जीवन बीमा व्यापारमा नेशनल, एलआइसी र हिमालयनको प्रतिस्पर्धा, वृद्धिदरमा रिलायवल, सिटिजन तगडा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

जीवन बीमा व्यापारमा नेशनल, एलआइसी र हिमालयनको प्रतिस्पर्धा, वृद्धिदरमा रिलायवल, सिटिजन तगडा



काठमाडौं । तीन महिनामा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि असोज मसान्तसम्ममा कम्पनीहरुले ४१ अर्ब ८ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । तर, गत आवको सोही अवधिको तुलनामा भने सामान्य मात्रै (०.६८ प्रतिशत) वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।

समिक्षा अवधिमा कम्पनीहरुले ७ अर्ब ५३ करोड ९५ लाख ९९ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक), वैदेशिक रोजगार बीमा मार्फत ८१ करोड ८८ लाख र नविकरण मार्फत ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

असोजमा मात्रै कम्पनीहरुले ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । समिक्षा अवधिमा दुई कम्पनीको व्यावसाय मात्रै घटेको छ । ती बाहेकका अन्य १२ वटा कम्पनीको व्यापार भने वृद्धि भएको छ ।

पहिलो त्रैमासमा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ६५.३५ प्रतिशत घटेर १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन लाइफको पनि १.५८ प्रतिशत घटेर ४ अर्ब ३१ करोड १२ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

सर्वाधिक व्यापार गर्नेमा भने नेपाल लाइफको बर्चश्व कायमै देखिएको छ । कम्पनीले तीन महिनामा ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ९.५१ प्रतिशत धेरै हो ।

सर्वाधिक व्यापार गर्नेको दोस्रो सूचीमा भने नेशन लाइफ छ । कम्पनीले तीन महिनामा ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वृद्धिदरका आधारमा पनि नेशनल लाइफको पोजिशन दोस्रो नै छ ।

समिक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।तर, गत आवको पहिलो त्रैमासको तुलनामा भने यो १.४६ प्रतिशत मात्रै बढी हो ।

व्यापार वृद्धिमा भने रिलायवल नेपाल लाइफ देखिएको छ । गत आवको तुलनामा कम्पनीको व्यावसाय १९.२७ प्रतिशत वृद्धि भई १ अर्ब २० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

तेस्रो सूचीमा रहेको सिटिजन लाइफको व्यापार पनि १६.१५प्रतिशत वृद्धि भएको छ । कम्पनीले तीन महिनामा १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यता, आइएमई लाइफको ग्रोथ पनि दोहोरै अंकमा देखिएको छ । कम्पनीको व्यापार १०.३५ प्रतिशत वृद्धि भई १ अर्ब २१ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा एशियन लाइफको व्यापार पनि ८.९८ प्रतिशत वृद्धि भई २ अर्ब ३ करोड ६८ लाख, सूर्यज्योतिको ८.४५ प्रतिशत वृद्धि भई २ अर्ब ४९ करोड ९३ लाख, प्रभू महालक्ष्मी लाइफको ७.७० प्रतिशत वृद्धि भई १ अर्ब २४ करोड २ लाख रुपैयाँ कायम भएको छ।

यस्तै, मेट लाइफको ५.५२ प्रतिशत बढेर १ अर्ब ४४ करोड २१ लाख, सन नेपाल लाइफको ५.२३ प्रतिशत वृद्धि भई ९३ करोड २७ लाख, सानिमा रिलायन्सको ३.५३ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

कुन कम्पनीको व्यापार कस्तो ?


प्रतिक्रिया दिनुहोस्