वैदेशिक रोजगार बीमामा पुल स्थापना गरिने: लघुबीमा पनि समावेश, कसरी हुन्छ व्यवसाय बाँडफाँड ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१’ जारी गरेको छ।
अब वैदेशिक रोजगार म्यादी जीवन बीमालाई सामुहिक बीमा कोष (पुल) बाट सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरि सामूहिक पुल मार्फत नै बीमालेख जारी गर्न तथा दावी भुक्तानी गर्न आवश्यक भएकाले सो निर्देशन जारी गरेको हो ।
बीमा ऐन, २०७९ को दफा ६५ र दफा १६६ को अधिकार प्रयोग गरि निर्देशिका, २०८१ जारी भएको प्राधिकरणले जनाएको छ ।
अब कम्पनीहरुले बीमा पुल स्थापना गर्नुपर्छ । बीमालेख बिक्री र दावी पनि सम्बन्धीत कम्पनीले नै गर्नेछन् । यद्यपि, प्रत्येक महिनामा तोकिएको अनुपातमा पुलमा आवद्ध कम्पनीहरु बीच बाँडफाँड र व्यवस्थापन हुने प्राधिकरणले जनाएको छ ।
पुलमा सदस्य हुने कम्पनीले वैदेशिक रोजगार विभागमा सूचीकृत भएको हुनुपर्नेछ भने सूचीकृत भएको अर्को महिनादेखि कोषमा समावेश हुनेछ । कोष प्रबन्धकको रुपमा भने कुनै पुनर्बीमा कम्पनी रहनेछन् । प्रबन्धकले बीमा शुल्क बापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता संचालन गर्ने, कोषको संचालन, बाँडफाँड र व्यवस्थापन, बीमकबाट प्राप्त भएको बीमा शुल्कबाट आवश्यक समायोजना (ब्याज, आम्दानी, र दाबी भुक्तानी) गरि मासिक रुपमा बाँडफाँड गर्नेछ।
यस्तै, बीमा शुल्क आम्दानी, ब्याज आम्दानी र दाबी भुक्तानी लगायतको हिसाब किताब पारदर्शी राख्ने, मासिक आय व्यय विवरण कम्पनीहरुलाई पठाउने, बीमाङ्कीय मूल्याङ्कन गर्ने तथा लेखा परीक्षण गराउने लगायतका काम प्रबन्धकले गराउनेछ ।
पुलमा आवद्ध कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट सिर्जित दाबी भुक्तानी गर्नुपर्नेछ । बीमालेखको विवरण दैनिक रुपमा कोष प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ । यसका साथै कम्पनीले भुक्तानी गरेको दावी बापतको रकम प्रत्येक महिनाको ७ गते भित्र प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ ।
कम्पनीले बीमालेख जारी गर्नेदेखि दाबी भुक्तानीसम्मको का लागि व्यवस्थापन खर्च स्वरुप बीमा शुल्कको १ प्रतिशत हुने रकम पाउनेछ । कोष प्रबन्धकले बीमाङ्कीय मूल्याङ्कनका लागि लागेको वास्तविक खर्च कम्पनीहरुमा बीमा शुल्क बाँडफाँडको आधारमा मिलान गर्नेछ ।
वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी नगर्ने कम्पनीहरुको कोषको सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ। सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको कम्पनीहरुले भने सामूहिक कोषमा सहभागी हुन तथा बीमालेख बिक्री गर्न पाउने छैनन् ।
पुलमा एलआईसी नेपाल र मेट लाइफ इन्स्योरेन्स आवद्ध हुने छैनन् । तर, तीन वटा लघुबीमा कम्पनीलाई भने यसमा सवमोश गरिएको छ । लघुबीमा कम्पनीहरुले पहिलादेखि नै बैदेशिक रोजगार बीमा गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । अहिले पुलमा पनि उनीहरुलाई समावेश गरिएको छ । त्योअनुसार अब बाँकी १२ ठुला र तीन लघुबीमा जीवन कम्पनीले पुलमा आवद्ध भएर यस्तो बीमा कारोबार गर्न पाउनेछन् ।
कम्पनीलाई कसरी हुन्छ व्यवसाय बाँडफाँड ?
हाल १४ वटा ठुला र तीन लघु गरि १७ वटा जीवन बीमा कम्पनीहरु छन् । ती मध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) र मेट लाइफ भने पुलमा आवद्ध हुने छैनन् । तर, ती वटा लुघ जीवन बीमकलाई भने समावेश गराइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कम्पनीहरुलाई विगतको योगदानका आधारमा व्यवसाय बाँडफाँड हुने छ । प्राधिकरणका अनुसार आव २०८१–८२, आव २०८२–८३ र आव २०८३–८४ मा बिगतको योगदानको आधारमा बाँडफाँड हुनेछ । ती आवमा कम्पनीहरुलाई क्रमशः ४.६० प्रतिशत, ५.७० प्रतिशत र ६.६० प्रतिशत अनुपातमा न्युनतम हिस्सा प्रदान हुनेछ । तर, पछिका वर्षमा भने बराबर अनुपातमा बाँडफाँड हुने प्राधिकरणले जनाएको छ । त्यसपछि कम्पनीहरुको बिगतमा गरेको योगदानमा आधारमा थप बाँडफाँड हुनेछ ।