नेपाली बीमा क्षेत्रले बढाउँदै रोजगारी, एकैवर्ष थपिए झन्डै तीन सय कर्मचारी
काठमाडौं । बीमा क्षेत्रमा झन्डै ३ जना कर्मचारी थपिएका छन् । एक वर्षको अवधिमा २९१ जना कर्मचारीहरु बीमा क्षेत्रमा जोडिएका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार गत वर्षको असोज मसान्तसम्मा बीमा कम्पनीहरुमा ११ हजार ५०८ जना कर्मचारीहरु थिए । तर, एक वर्ष २.५३ प्रतिशत अर्थात् २९१ जना कर्मचारी थपिएका हुन् । हाल बीमा कम्पनीहरुका ११ हजार ७९९ जना कर्मचारी छन् ।
नेपालमा हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । यता, चार वटा लघुनिर्जीवन र तीन वटा लघुजीवन बीमा कम्पनी संचालनमा छन् ।
अघिल्ला वर्षहरुमा आर्थिक मन्दी र मर्जरका कारण बीमा कम्पनीहरुमा कर्मचारीहरुको संख्या घट्दै गएको थियो । कम्पनीहरुको व्यवसायमा पनि सुस्ताता छाएको थियो । तर, पछिल्लो समय भने विस्तारै आर्थिक गतिविधि बढ्न थालेसँगै कम्पनीहरुले कर्मचारी थप्ने र शाखा विस्तार गर्ने क्रमलाई निकै जोड दिएका छन् ।
हाल जीवन बीमा कम्पनीहरुमा ५ हजार ८६५ जना र निर्जीवन बीमा तर्फ ५ हजार ९५४ जना कर्मचारी छन् ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा धेरै कर्मचारी थपिएका छन् । सो अवधिमा ४.३१ प्रतिशत अर्थात् २४५ जना कर्मचारी थपिएका हुन् । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुसँग ५ हजार ६८९ जना कर्मचारी आवद्ध थिए ।
यता, जीवन बीमा कम्पनीहरुमा भने ४६ जना मात्रै कर्मचारी थपिएका छन् । गत आवको असोज मसान्तसम्म कम्पनीहरुसँग ५ हजार ८१९ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५ हजार ८६५ जना पुगेका छन् ।
थपिए १७३ वटा कार्यालय
सो अवधिमा डेढ सय बढी कार्यालयहरु थपिएका छन् । बीमा कम्पनीहरुको कार्यालय ६.१२ प्रतिशत वृद्धि भएको छ । हाल कम्पनीहरुको कार्यालयको संख्या २ हजार ९९८ वटा छन् । जबकि गत आवको पहिलो त्रैमासमा कम्पनीहरुसँग २ हजार ८२५ वटा कार्यालय रहेका थिए ।
कार्यालय विस्तारमा पनि निर्जीवन बीमा कम्पनीहरु नै अगाडि देखिएका छन् । एक वर्षमै कम्पनीहरुले थप १३९ वटा कार्यालय थपेका छन् । योसँगै निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार १५८ पुगेको छ ।
यता, जीवन बीमा कम्पनीहरुको कार्यालय भने १ हजार ८४० छ । यो गत आवको तुलनामा १.८८ प्रतिशत अर्थात् ३४ वटा मात्रै बढी हो । गत आवको पहिलो त्रैमासमा जीवन र निर्जीवन बीमा कम्पनीहरुको क्रमशः १ हजार ८०६ र १ हजार १९ वटा कार्यालयहरु थिए ।