नयाँ व्यवसाय भित्र्याउन आक्रामक देखिए जीवन बीमा कम्पनी, तीन वटाको भने घट्यो, कसको कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नयाँ व्यवसाय भित्र्याउन आक्रामक देखिए जीवन बीमा कम्पनी, तीन वटाको भने घट्यो, कसको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन तीन महिनामा ८२ करोड वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले कुल ७ अर्ब ५३ करोड ९५ लाख ९७ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १२.२० प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुको यस्तो बीमा शुल्क ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

चालु आवमा जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायका १८.३५ प्रतिशत नयाँ व्यवसाय भित्र्याएका छन् ।

समिक्षा अवधिमा तीन कम्पनीको नयाँ व्यवसायमा गिरावट आएको छ । सन नेपाल लाइफ, आइएमई र रिलायवल नेपाल लाइफको प्रथम बीमा शुल्क घटेको छ । यी कम्पनीहरुको प्रथम बीमा शुल्क गत आवको पहिलो त्रैमासको तुलनामा क्रमशः ३१.९१ प्रतिशत, २५.७२ प्रतिशत र ८.६८ प्रतिशत घटेर २० करोड ७१ लाख २४ करोड ८८ लाख र २९करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

नयाँ व्यवसायमा वृद्धिमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन १८५.०३ प्रतिशत वृद्धि भई ३५ करोड ७४ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।

नयाँ व्यवासयमा पनि नेपाल लाइफकै वर्चश्व देखिएको छ । कम्पनीले तीन महिनामा १ अर्ब ९० करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १९.३० प्रतिशत बढी हो । सर्वाधिक नयाँ व्यवसाय गर्नेको दोस्रो स्थानमा रहेको नेशनल लाइफको पनि २२.२७ प्रतिशत वृद्धि भई १ अर्ब १० करोड ९२ लाख रुपैयाँ कायम भएको छ ।

वृद्धिदरका आधारमा तेस्रो स्थानमा रहेको प्रभु महालक्ष्मी लाइफको पनि २१.१९ प्रतिशत बढेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा भने २६ करोड १६ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा हिमालयन लाइफको प्रथम बीमा शुल्क आर्जन १२.९० प्रतिशत, सूर्यज्योतिको १२.४३ प्रतिशत र एशियन लाइफको १०.०५ प्रतिशत वृद्धि भई क्रमशः ५९ करोड ६९ लाख, ५८ करोड ३९ लाख र ३५ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।

यता, सिटिजन लाइफको पनि ७ प्रतिशत, मेट लाइफको ६.२४ प्रतिशत, सानिमा रिलायन्सको ६.०१ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको २.३० प्रतिशत वृद्धि भएको छ । यी कम्पनीहरुले तीन महिनामा क्रमशः ४४ करोड ५१ लाख, ३२ करोड २४ लाख, ३४ करोड १६ लाख र ५ज्ञ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्