जीवन बीमा व्यवसायमा ४ कम्पनीको वर्चश्व: निर्जीवनतर्फ शिखरको अग्रता, व्यापारमा यस्तो देखियो प्रतिस्पर्धा « Arthapath.com
८ श्रावण २०८१, मंगलवार

जीवन बीमा व्यवसायमा ४ कम्पनीको वर्चश्व: निर्जीवनतर्फ शिखरको अग्रता, व्यापारमा यस्तो देखियो प्रतिस्पर्धा



काडमाडौं । ठुला बीमा कम्पनीहरुले एक वर्षमा झन्डै २ अर्बको बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखिएको हो ।

हाल १४–१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु संचलनमा छन् । ती कम्पनीहरुले गत वर्षभर १ खर्ब ९७ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यद्यपि, यो वार्षिक अन्तिम प्रतिवेदन भने होइन । गत आवको वार्षिक प्रतिवेदन आउँदा कम्पनीहरुको व्यापारमा केही थपघट हुन सक्नेछ ।

प्राधिकरणका अनुसार एक वर्षमा जीवन बीमा कम्पनी मात्रै १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो । अघिल्ला आवमा पनि कम्पनीहरुले १ खर्ब २७ अर्ब ४६ करोड ७ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८ लाख रुपैयाँ नविकरण बीमा शुल्क र प्रथम बीमा शुल्क ३४ अर्ब २७ करोड ११ लाख रुपैयाँ संकलन गरेका हुन् ।

जीवन बीमा व्यापारमा नेपाल लाइफसहित चार कम्पनीको वर्चश्व

जीवन बीमा व्यापारमा नेपाल लाइफसहित चार कम्पनीको योगदान ठुलो देखिएको छ । गत वर्ष सबैभन्दा धेरै व्यापार नेपाल लाइफले गरेको छ । नेपाल लाइफले एकै वर्ष ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यापारमा २६.१३ प्रतिशत हुन आउँछ । जीवन बीमा व्यवसायमा दोस्रो ठुलो हिस्सा नेशनल लाइफको छ । कुल व्यापारमा नेशनल लाइफको १२.२८ प्रतिशत हिस्सा छ । गत वर्ष कम्पनीले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेशन कर्पोरेशन (एलआइसी) नेपालले पनि १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको ११.५७ प्रतिशत हुन् आउँछ । यता, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक वर्षमा १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफको कुल जीवन व्यवासयमा १०.६२ प्रतिशत योगदान रहेको छ।

प्राधिकरणका अनुसार गत वर्ष सूर्यज्योति लाइफले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमाले ८ अर्ब ७१ करोड ४९ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख, सानिमा रिलायन्स ६ अर्ब १८ करोड ८३ लाख, आइएमई लाइफले ४ अर्ब ७४ करोड १३ लाख, प्रभु महालक्ष्मीले ४ अर्ब ३७ करोड २४ लाख, रिलायवलले ४ अर्ब २० करोड ८२ लाख र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा व्यवसायमा शिखरले टप्यो, सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा

गत वर्ष निर्जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसमा शिखर इन्स्योरेन्स सर्वाधिक हिस्सा छ । एक वर्षमा शिखरले कुल ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो कुल व्यवसायको १३.२९ प्रतिशत हो ।

व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिपस्र्धा देखिएको छ । गत वर्ष सलिकोले ४ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । कुल व्यवसायमा यी दुई कम्पनीको क्रमशः ११.६३ प्रतिशत र १०.१५ प्रतिशत हिस्सा छ ।

व्यावसायको आधारमा चौंथो सूचीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पाँचौं स्थानमा रहेको आइजीआई प्रुडेन्सियलले पनि ३ अर्ब ६५ करोड ६ लाख र छैठौं सूचीमा रहेको नेकोले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस्तै, गत वर्ष युनाईटेड अजोडले २ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ, सानिमा जिआइसील २ अर्ब ६१ करोड ८५ लाख, एनएलजीले २ अर्ब ५५ करोड २८ लाख, ओरियण्टलले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ४ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख र नेशनल इन्स्योरेन्स १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्