बीमा कम्पनीकाे दावी भुक्तानी, कुन कम्पनीकाे कति ? « Arthapath.com
३ भाद्र २०८१, सोमबार

बीमा कम्पनीकाे दावी भुक्तानी, कुन कम्पनीकाे कति ?



काठमाडौँ । नेपालका जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा राम्रै नाफा आर्जन गरेको प्रारम्भिक वित्तीय विवरणहरु प्रकाशन गरे । यसबाट धेरैमा हौसला पनि आयो । सेयर बजारमा पनि यी वित्तीय विवरणहरुले सकारात्मक प्रभाव पारेको देखिएको छ । दुई वर्षभन्दा लामो समयपछि सेयर बजार उकालो लाग्न थालेको छ ।

तर बीमा कम्पनीहरुको दाबी भुक्तानीको अवस्था हेर्ने हो भने अवस्था थोरै भिन्न देखिन सक्छ । केही बीमा कम्पनीहरुले वर्षभरीमा संकलन गरेको प्रथम प्रिमियमको तुलनामा उनीहरुले तिर्न बाँकी दाबीको आकार निकै ठूलो देखिएको छ ।

समग्रमा १४ जीवन बीमा कम्पनीले गत असार मसान्तसम्म ९३ हजार ७९७ वटा दाबीमा भुक्तानी गर्न बाँकी रहेको विवरण नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको छ । उक्त विवरण अनुसार सबैभन्दा धेरै बीमा दाबी भुक्तानी गर्न बाँकी राख्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा देखिएको छ ।

हिमालयन लाइफले असार मसान्तसम्म १ अर्ब ५० करोड ४१ लाख ५२ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यो रकम १४ हजार ६९५ बीमालेखबाट प्राप्त भएको हो । यो सूचीको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । उसले पनि १७ हजार ५८७ बीमा पोलिसीबाट परेको १ अर्ब ४० करोड ४२ लाख ६६ हजारको दाबी भुक्तानी गरेको छैन ।

नेशनल लाइफ र एसियन लाइफ तेस्रो र चौँथो स्थानमा छन् । नेशनलले १ अर्ब ३६ करोड र एसियनले ९१ करोड ३३ लाख दाबी भुक्तानी गर्न बाँकी छ । १४ मध्ये यी शीर्ष ४ कम्पनीले मात्रै ५ अर्ब १८ करोड अर्थात् कुल बाँकी दाबीको करीव ६६ प्रतिशत हिस्सेदारी लिन्छन् ।

सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र प्रभू महालक्ष्मी लाइफले भने तुलनात्मक रुमपा ज्यादातर दाबी फस्र्योट गरिसकेको देखिन्छ । असार मसान्तमा सन नेपालको ४६ वटा मात्रै दाबीको भुक्तानी रोकिएको थियो, जुन ७० लाख १६ हजार रुपैयाँ बराबर हो ।

रिलायबल नेपालले पनि ३ करोड ९६ लाख बराबरका २१६ दाबीको फस्र्योट गर्न बाँकी थियो । प्रभू महालक्ष्मीले भने ११ सय १८ वटा दाबी भुक्तानी गरेको थिएन, जसको कुल दाबी रकम ९ करोड हाराहारी मात्रै थियो ।

तर यही तथ्यांकलाई बीमाशुल्कको अनुपातमा हेर्ने हो भने भिन्न दृष्य देखिन्छ । हुन पनि कम्पनीहरुको ब्यावसायिक आकारका आधारमा यस्तो बाँकी दायित्वको पनि मूल्यांकन गरिँदा बढी तथ्यपरक हुन्छ । उदाहरणका लागि नेपाल लाइफ र नेशनल लाइफ जीवन बीमा बजारका शीर्ष कम्पनी हुन् ।

गत आर्थिक वर्षमा नेपाल लाइफले प्रथम बीमाशुल्कबाट मात्रै ८ अर्ब २ करोड ३१ लाख हाराहारी प्रिमियम संकलन गरेको छ । नेशनल लाइफले पनि ५ अर्ब ५ करोड ६८ लाखभन्दा धेरै बीमाशुल्क हासिल गरेको छ । यी दुई कम्पनीले मात्रै पुरै जीवन बीमा बजारको ३८ प्रतिशतभन्दा धेरै हिस्सेदारी ओगट्छन् ।

दाबीबारे अन्तिम टुंगो लगाउनु पर्ने रकम धेरै देखिए पनि उनीहरुको व्यावसायिक आकारका आधारमा यस्तो अनुपात अरु कतिपय कम्पनीको भन्दा कम हुन जान्छ । प्रथम प्रिमियमको आधारमा तुलना गर्दा सबैभन्दा खराब हालतमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी देखिन्छ ।

उक्त सरकारी कम्पनीले वर्षभरीमा आर्जन गरेको कुल प्रथम बीमाशुल्कभन्दा धेरै अर्थात् ११२ प्रतिशत रकम दाबी तिर्न बाँकी छ । यो कम्पनीले पोहोरको आर्थिक वर्षमा जम्माजम्मी ७५ करोड ७९ लाख बीमाशुल्क आर्जन गरेको प्राधिकरणकै आँकडामा देखिन्छ । जबकी, उसले गएको असारसम्म ८५ करोड १३ लाख ७६ हजार दाबी भुक्तानी वा फस्र्योट गर्नुपर्ने हुन्छ ।

यो अनुपातमा पनि हिमालयन लाइफ इस्योरेन्स अरु निजी बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा खराब हालतमा देखिन्छ । उसले बाँकी रहेको दाबीलाई जस्ताको त्यस्तै भुक्तानी गरिदिने हो भने कम्पनीले वर्षभरीमा कमाएको प्रथम बीमा शुल्कको ५८ प्रतिशतभन्दा बढी छ । त्यसपछि एसियन लाइफले प्रथम बीमाशुल्कको ४७ प्रतिशत र मेट लाइफले ३० प्रतिशतभन्दा बढी दायित्व तिर्न बाँकी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्