कर्मले जन्माएको सीईओ–जो प्रभू इन्स्योरेन्स हाँकीरहेका छन्

काठमाडौँ । गीताको एउटा भनाइ छ नि– ‘कर्म गर, फलको तृष्णा नराख ।’ जो मान्छे आफ्नो कर्मप्रति लगनशील हुन्छ, उसले सफलताको चुचुरो अवस्य चुम्छ ।
यसैको उदाहरण हुन्– प्रभू इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्य । डेढ दशक बीमा क्षेत्रमा बिताइसकेका उनलाई अथक मिहेनतले आज नेतृत्व तहसम्म पुर्याएको छ ।
२०६६ सालमा साबिकको एलाइन्स इन्स्योरेन्स (पछि प्रभू इन्स्योरेन्समा नाम परिवर्तन) मा वित्त प्रमुख (फाइनान्स हेड)को रूपमा प्रवेश गरेर बीमा क्षेत्रमा करियर सुरु गरेका बज्राचार्य छोटो समयमा नै नेतृत्व सम्हाल्ने व्यक्तिमा पर्छन् । उनले कार्यकाल सम्हालेको ६ वर्षमा नै लामो छलाङ मारेर कम्पनीको सिईओ बन्न पुगेका हुन् ।
खुला प्रतिस्पर्धाबाट कम्पनीमा आवद्ध भएका उनले कम्पनीलाई बीमा क्षेत्रको बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएका छन् । उनको यो यात्रा निरन्तर जारी छ ।
२०५१ सालबाट जागिरे जीवनको करियर सुरु गरे पनि लामो समयपछि मात्र उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । उनले जागिर भने फरक क्षेत्रबाट सुरू गरेका थिए । प्रसुती गृह अस्पतालमा लेखा अधिकृतबाट काम सुरू गरेका उनी केही वर्षपछि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा आवद्ध भए ।
अनि सुरू भयो वित्तीय करियर
उनले आफू वित्तीय क्षेत्रमा काम गर्छु भनेर कहिल्यै सोचेका थिएनन् । उनको जीवनले नसोचेको मोड लियो । अन्य संस्थामा आवद्ध भइरहँदा एकदिन कान्तिपुर दैनिकमा बीमा कम्पनीले कर्मचारी मागेको विज्ञापन देखे । घरमा सल्लाह भयो । आवेदन दिएर हेरौं न त भन्ने लाग्यो उनलाई । लामो समयसम्म अन्तर्वार्ता भएन । पछि अन्तर्वार्तामा बोलाइयो । उनी उत्तीर्ण पनि भए ।
त्यतिबेलासम्म उनको इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव पटक्कै थिएन । उनी प्राविधिक क्षेत्रमा मात्र अनुभवी थिए । फाइनान्स पढेर सोही क्षेत्रमा आवद्ध रहेकोका उनलाई बीमामा आउन सजिलो पनि भयो । अहिले उनी बीमा क्षेत्रमा जानकार मात्र छैनन्, विज्ञता हासिल गरेका छन् ।
जिन्दगीमा जागिर खान्छु भनेर कहिय्यै नसोचेका उनलाई आज जागिरले नै शिखर चुमाएको छ । जागिरे जीवनमा प्रवेश गरिसक्दा पनि निरन्तरता दिन्छु भन्ने नलागेको उनी बताउँछन् ।
‘जागिर खाँदा पनि निरन्तरता दिने सोच थिएन । पछि इन्स्योरेन्सतिर आएँ । अहिले म यसैमा रमाएको छु । सन्तुष्ट छु’ उनले भने ।
इञ्जिनियर बन्ने अधुरो लक्ष्य
काठमाडौँको जयवागेश्वरी देवपतनमा जन्मेका बज्राचार्य यहीँका रैथाने हुन् । उनका परिवार नै व्यापारमा तल्लिन रहँदा उनीमात्र व्यावस्थापक बनेर उदाएका छन् । बज्राचार्यको सानैदेखिको सपना थियो– इञ्जिनियर बन्ने । तर परिस्थितिले उनलाई बीमा क्षेत्रमा धकेल्यो ।
उनले एसएलसी दिँदाताका कलेजहरू विरलै थिए । सरकारी कलेजमै निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था थियो । बज्राचार्यले २०४८ माघमा एसएलसी दिए, नतिजा असारमा आयो ।
त्यतिबेला इन्जिनियरिङका लागि ३ वर्षे ओभरसेयर कोर्ष पढ्नु पथ्र्यो । जसको लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा वर्षमा एक पटक मात्र भर्ना खुल्थ्यो । उनको एसएलसीको नतिजा आउनु अगावै वैशाखमा नै भर्ना खुलेको थियो । उनले त्यो वर्ष इन्जिनियरिङको कोर्ष पढ्न पाएनन् ।
त्यो समय खेर नफाल्नका लागि उनी व्यवस्थापन संकायमा भर्ना भए । समय सदुपयोगका लागि भर्ना भए पनि उनी नेपाल कमर्स क्याम्पस मीनभवनमा भर्ना भए । निरन्तर कलेज जान थाले पनि ।
अर्को वर्ष इन्जिनियरिङको भर्ना ढिला खुल्यो । संयोग कस्तो बन्यो भने इन्जिनियरिङको भर्ना र उनको परीक्षा सँगै भयो । परीक्षा दिने निर्णयमा पुगे । परीक्षा पनि दिए र नतिजा पनि राम्रो ल्याए ।
अब इन्जिनियरिङको लागि अर्को एक वर्ष पर्खनु पथ्र्यो । पर्खन चाहेनन् । अन्ततः उनी व्यवस्थापन संकायमा नै अध्ययन गरे । त्यसपछि भने उनको इन्जिनियर बन्ने गन्तव्य सधैँको लागि छुटिसकेको थियो ।
‘कर्म गर्दै जाने हो । जीवन सोचेको जस्तो हुँदैन भन्थे । मेरो जिन्दगीमा पनि लागू भएको छ । अगाडि जे काम आयो त्यहि गर्दै गएँ । मिहेनत गर्दै गएँ । इमान्दारितामा काम गरेको प्रतिफल पाएँ’ उनले भने ।
अहिले उनले प्रभू इन्स्योरेन्सलाई प्रतिस्पर्धी मात्र बनाएका छैनन् । कम्पनीले थप उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । गन्तव्यमा आउने हरेक चुनौती र प्रतिस्पर्धालाई सहज रूपमा स्वीकार्दै अगाडि बढेका छन् ।
बीमा क्षेत्रमा बीमाबारे बुझाउन नसक्नु नै अहिलेको चुनौती रहेको उनी बताउँछन् । आम जनमानसलाई बीमाको महत्व बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।