व्यापारमा सलिकोले टप्यो, सिद्धार्थ प्रिमियर र शिखरको कडा टक्कर, नेपाल र ओरियण्टलको पनि राम्रो ग्रोथ
काठमाडौं । निर्जीवन बीमा व्यवसाय ९ प्रतिशत वृद्धि भएको छ । तीन महिनामै कम्पनीहरुले ११ अर्ब बढीको व्यापार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार १४ मध्ये चार वटा व्यवसाय घटेको देखिन्छ भने अन्य १० वटा कम्पनीले भने बढाएका छन् ।
समिक्षा अवधिमा कम्पनीहरुले ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ९.०२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले १० अर्ब ४४ करोड ५५ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
तीन महिनामा कम्पनीहरुले ६ लाख ५८ हजार १४० वटा बीमालेख बिक्री गरेका छन् । असोजमा मात्रै कम्पनीहरुले २ लाख ४० हजार ६८ वटा बीमालेख बिक्री गरि कुल ३ अर्ब ६४ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
व्यवासयमा सलिकोले टप्यो, सिद्धार्थ प्रिमियर र शिखरको कडा टक्कर
चालु आवको पहिलो त्रैमासमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक व्यापार गरेको छ ।
कम्पनीले तीन महिनामा १४ अर्ब ३६ करोड ६३ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । योसँगै निर्जीवन बीमा व्यापारमा कम्पनी नम्बर वानको सूचीमा छ । सलिकोको व्यापार गत आवको पहिलो त्रैमासको तुलनामा ८ प्रतिशत वृद्धि भएको हो ।
प्रायः पहिलो सूचीमा देखिने शिखर इन्स्योरेन्स भने तेस्रो स्थानमा पुगेको छ । सिद्धार्थ प्रिमियरले शिखरलाई उछिनेको छ । समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, शिखरले भने १ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यी दुई कम्पनीको व्यापार क्रमशः ९.९८ प्रतिशत र ७.५६ प्रतिशत वृद्धि भएको हो ।
नेपाल इन्स्योरेन्स र ओरियण्टलले बढाए उच्च व्यापार, नेशनल र एनएलजीको पनि दोहोरो अंकमा बढ्यो
समिक्षा अवधिमा व्यापार वृद्धिदर भने नेपाल इन्स्योरेन्स र ओरियण्टलको उच्च देखिएको छ । नेपाल इन्स्योरेन्सको व्यवसाय ६३.७९ प्रतिशत वृद्धि भई ६१ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यता, ओरियण्टलको पनि ५९.२८ प्रतिशत वृद्धि भई ८३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेशनल र एनएलजी इन्स्योरेन्सको व्यापार ग्रोथ पनि दोहोरै अंकमा देखिएको छ । समिक्षा अवधिमा नेशनल इन्स्योरेन्सको व्यापार १२.२५ प्रतिशत वृद्धि भई ४१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यता, एनएलजीको पनि ११.३५ प्रतिशत बढेर ७५ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।
त्यसैगरि नेको इन्स्योरेन्सको व्यापार पनि ६.८० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ४.५६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.४४ प्रतिशत बढेको छ ।
चार कम्पनीको व्यापारम गिरावट
चालु आवको पहिलो त्रैमासमा चार वटा कम्पनीको व्यापारमा गिरावट देखिएको छ । प्रभु, हिमालयन एभरेष्ट, युनाईटेड असोज र सानिमा जिआइसीको व्यापार घटेको हो ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सको व्यापार १५.६६ प्रतिशत घटेर ४७ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।
यता, हिमालयन एभरेष्ट र युनाइटेड अजोडको व्यापारमा पनि क्रमशः ३.११ प्रतिशत र ३.०९ प्रतिशत घटेको छ । सानिमा जिआइसीको पनि १.७४ प्रतिशत घटेको छ ।