बैंकको मुद्दती निक्षेपमै सीमित बीमा कम्पनीहरुको लगानी, घरजग्गामा लगानी गर्न किन आएन आँट ?

काठमाडौं । बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा कुल साढे ७ खर्ब बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको लगानी सम्वन्धिको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।
हाल नेपालमा १४ जीवन, १४ निर्जीबन, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी छन् । त्यसमा लघु निर्जीवन बीमा बाहेकका कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा ७ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमा सबैभन्दा ठुलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा छ ।
बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी पाउँछन् । तर, कुल लगानीको ७७ प्रतिशत बढी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गरेको तथ्यांकमा उल्लेख छ ।
कुल लगानीको ७७.२२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा देखिएको छ । समिक्षा अवधिमा कम्पनीहरुले ५ खर्ब ८८ अर्ब ७५ करोड १८ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखेका छन् । कम्पनीहरुको लगानी मुद्दति निक्षेपमै निर्भर परेको देखिन्छ । यद्यपि, प्राधिकरणले ल्याएको लगानी विविधिकरण नीतिले पछिल्लो समय अन्य क्षेत्रमा पनि कम्पनीहरु लगानी विस्तार गरिरेहका छन् ।
कुल लगानीको ६.८६ प्रतिशत भने बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा देखिएको छ । यस क्षेत्रमा कम्पनीहरुले कुल ५२ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै सेयर बजारमा पनि लगानी बढाईरहेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले कुल २० अर्ब १६ करोड ४६ लाख बढी सेयर बजारमा लगानी गरेका छन् ।
यस्तै, सूचीकृत पब्लिक कम्पनीको बन्ड,डिबेन्चरमा पनि २७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ, अन्य लगानी शीर्षकमा ३९ अर्ब ८० करोड २६ लाख, अन्य संस्थापक शीर्षकमा १६ अर्ब ६ करोड ६ लाख, सरकारको बचतपत्र वा ऋणपत्रमा ४ अर्ब ३ करोड ५६ लाख, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब १४ करोड २५ लाख र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ५३ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । यता, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन उद्योग,जलविद्युत, सौर्य उर्जा लगायतका पूर्वाधार क्षेत्रमा पनि कम्पनीहरुको ९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् । तर, घरजग्गामा लगानी भने शून्य देखिएको संचालनमा रहेका कुनै पनि कम्पनीहरुले घरजग्गामा लगानी भने नगरेको पाइएको छ ।
घरजग्गामा लगानी गर्न बीमा कम्पनीलाई किन कन्फिडेन्स आएन ?
विभिन्न क्षेत्रमा लगानी बढाईरहेका कम्पनीहरुको घरजग्गामा लगानी भने शून्य देखिएको छ । आफ्नो लगानीको क्षेत्र विस्तार गरिरहेका कम्पनीहरु घरजग्गा कारोबारमा भने लगानी गर्न डराएका छन् ।
समिक्षा अवधिमा कुनै पनि कम्पनीहरुले घरजग्गा कारोबारमा लगानी गरेका छैनन् । यस क्षेत्रमा कम्पनीहरुले बढी १० प्रतिशतसम्म लगानी गर्न पाउने नियमाकीय प्रावधान छ । तर, आर्थिक शिथिलताका कारण यस क्षेत्रमा लगानी विस्तार गर्न भने बीमा कम्पनीहरु असमर्थ देखिएका हुन् । पछिल्लो समय देशभर घरजग्गा कारोबार नै सुस्ताएको छ । अपेक्षित रुपमा कारोबार बढ्न नसक्दा कम्पनीहरु पनि यस क्षेत्रमा लगानी गर्न नचाहेको हुन सक्ने प्राधिकरणका निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।
‘आर्थिक मन्दीकै कारण अहिले घरजग्गा कारोबार उत्साह पूर्ण रुपमा बढ्न सकेको छैन । सुस्ताउँदै कारोबारले बीमा कम्पनीहरुले पनि यस क्षेत्रमा लगानी गर्न नचाहेको जस्तो देखिन्छ’,उनले भने । वर्तमान अवस्थामा लगानीका लागि कम्पनीहरुले जोखिम लिन नखोजेको उनको भनाई छ । घरजग्गा कारोबार ठप्प जस्तै रहेको बेला लगानी गर्दा प्रतिफल नआउने डरले पनि हुन सक्ने सुवेदीको भनाई छ ।
यता, कम्पनीहरुको केही प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरु पनि घरजग्गा कारोबार अझै मन्दी रहेकाले लगानी गर्न जोखिम रहेको बताउँछन् । एक कम्पनीका सिईओ भन्छन्, ‘घरजग्गा कारोबार बढ्न सकेको छैन । आर्थिक शिथिलता पनि कायमै छ । यस्तो अवस्थामा लगानी फस्ने जोखिम हुन्छ । अर्को तर्फ प्रतिफल नपाउने डर पनि हुन्छ । त्यसले पनि लगानी विस्तार हुन नसकेको हो ।’
यद्यपि, विस्तारै आर्थिक संकुचनमा सुधार आएकाले आगामी दिनमा भने घरजग्गा कारोबार र लगानी बढ्ने उनको भनाई छ ।घरजग्गा कारोबारका लागि अझै बजार तयार नभएकाले पनि बीमा कम्पनीहरु लगानी गर्न नखोजेको बताए । उनले भने, ‘पछिल्ला केही तथ्याङ्कले आर्थिक गतिविधि बढ्न थालेको संकेत गरिरहेका छन् । अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा लगानी पनि विस्तार हुँदै जाँदा घरजग्गा कारोबार पनि चलयामान हुने छ । यस क्षेत्रमा लगानी बढाउन बीमा कम्पनीहरुको कन्फिडेन्स पनि बढ्न सक्छ ।’
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत बैशाख महिनामा देशभर ४९ हजार ७८२ वट घरजग्गा किनबेच भएको छ । मासिक आँकडा हेर्ने हो भने पनि घरजग्गा कारोबार दबाबमै देखिन्छ । सरकारले पनि घरजग्गा कारोबार बढाउने नीति अघि सारेको छ । करिब २ वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार बढाउनका लागि केही नीतिगत लचकता पनि अपनाएको छ । सरकारले कित्ताकाट लगायतको नीति खुकुलो पारिसकेको छ भने नियामक निकायहरूले लिएको नीतिगत लचकताले पनि कारोबार बढाउन योगदान हुने घरजग्गा व्ययवसायीहरुको अपेक्षा छ।
कुन क्षेत्रमा कसको लगानी कति ?
सबैभन्दा धेरै लगानी ठुला जीवन बीमा कम्पनीहरुको देखिएको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ६० अर्ब १२ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा मुद्दति निक्षेपमै कम्पनीहरुले ५ खर्ब ५ अर्ब ७५ करोड बढी लगानी गरेको देखिन्छ ।
यता, ठुला निर्जीवन बीमा कम्पनीहरुले पनि विभिन्न क्षेत्रमा ६३ अर्ब ५५ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, दुई पुनर्बीमा कम्पनीहरुको ३७ अर्ब २० करोड ८२३ लाख रुपैयाँ लगानी छ । यता, लघुबीमा जीवन बीमा कम्पनीहरुले पनि बैंकहरुको मुद्दति निक्षेप, सेयर बजार, अग्राधिकार सेयर, नागरिक लगानी कोष तथा म्युचुअल फन्डहरुमा कुल १ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।
