सूर्यज्योति लाइफले कमायो साढे ११ करोड नाफा, व्यवसाय दोहोरो अंकले बढ्यो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सूर्यज्योति लाइफले कमायो साढे ११ करोड नाफा, व्यवसाय दोहोरो अंकले बढ्यो



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साढे ११ करोड खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २.५१ प्रतिशत मात्रै बढी हो । गत आवको सो अवधिमा पनि कम्पनीले ११ करोड ३५ लाख ५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि दोहोरो अंक बढेर २ अर्ब ४५ करोड ८७ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो बीमा शुल्क २ अर्ब २३ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यस्तै, कम्पनीको कुल आम्दानी पनि १३.३७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड २५ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यता, कुल खर्च भने ३ अर्ब ३६ करोड ९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

गत आवको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । तर, चालु आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख ३६ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ । महाविपत्ति कोषमा ३७ करोड ७९ लाख रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्