बीमा बजार: जीवन भन्दा निर्जीवन बीमा कम्पनीको ग्रोथ राम्रो, कस्तो चल्दै छ व्यापार ? « Arthapath.com
१५ कार्तिक २०८१, बिहीबार

बीमा बजार: जीवन भन्दा निर्जीवन बीमा कम्पनीको ग्रोथ राम्रो, कस्तो चल्दै छ व्यापार ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा व्यवसाय सामान्य वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा व्यवसाय ३.१५ प्रतिशत मात्रै वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको असोज मसान्तसम्ममा बीमा कम्पनीहरुले कुल ५२ अर्ब ८७ करोड ५१ लाख ४ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ३.१५ प्रतिशत मात्रै बढी हो ।

गत आवको सो अवधिमा कम्पनीहरुले ५१ अर्ब २५ करोड ९४ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । हाल १४–१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी, चार वटा लघु निर्जीवन बीमा र ३ वटा लघुजीवन बीमा कम्पनी संचालनमा छन् ।

समिक्षा अवधिमा जीवन बीमा तर्फ १ करोड ३७ लाख ६६ हजार ४४८ वटा बीमालेख सक्रिय छन् । तर, यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ०.७३ प्रतिशत कमी हो । गत आवको सो अवधिमा १ करोड ३८ लाख ६७ हजार ५८१ वटा जीवन बीमालेख सक्रिय थियो । सो अवधिमा जीवन बीमा व्यवसायमा भने सामान्य बढेको देखिन्छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीहरुको व्यापार १.२२ प्रतिशत मात्रै वृद्धि भई ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरुले ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय तर्फ केन्द्रित देखिएका छन् ।

समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २४.६४ प्रतिशत वृद्धि भई ८ अर्ब ३७ करोड ९३ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ६ अर्ब ७२ करोड २६ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका थिए । यता, पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क भने ३.४० प्रतिशत घटेर ३२ अर्ब ९२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम भएको छ । तर, गत आवको पहिलो त्रैमासमा भने कम्पनीहरुको यस्तो व्यवसाय ३४ अर्ब ८ करोड २० लाख बढी थियो ।

तर, जीवन बीमा व्यापारमा सामान्य सुधार देखिएता पनि निर्जीवन बीमा व्यवसाय भने दोहोरो अंकले वृद्धि भएको छ ।

समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री भने ७.८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा ६ लाख ८४ हजार ४३६ वटा बीमालेख बिक्री भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुले ७ लाख ३७ हजार ९३० वटा बीमलेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय समग्रमा १०.७० प्रतिशत वृद्धि भएको देखिन्छ । तीन महिनामा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत आवको सो अवधिमा भने १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्