निर्जीवन बीमा व्यापारमा सम्पत्ति बीमाको हिस्सा बढ्दै, किन खुम्चियो मोटर बीमा ?
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा मोटर बीमाको छ । निर्जीवन बीमा व्यवसाय मोटर बीमा नै निर्भर छ । तर, पछिल्लो समय भने कुल व्यापारमा मोटर बीमाको हिस्सा घट्न थालेको देखिन्छ । आर्थिक शिथलताले सवारी साधान खरिद बिक्रीमा आएको कमी आएको छ । त्यसको प्रत्यक्ष असर मोटर बीमा व्यवसाय देखिएको हो । सवारी साधान खरिद गरेपछि अनिवार्य रुपमा बीमा गरिनुपर्ने व्यवस्था छन् । सवारी बिक्री घटेपछि नै मोटर बीमा मार्फत संकलन हुने बीमा शुल्कमा पनि केही गिरावट आएको छ ।
तर, मोटर बीमा घटेपनि सम्पत्ति बीमा मार्फत संकलन हुने बीमा शुल्क भने वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसको ३३.१२ प्रतिशत भने सम्पत्ति बीमा मार्फत संकलन भएको हो । साउनमा सम्पत्ति बीमा मार्फत १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो महिनामा कम्पनीहरुले ४२ हजार ७३८ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।
साउनमा मोटर बीमा मार्फत भने १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यो कुल व्यवसायमा २८.३८ प्रतिशत योगदान मोटर बीमाको छ । साउनमा १ लाख १२ हजार ८६५ वटा मोटर बीमालेख बिक्री भएका छन् । यता, कुल व्यवसायमा इन्जिनियरिङ्ग तथा जोखिम बीमाको योगदान ११.६६ प्रतिशत छ । साउनमा यस्तो बीमा मार्फत ५० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
यस्तै, कुल व्यवसायमा विविध बीमा अन्तर्गत पनि ५५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यता, सामुन्द्रिक बीमाको योगदान ६.८२ प्रतिशत, कृषि तथा बाली बीमाको ४.६६ प्रतिशत, लघु बीमाको १.२ र हवाई बीमाको पनि १.२ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमै ७० प्रतिशत निर्जीवन बीमा व्यवसाय, कुन प्रदेशको योगदान कति ?
निर्जीवन बीमा कम्पनीहरु बागमती प्रदेश नै केन्द्रित देखिन्छन् । आधा भन्दा धेरै व्यवसाय सो प्रदेशबाटै हुने गरेको छ ।
गत साउनमा पनि कम्पनीहरुले ६९.२१ प्रतिशत व्यापार बागमती प्रदेशबाटै गरेका छन् । सो प्रदेशबाट एकै महिना २ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । साउनमा १ लाख १३ हजार १७९ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।
यस्तै, कुल व्यवसायमा लुम्बिनी प्रदेशको हिस्सा ८.१४ प्रतिशत छ । सो प्रदेशबाट कम्पनीहरुले ३८ हजार १६९ वटा बीमालेख बिक्री गरि ३५ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, कोशी र मधेश प्रदेशको हिस्सा भने ७.८२ प्रतिशत र ७.०३ प्रतिशत रहेको छ । साउनमा यी दुई प्रदेशबाट क्रमशः ३३ करोड ६९ लाख र ३० कोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुको व्यापार सुदुरपश्चिम र कर्णाली प्रदेशमा न्युन देखिएको छ । कुल व्यवसायमा यी दुई प्रदेशको हिस्सा १.७१ प्रतिशत र ०.६७ प्रतिशत छ । साउनमा सुदुरपश्चिमबाट कम्पनीहरुले ७ करोड ३७ लाख र कर्णालीबाट २ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।