएर घर–घरको बीमा गराउन सकिन्छ ।

त्यो वातावरण बनाउनको लागि हामीले स्थानीय राजनीतिक तहमा समन्वय गरिरहेका छौँ । नयाँ आर्थिक वर्ष सुरु भएपछि स्थानीय तहहरूमा ‘फोकस’ हुन्छौँ ।

अहिले त प्रविधिको भरपूर विस्तार भइसकेको छ । यस्तो बेला तपाइँहरू डिजिट सञ्जाल बढाउनेतिर पनि सोच्नु भएको छ की शाखा विस्तारमै जोड दिनुहुन्छ ?

म प्रविधिको भरपूर उपयोग गर्ने छु । धेरै स्थानीय तहहरूमा शाखा विस्तार गर्न लागतको कुरा आउँछ । अब त्यहाँ डिजिट रुपमै जाने सोचमा छौँ । हामी निरन्तर खल्ति, आईएमई–पे लगायत भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्ने संस्थाहरूसँग पनि संवादमै छौँ ।

यसलाई पनि सहज रूपमा विस्तारित गर्छौँ । बीमा प्राधिकरण पनि त्यसैमा केन्द्रित छ । समय अनुसार चल्नुपर्ने अहिलेको बाध्यता पनि हो ।

गरिब र निम्न आय भएका वर्गहरू वित्तीय पहूँचबाट मात्र नभई वित्तीय साक्षरताबाट पनि बञ्चित छन् । यस्तो अवस्थामा ती नागरिकलाई बीमातर्फ आकर्षित गर्न कत्तिको चुनौती छ ?

यसमा चुनौतीहरू प्रशस्त मात्रामा छ । पहिलो कुरा त उहाँहरूलाई बीमाबारे सिकाउनु पर्यो । त्यस हिसाबले पनि भ्यान किनेर गाउँ–गाउँ पुग्ने र त्यहीँबाट पोलिसी बेच्ने योजना बनाइएको हो । जहाँ–जहाँ हाट बजार लागेको छ, त्यहीँ माइकिङ गर्ने गरेर मानिसहरुलाई बीमा साक्षरता र व्यवसाय विस्तार सँगसागै गर्ने हाम्रो योजना छ ।

बीमा प्राधिकरणका जुन कार्यक्रमहरू छन् ती कार्यक्रमहरूलाई स्थानीय तहमा ‘स्पोन्सरसीप’ गरेर बीमा प्राधिकरण क्षेत्र नम्बर ५ को प्रत्यक्ष संलग्नतामा हामी त्यहाँ प्रवेश गर्ने नीति लिएका छौँ ।

तपाई लामो समयदेखि बीमा व्यवसायमा हुनुहुन्छ । ठूला कम्पनीहरूले नै लघुबीमाको काम गर्न सक्थे होलान् नि, छुट्टै कम्पनीको आवश्यकता किन पर्यो ?

आर्थिक वर्ष २०७०/७१ को नीति तथा कार्यक्रममार्फत् सरकारले ठूला बीमा कम्पनीहरूलाई सीमान्तकृत वर्गमा पहूँच पुर्याउनका लागि बारम्बार भनेको हो । तर आज पनि बीमाको पहूँच ४७ प्रतिशत बजारमा पनि पुगेन । बाँकी ठाउँमा ठूला कम्पनी जानै चाहेनन् ।

उनीहरूको लागि सानो विजनेस भनेको घाटा नै हुन्छ । त्यो हिसाबले गर्दा उनीहरूले पहुँच नपुर्याएका हुन् । त्यसपछि बीमा प्राधिकरणले कुल बीमा व्यवसायको ५ प्रतिशत हिस्सा लघु बीमामा हुनुपर्ने प्रावधान नै ल्यायो । र पनि नजिता आएन ।

त्यसअनुरूप नै विपन्न एवम् सीमान्तकृत वर्गमा ‘कसरी पहूँच पुर्याउने’ भन्ने सन्दर्भमा लघु बीमा कम्पनीहरुको आवश्यकता महसुस गरिएको हो ।

तेस्रो पक्ष मोटरबीमा लगायत कतिपय क्षेत्रमा तपाइँहरु ठूला कम्पनीसँग प्रतिस्पर्धामा उत्रिनु भएको छ । यस्तो अवस्थामा लघु बीमालाई व्यवसाय गर्न कत्तिको सहज छ ?

अब हामीले पनि यही चुनौतीका बीच प्रतिस्पर्धा गरेर बीमा गर्ने हो । ठूला कम्पनीहरु मर्ज हुनुभन्दा पहिले पनि चुनौती नै थियो । मर्ज भइसके पछि पनि १४ कम्पनीहरू आपसमा भिडेरै गइरहेको अवस्था छ । चुनौती त यसै पनि छँदै छ, अब त्यो चुनौतीलाई चिरेर हामीले सहजीकरण गर्दै अगाडि बढ्ने हो ।

अस्वस्थ प्रतिपर्धाको सम्भावना पनि उत्तिकै छ नि, होइन ?

