अभिकर्ता प्रोत्साहनमा सन नेपाल र नेशनल लाइफ अगाडि, आधा दर्जन कम्पनीले घटाए कमिसन

काठमाडौं । आधा दर्जन जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसन खर्च घटाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ वटा कम्पनीहरुको यस्तो खर्च घटेको छ ।
समिक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता कमिसन खर्च १५.६८ प्रतिशत घटेर ११ करोड ३९ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको यस्तो खर्च १३ करोड ५१ लाख बढी थियो ।
यस्तै, एलआइसी नेपालको यस्तो शीर्षकको खर्चमा पनि ६.१८ प्रतिशत घटेर २८ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन लाइफको अभिकर्ता कमिसन खर्च पनि ४.७१ प्रतिशत, राष्ट्रिय जीवन बीमाको ३.७३ प्रतिशत, मेट लाइफको २.६ र सानिमा रिलायन्स ०.८२ प्रतिशत घटेको छ । समिक्षा अवधिमा यी कम्पनीहरुले क्रमशः ३४ करोड ३२ लाख, ४ करोड ८६ लाख, ११ करोड ९४ लाख र १४ करोड ९९ लाख रुपैयाँ खर्चिएका छन् ।
चालु आवको पहिलो त्रैमासमा कुल १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको कमिसनका लागि ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खर्चिएको छ । तर, यो २.२३ प्रतिशत मात्रै बढी हो । गत आवको सो अवधिमा भने ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ खर्चिएका थिए । कम्पनीको समग्र व्यापारमा वृद्धिदर न्युन छ । आर्थिक शिथिलता कायमै रहेकाले कम्पनीहरुको व्यापारमा खास सुधार हुन सकिरहेको छैन । त्यसकै प्रभाव अभिकर्ता कमिसन दबाबमा देखिएको हो ।
अभिकर्ता कमिसन खर्च वृद्धिदरमा सन नेपाल लाइफ अगाडि छ । समिक्षा अवधिमा कम्पनीको यस्तो खर्च ११.९९ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेशनल लाइफको पनि ९.३५ प्रतिशत बढेर ४२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यता, सूर्यज्योतिले पनि ६.६४ प्रतिशत, नेपाल लाइफले ६.४ प्रतिशत, रिलायवल नेपालले ५.२७, सिटिजनले ५.१२, एशियनले ३.८३ र आइएमई लाइफले १.०४ प्रतिशत वृद्धि भएको छ ।
रकमका आधारमा सबैभन्दा धेरै खर्च नेपाल नेपाल लाइफको ८७ करोड १२ लाख खर्चिएको छ । यस्तै, दोस्रोमा नेशनल लाइफको ४२ करोड ६१ लाख र तेस्रो सूचीमा ३४ करोड ३२ लाख रुपैयाँ खर्चिएका छन् ।
