प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको खरीद प्रत्याभूति सेवाको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको मुख्य कार्यालय सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढीमाय रहेको छ । नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम २०७९ चैत २८ गते इजाजत प्राप्त गरी २०८० असार ३१ गते देखि सञ्चालनमा आएको हो ।
कम्पनीले सम्पत्ति बीमा, घर (आवास) बिमा, दुर्घटना बीमा, मोटर बीमा, स्वास्थ्य बीमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा दिँदै आएको छ । कम्पनीले ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालयसहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप-शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो।