तीन महिनामै ३ अर्ब ८२ करोडको बीमा सरेन्डर, २८ हजार बीमितले त्यागे पोलिसी, कुन कम्पनीको कति ?

काठमाडौं । तीन महिनामै २८ हजार बढी बीमितले पौने चार अर्ब बराबरको बीमालेख सरेन्डर गराएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासका तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवका साउनदेखि असोजमसान्तसम्ममा ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको २८ हजार ५७ हजार रुपैयाँ बीमालेख सरेन्डर भएका छन् ।
बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ । हाल प्राधिकरणले ३ वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालका बीमितले सरेन्डर गरेका छन् । तीन महिनामा कम्पनीको १ अर्ब २२ करोड ९६ लाख ७९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । कम्पनीका ७ हजार ७३१ वटा बीमितले पोलिसी त्यागेका हुन् । यता, नेपाल लाइफका सरेन्डर रकम पनि उच्च देखिएको छ । कम्पनीमा १ अर्ब ८ करोड ५४ लाख ८४ हजार रुपैयाँ बराबरको ६ हजार ५४६ वटा पोलिसी बन्द भएका छन् ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको पनि २७ करोड ४३ लाख ७१ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । कम्पनीका २ हजार ७४२ बीमितले बीमालेख त्यागेका हुन् । समिक्षा अवधिमा एशियन लाइफको पनि २४ करोड ८४ लाख २२ हजार रुपैयाँ बराबरको २ हजार २७२ वटा बीमालेख बन्द भएको छ । यता, नेशन लाइफको पनि २३ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको १ हजार ५५४ वटा बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार सूर्यज्योति लाइफको १९ करोड ३३ लाख ७५ हजार, हिमालयनको १८ करोड २३ लाख २४ हजार र मेट लाइफको १० करोड ६३ लाख २९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । यी कम्पनीहरुका क्रमशः १ हजार ५७४, २ हजार १४ र ९९५ बीमितले पोलिसी त्यागेका हुन् ।
यस्तै, सानिमा रिलायन्सको ७ करोड ७८ लाख ६० हजार, आइएमई लाइफको ५ करोड ११ लाख १९ हजार रुपैयाँ, प्रभु महालक्ष्मीको ४ करोड ६९ लाख २३ हजार, सिटिजनको ४ करोड ४९ लाख २७ हजार र सन नेपाल लाइफको १ करोड ७७ लाख ११ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ । समिक्षा अवधिमा यी कम्पनीहरुका क्रमशः ५३७, ४७०, ३५४, ५८८ र १९३ बीमितले पोलिसी त्यागेका हुन् ।