१९.५० प्रतिशत बढ्यो आइजीआई प्रुडेन्सियलको नाफा, इपिएस पनि वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले वृद्धि भएको छ । तीन महिनामै कम्पनीले ६ करोड बढी नाफा आर्जन गरेको छ ।
कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ६ करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १९.५० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
तीन महिनामा कम्पनीले २२ करोड ४७ लाख ८१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । तर, यो गत आवको सो अवधिको तुलनामा ०.२३ प्रतिशत कमी हो । समिक्षा अवधिमा कम्पनीको आम्दानी भने ७.६४ प्रतिशत वृद्धि भई ४५ करोड ९३ लाख ९६हजार रुपैयाँ पुगेको छ । यता, खर्च पनि ५.१९ प्रतिशत बढेर ३७ करोड २१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
समिक्षा कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ । यो गत आवको तुलनामा ४.९४ प्रतिशत बढी हो ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि १.३२ रुपैयाँ बढेर ८.०६ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजाी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ राखेको छ । यस्तै, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ राखेको छ।