सम्पत्तिको हकमा ठूला कम्पनीले गर्ने प्रिमियम १५ लाख रुपैयाँसम्मको गर्दा साढे १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । हामीसँग गर्दा साढे ७ हजार अर्थात् आधा प्रिमियममा बीमा गर्न सकिन्छ । त्यसैले गर्दा पनि हामीलाई प्रोपर्टी इन्स्योरेन्स र बैंकिङ्ग इन्स्योरेन्स जोखिम बाहेकको विजनेसमा त्यत्ति प्रतिस्पर्धा गर्नुपरेको छैन ।

तेस्रो पक्षको हकमा अहिले ‘पुल’ भत्किने भन्ने खालको कुराहरू आइरहेको छ । अथवा माइक्रोलाई पनि पुलमा लैजाने भन्ने कुरा भइरहेको छ । त्यो ऐनमा पनि छ । अब नियमावलीमा के व्यवस्था हुन्छ ? त्यो ऐन आइसकेपछि हामी उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति बन्न सक्छ ।

तर त्यो पुल भत्कियो वा हामीलाई पुलमा राखिएन भने उहाँहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो होला । किनभने हाम्रो संसाधन नै थोरै छ । हामीले दिनुपर्ने पैसा दिन सक्दैनौँ । जुन उनीहरूले सजिलै दिन्छन् । हेरौँ, अब नियमावली आएपछि के हुन्छ ।

न्यून आय भएका नागरिकलाई लघु बीमाले आयस्तर सुधार्न कसरी सहयोग पुर्याउन सक्छ ?

प्रिमियमको हकको कुरा गर्दा ठूला कम्पनीको तुलनामा आधा छ । पाइलट स्टडीको रूपमा गाउँपालिका, नगरपालिकाहरूले गाउँमा एक क्षेत्रलाई बीमा गरिदिएकै छन् । त्यो उसैले प्राथमिक क्षेत्रको रूपमा पैसा व्यहोरेको छ ।

त्यसरी एउटा–एउटा क्षेत्रमा जाँदा बीमा गर्नुपर्ने भन्ने हुन सक्छ । जस्तो, बारपाकमा भुइँचालो जाँदा पनि सरकारले क्षतिपूर्तिको रूपमा ५० हजार मात्र दिएको थियो । त्यति पैसाले त घर बन्दैन । अस्ति पनि डडेलधुरामा आगो लाग्यो । त्यहाँ धेरै क्षति भयो ।

राज्यले दिने राहत भनेको त सामान्य रकम नै हुनसक्छ । अब त्यसको लागि बीमा गर्नुपर्छ भन्ने जागरण ल्याउन सकेको अवस्थामा न्यूनतम रकममा इस्योरेन्स गर्ने बानि बसाल्न सक्यौँ भने त्यसमा अवसर हुन्छ भन्ने हाम्रो बुझाई हो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आगामी दिनमा के–कस्ता काम गर्ने योजना बुनेको छ ?

हामीले कम्पनीलाई ‘नम्बर वान’ बनाउन दुई महिनामा २३ वटा शाखा विस्तार गरिसकेका छौँ । त्यसमा ११ वटा ‘थर्ड पार्टी काउन्टर’ र बाँकी शाखा छन् । अरू शाखा खोल्नका लागि बीमा प्राधिकरणमा लेखी पठाएका छौँ । प्राधिकरणबाट स्वीकृत भएर आइसकेपछि हामीले थप शाखा विस्तार गर्ने छौँ ।

३ वटा नयाँ पोलिसी तयार गरेर स्वीकृतिका लागि प्राधिकरणमा पठाएका छौँ । ती पोलिसी आएपछि अरू माइक्रोले नगरेका पोलिसी पनि हामी ‘जेनेरेट’ गर्छौँ । अर्को पनि हामीले ‘कम्बो’ पोलिसीहरु बनाउने तयारी गरिरहेका छौँ । यसले घर, खेतिपाती र पशुपालनलाई समेट्ने छ ।

अर्को ‘पेड पोलिसी’ भनेर ल्याउँदै छौँ । अचेल शहरी क्षेत्रमा विशेष गरी महङ्गा कुकुर पालिन्छ । कुकुरको पनि बीमा गर्ने हो कि भनेर सोच बनाइरहेका छौँ । हाम्रो रणनीति भनेको नयाँ पोलिसी ल्याएर त्यही अनुसार नै बजारमा जाने भन्ने छ ।

स्कुल पढ्ने बच्चाहरू पनि लड्ने, दुर्घटना हुने घटना देखिन्छन् । जसको लागि एक लाख सम्मको बीमा गर्ने पोलिसी बनाइरहेका छौँ । सम्भवतः हामी त्यो पोलिसी पनि ल्याउँछौँ ।

लघुबीमा त अरू पनि छन् । ग्राहकले ट्रष्ट माइक्रोलाई नै किन रोज्ने ?

एउटा त नाम नै ट्रष्ट भयो, त्यसै विश्वास गर्नुपर्ने स्थिति छ । साथै, यो कम्पनीमा हामी सबै ‘आइडेन्टिटी’ भएका मान्छेमात्र छौँ । विभागीय प्रमुखहरू पनि ८–१० वर्षको अनुभव हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ । मेरो आफ्नै कुरा गर्नुपर्दा ३६–३७ वर्ष यही क्षेत्रमा आवद्ध छु । हामीलाई अन्य ठूला कम्पनीको पनि उत्तिकै सहयोग छ । हामीलाई विश्वास गर्नुपर्ने अवस्था प्रशस्त मात्रामा छन् ।

अन्त्यमा, लघुबीमामा किन जोडिनुपर्छ ? आम नागरिकलाई यसबाट के फाइदा पुग्छ ?

संभावित आर्थिक क्षतिको न्यूनीकरण गर्नका लागि नै बीमा गर्ने हो । भवितव्य परेर आउने क्षतिलाई बीमाले ‘रिकभर’ गर्छ । क्षति हुनुभन्दा पहिलेकै अवस्थामा फर्काइदिने काम बीमाले गर्छ । हामीले ग्रामीण क्षेत्रमा बीमाको यही महत्व बुझाउनु पर्ने अवस्था छ ।


प्रतिक्रिया दिनुहोस्