९८ हजार बीमितले त्यागे झन्डै १२ अर्बको बीमा पोलिसी, किन रोकिएन बीमामा सरेन्डरको लहर ?

काठमाडौं । अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को संख्या र रकममा नियन्त्रण हुन सकेको छैन् ।
११ महिनामा झन्डै एक लाख बीमितले करिब १२ अर्ब बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । अवधि नससिकै बीमालेख त्याग्ने प्रवृत्तिकमा खासै सुधार आउन सकिरहेको छैन् । आर्थिक शिथिलता अझै पनि कायमै रहेकाले पनि बीमालेख त्याग्ने क्रम बढेको हो । बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । तर, सो बीमालेख अवधि नै नपुगी पोलिसी त्याग्ने प्रवृत्तिमा भने सुधार आउन सकेका छैन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा ९८ हजार १३६ बीमितले ११ अर्ब ९१ करोड ६५ लाख ४७ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
गत बैशाख मसान्तसम्ममा पनि कुल १० अर्ब ७० करोड ३ लाख रुपैयाँ बराबरको ८७ हजार २०१ वटा पोलिसी सरेन्डर भएका थिए । मासिक औसतमा १ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको ८ हजार ९२१ वटा बीमालेख बीमितले त्याग्ने गरेका छन् । गत आव २०७९/८० मा पनि कुल १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँ बराबरको ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएका थिए । अघिल्लो आव २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८६० वटा बीमालेख बन्द भएका थिए ।
विशेषगरि कमिशनको लोभमा अधिकर्ताले बीमा गराउँदा पनि बीमालेख त्याग्नेका संख्या बढेको विज्ञहरु बताउँछन् । बीमा योजनाको बारेमा राम्रोसंग बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्नुपर्ने हुन्छ । तर, यस्तो अभ्यास नहुँदा पनि ठुलो आकारमा सरेडन्डर हुने उनीहरुको भनाई छ । ‘बीमितलाई बुझाएर मात्रै पोलिसी बिक्री गर्नुपर्छ । तर, अभिकर्ताहरुले कमिसनको लोभमा लागेर पोलिसी बिक्री गर्ने परिपाटी पनि छ । बीमा योजना र आवश्यकताका आधारमा बीमालेख खरिद गर्ने अभ्यास विकास नुहँदासम्म सरेन्डरको प्रवृत्ति बढ्छ’, ती विज्ञले भने ।
बीमितले आफूलाई सुहाउँदो र आवश्यकता पहिचाहन गरि पोलिसी खरिद गर्ने वातावरण सृजना गर्नुपर्ने उनको भनाई छ । त्यसो गर्न नसिकिएको खण्डमा अवधि नसकिदै पोलिसी त्याग्ने प्रवृत्ति कायमै रहने उनले बताए ।
आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द (सरेन्डर) गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ ।
आर्थिक शिथिलता अझै पनि कायमै रहेका सरेन्डरको आँकडा बढेको प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरणका अनुसार बीमितले आफ्नो आर्थिक गर्जो टार्नलाई पनि बीमालेख अवधि नपुगी त्याग्ने गरेका छन् । ‘आर्थिक संकटका कारण नागरिकको आम्दानी प्रभावित भएको छ । बजारमा महंगी पनि बढ्दो नै छ । कतिपय मानिसहरुले बीमालेख नविरकण नसकेको अवस्था छ । आफ्नो आर्थिक समस्या फुकाउन पनि बीमालेख सरेन्डर गरेको पाइन्छ’, प्राधिकरण एक अधिकारीले भने,‘बीमित कमिसनको लोभ लाग्नु हुँदैन। बीमा योजनाको बारेमा बीमितलाई राम्रोसँग बुझाउन आवश्यक छ । बीमितले पनि आफ्नो आर्थिक अवस्था हेरेर सुहाउँदो बीमालेख खरिद गर्नुपर्छ।’
नियामक निकाय प्राधिकरणले हाल बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो अवधिमा दुई वर्षको रहेको थियो । सरेन्डरलाई नियन्त्रण लागि प्राधिकरणले थप अध्ययन गरिरेहेको छ । सरेन्डर न्युनीकरणका लागि अहिले विभिन्न अध्ययन अनुसन्धान भईरहेको प्राधिकरणले जनाएको छ ।
नेपाल लाइफका बीमितले त्याग्छन् धेरै पोलिसी, कुल सरेन्डरमा एलआइसी नेपालको हिस्सा २३ प्रतिशत
कम्पनीका आधारमा सबैभन्दा धेरै पोलिसी नेपाल लाइफ इन्स्योरेन्स पहिलो सूचीमा छ । सरेन्डर रकम र बीमालेख संख्या नेपाल लाइफको धेरै छ। ११ महिनामा नेपाल लाइफका २६ हजार ५३९ बीमितले ४ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३४.९२ प्रतिशत हुन आउँछ ।
नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालको धेरै देखिएको छ । समिक्षा अवधिमा एलआइसीका २० हजार ७५९ जना बीमितले २ अर्ब ७१ करोड ९४ लाख ९१ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यो कुल सरेन्डरमा २२.८२ प्रतिशत हुन आउँछ । यता, राष्ट्रिय जीवन बीमा कम्पनीका ११ हजार ८९१ बीमितले पनि १ अर्ब १ करोड ५२ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

यस्तै, नेशनल लाइफको ८७ करोड १५ लाख रुपैयाँ बराबरको ६ हजार ३०७ वटा, एशियन लाइफको ७३ करोड ४३ लाख बराबरको ८ हजार ७१९, सूर्यज्योतिको ६५ करोड ८ लाख रुपैयाँ बराबरको ४ हजार ८१७ वटा र हिमालयन लाइफको ६३ करोड १८ लाख बराबरको ७ हजार ७५ वटा बीमालेख सरेन्डर भएका छन् ।
समिक्षा अवधिमा मेट लाइफका ३ हजार ७१७, सिटिजन लाइफका २ हजार २५८, सानिमा रिलायन्सका १ हजार ६४०, रिलायवल नेपालका १ हजार ३८३, आइएमईका १ हजार ३२९, प्रभु महालक्ष्मीका १ हजार १०२ र सन नेपाल लाइफका ६०० जना बीमितले बीमालेख सरेन्डर गरेका छन् ।