बाढी, पहिरोले निर्जीवन बीमा कम्पनीको नाफामा ठुलो धक्का, सलिकोसहित चार वटा नोक्सानीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बाढी, पहिरोले निर्जीवन बीमा कम्पनीको नाफामा ठुलो धक्का, सलिकोसहित चार वटा नोक्सानीमा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । कम्पनीहरुको नाफा भारी गिरावट आएको छ ।

जीवन बीमा कम्पनीहरुको नाफा १८.६२ प्रतिशत वृद्धि भएता पनि निर्जीवन बीमा कम्पनको भने औसतमा ८६ प्रतिशत घटेको छ । चालु आवको पहिलो त्रैमासमा आधा दर्जन कम्पनीको नाफा मात्रै वृद्धि भएको छ । तर, चार वटा कम्पनीको नाफा घटेको छ भने चार वटा कम्पनी नोक्सानीमै देखिएका छन् ।

गत आवको पहिलो त्रैमासमा कम्पनीहरुको नाफा १ अर्ब १९ करोड १६ लाख रुपैयाँ नाफा कमाएका थिए । तर, यो वर्षको सोही अवधिमा भने कम्पनीहरुको नाफा १६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ ।

व्यापारमा ठुलो हिस्सा ओगट्ने सगरमाथा लुम्बिनी (सलिको) लगायतका चार कम्पनी नोक्सानीमा छन् । त्यसैले पनि कम्पनीहरुको नाफा ग्रोथ हुन् नसकेको हो ।

समिक्षा अवधिमा ओरियण्टल इन्स्योरेन्स, २४ करोड ५१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै, नेशनलले १८ करोड ३ लाख, सलिको ८ करोड ९५ लाख र युनाईटेड अजोड १ करोड ८१ लाख रुपैयाँ घाटामा छन् । चालु आवको पहिलो त्रैमासमा देशभर अविरल वर्षाका कारण आएको बाढी पहिरोले ठुलो क्षति पुर्याको थियो ।

गत विशेषगरि गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी पहिरोले ठुला ठुला जलविद्युत आयोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो । समिक्षा अवधिमा प्राकृतिक विपत्ति बाढी पहिरोका कारण कम्पनीहरुले क्षतिपुर्ति बापत बीमा दावी भुक्तानी गर्नुपरेकाले पनि कम्पनीहरु नाफा प्रभावित भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गतेसम्मको आँकडाअनुसार बाढी पहिरो तथा प्राकृतिक प्रकोपको क्षतिबाट कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको दावी परेको छ । त्यसमध्ये कम्पनीहरुले ४७ करोड ११ लख ५८ हजार दावी भुक्तानी गरेका छन् ।यसरी भुक्तानीको परिमाण बढाएपछि नाफा प्रभावित हुन पुगेको कम्पनीहरु बताउँछन् ।

यति बेला कम्पनीहरुले बाढी पहिरोकै दावी भुक्तानी धमाधम गरिरहेका छन् । विशेषगरि प्राकृतिक विपत्तिले निम्त्याएको क्षतिका कारण पनि कम्पनीहरुको अपेक्षित नाफा नभई घाटा व्यहोर्न पुगेका हुन् । गत आवको पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्सले २१ करोड ६० लाख, सलिकोले ५ करोड ७० लाख, युनाईटेड अजोडले ३ करोड ८६ लाख र ओरियण्टलले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

राष्ट्रिय बीमा कम्पनीले कमायो सर्वाधिक, सानिमा जिआईसीको उच्च ग्रोथ

समिक्षा अवधिमा सर्वाधिक नाफा राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । तीन महिनामा कम्पनीले १५ करोड ६५ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १३.७३ प्रतिशत धेरै हो ।

सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्सले पनि ११ करोड ५२ लाख कमाएको छ ।

नाफा वृद्धिदरमा भने सानिमा जिआइसी तगडा देखिएको छ । समिक्षा अवधिमा कम्पनीको नाफा ५०.५९ प्रतिशत बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, हिमालयन एभरेष्टले २३.७२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १९.४९ प्रतिशत, प्रभु इन्स्योरेन्सले १०.५४ प्रतिशत नाफा बढाएका छन् ।

यता, एनएलजी इन्स्योरेन्सले ४ करोड ८९ लाख, नेकोले ७ करोड ४ लाख र सिद्धार्थ प्रिमियरले ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् । तर, गत आवको तुलनामा भने ५.१५ प्रतिशत, १९.९६ प्रतिशत र ५४.३ प्रतिशत कमी हो ।

कसको नाफा, घाटा कति ?


प्रतिक्रिया दिनुहोस्