रोकिएन बीमा सरेन्डर लहर : ३६ हजार बीमितले त्यागे झन्डै पाँच अर्बको बीमा पोलिसी, कुनको कति ? « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

रोकिएन बीमा सरेन्डर लहर : ३६ हजार बीमितले त्यागे झन्डै पाँच अर्बको बीमा पोलिसी, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुमा कुल व्यापारको ९ प्रतिशत हाराहारीमा बीमा सरेन्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणका आँकडा अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) मा झन्डै ५ अर्ब बराबरको बीमा सरेन्डर भएको छ ।

चार महिनामा १४ वटा कम्पनीको ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । यो सो अवधिमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको ९.०४ प्रतिशत हो ।

चालु आवको पहिलो चार महिनामा कम्पनीहरुको व्यावसायका आकार ५३ अर्ब ३९ करोड ३२ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

बीमा पोलिसी सरेन्डर दर निरन्तर बढेको पाइन्छ । अवधि नसकिँदै बीमालेख त्याग्ने प्रवृत्तिमा खास सुधार देखिँदैन । हाल मासिक औसत १ अर्ब २० करोड हाराहारीमा बीमा सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । चालु आवको पहिलो महिना अर्थात् साउनमा १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको १) हजार २९२ वटा बीमालेख सरेन्डर भएको थियो ।

यस्तै, भदौमा १ अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख र असोजमा १ अर्ब ५० लाख ६६ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका थिए ।

चालु आवको कात्तिक मसान्तसम्ममा ३५ हजार ९८५ वटा बीमालेख बीमितले अवधि नपुग्दै त्यागेका छन् । बीमितले निश्चित अवधि तोकेर बीमा गर्ने गर्छन् । तर, बीमा अवधिमा नसकिँदै बीमितले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन्, त्यसलाई सरेन्डर भनिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेखको संख्या र सरेन्डर रकम बढ्दो नै छ ।

कतिपय बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्यामा बढेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कति बीमितले भने आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने पनि गर्छन् । हाल प्राधिकरणले ३ वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेको छ ।

कुल सरेन्डरमा नेपाल लाइफ र एलआइसी नेपालको मात्रै ६१ प्रतिशत, कुन कम्पनीको कति ?

सरेन्डर रकम लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल र नेपाल लाइफको सर्वाधिक छ । कुल सरेन्डरमा यी दुई कम्पनीको मात्रै ६१.०९ प्रतिशत छ ।

प्राधिकरणका अनुसार एलआइसी नेपालको कुल १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको १० हजार ४८ वटा पोलिसी बन्द भएका छन् । यो कुल सरेन्डर रकममा ३२.६४ प्रतिशत हुन् आउँछ ।

यता, नेपाल लाइफका ८ हजार ४०८ वटा बीमालेख बन्द भएका छन् । चार महिनामा नेपाल लाइफको १ अर्ब ३७ करोड ४० लाख ४५ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको हो । यो कुल सरेन्डरमा २८.४५ प्रतिशत हुन आउँछ ।

चार महिनामा राष्ट्रिय जीवन बीमाको ३७ कारेड ४१ लाख रुपैयाँ बराबरको ३ हजार ८७५ वटा बीमालेख, नेशनलको २९ करोड ३१ लाख बराबरको १ हजार ६२३, एशियनको २७ करोड ९६ लाख बराबरको २ हजार ६२३ वटा, सूर्यज्योतिको २३ करोड ११ लाख बराबरको १ हजार ९१० वटा, हिमालयनको २२ करोड ७४ लाख बराबरको २ हजार ४९८ वटा र मेट लाइफको १३ करोड ५३ लाख रुपैयाँ बराबरको १ हजार २४५ वटा बीमालेख सरेन्डर भएका छन् ।

यस्तै, सानिमा रिलायन्स लाइफको ९ करोड ३१ लाख, आइएमई लाइफको ६ करोड ५४ लाख, सिटिजनको ६ करोड ५२ लाख, प्रभू महालक्ष्मीको ५ करोड ४९ लाख, रिलायवल नेपालको ३ करोड ६३ लाख र सन नेपाल लाइफको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएका छन् ।


प्रतिक्रिया दिनुहोस्