वैदेशिक रोजगार बीमा मार्फत ४६ करोड प्रिमियम कलेक्सन, सन नेपाल एक्लैको हिस्सा ४७ प्रतिशत

काठमाडौं । दुई महिनामा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको साउन र भदौमा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड २६ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ ।
पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल वैदेशिक रोजगार बीमाको कुल २१ लाख ५५ हजार २१५ वटा बीमालेख सक्रिय देखिएको छ । भदौमा मात्रै कम्पनीहरुले २४ करोड ५४ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा कम्पनीहरुले ५८ हजार ३६६ वटा वैदेशिक बीमालेख जारी गरेका छन् ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल नेपाल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।
यीमध्ये सन नेपाल लाइफले सर्वाधिक वैदेशिक रोजगार बीमा व्यापार गर्न सफल भएको छ । कम्पनीले दुई महिनामै यस्तो बीमा मार्फत २३ करोड ९ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपालले को झन्डै आधा हिस्सा ओगटेको छ । भदौसम्मको तथ्याङ्कमा कम्पनीको वैदेशिक रोजगार बीमा व्यवसायमा ४६.८७ प्रतिशत योगदान देखिन्छ । हाल कम्पनीसँग कुल ७ लाख ५ हजार ६२० वटा बीमालेख सक्रिय छ । भदौमा मात्रै कम्पनीले २७ हजार १७८ वटा बीमलेख बिक्री गरि ११ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा एशियन लाइफले ८ करोड ५४ लाख, नेपाल लाइफले ४ करोड २१ लाख, नेशनलले ३ करोड ९९ लाख, सानिमा रिलायन्सले २ करोड ७६ लाख, सूर्यज्योतिले २ करोड ७३ लाख र रिलायवल नेपाल लाइफले २ करोड ५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, सिटिजन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत १ करोड ३२ लाख ५१ हजार, आइएमई आइफले ४८ लाख ९६ हजार, प्रभु महालक्ष्मीले ५ लाख ४५ हजार र लिवर्टी माइक्रो लाइफले भने ४९ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।