सेयर बजारमा लगानी बढाउन आक्रमक देखिए बीमा कम्पनी : एकै वर्ष थपे १४ अर्ब, कसको कति ? « Arthapath.com
३० मंसिर २०८१, आईतवार

सेयर बजारमा लगानी बढाउन आक्रमक देखिए बीमा कम्पनी : एकै वर्ष थपे १४ अर्ब, कसको कति ?



काठमाडौं । सेयर बजारमा लगानी बढाउन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् ।

हाल २८ वटा ठुला बीमा कम्पनीहरु संचालनमा छन् । जसमध्ये १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन्, ती कम्पनीहरुले एकै वर्ष १४ अर्ब लगानी सेयर बजारमा थपेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हाल कम्पनीहरुको सेयर बजारमा कुल २८ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ लगानी छन्, यो गत आवको पहिलो त्रैमासको तुलनामा ९७.०३ प्रतिशत हो । एक वर्षको अवधिमा कम्पनीहरुले १४ अर्ब २४ करोड ६४ लाख रुपैयाँ लगानी बढाएका हुन् । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी गरेका थिए ।

हाल बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् । बीमा प्राधिकरणले हाल कम्पनीहरुलाई पुँजीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

चालु आवको पहिलो तीन महिनामा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा ७ खर्ब ४४ अर्ब ९३ करोड २७ लाख रुपैयाँ लगानी गरेका छन्, त्यसको ३.८८ प्रतिशत भने सेयर बजारमा खन्याएका छन् ।

जीवन बीमा कम्पनी कम्पनी आक्रामक, लगानी दोब्बर बढाए

सेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी दोब्बर बढेको छ । एक वर्षको अवधिमा कम्पनीहरुको लगानी ११५.८८ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ११ अर्ब ५१ करोड ८० लाख रुपैयाँ लगानी गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने बढेर २४ अर्ब ८६ करोड ५३ हजार रुपैयाँ पुर्याएका छन् । सो अवधिमा कम्पनीहरुले १३ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ लगानी सेर बजारमा थपेका हुन् ।

सो अवधिमा राष्ट्रिय जीवन बीमा बाहेक सबैको लगानी वृद्धि भएको छ । राष्ट्रिय जीवन बीमाको लगानी २ अर्ब १५ करोड ९४ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनी सोही रकम रहेको थियो ।

रकमको आधार सबैभन्दा ठुलो लगानी हिमालयन लाइफको ७ अर्ब ६ करोड रुपैयाँ देखिएको छ । कम्पनीले यस्तो लगानी २४६ प्रतिशत बढाएको छ ।

यस्तै, नेपाल लाइफको सेयर बजारमा लगानी ३ अर्ब ३३ करोड ७३ लाख, सूर्यज्योतिको २ अर्ब ३५ करोड ५२ लाख, एलआइसी नेपालको २ अर्ब १ करोड रुपैयाँ लगानी देखिएको छ ।

सेयर बजारमा लगानी बढाउन भने सिटिजन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल अगाडी देखिएका छन् । समिक्षा अवधिमा यी कम्पनीहरुको सेयर बजारमा लगानी क्रमशः ११४८.७८ प्रतिशत, ८९३.७८ प्रीतशत, ४११.०८ प्रतिशत बढाएका छन् । यता, सन नेपाल लाइफको लगानी पनि २८८.२५ प्रतिशत, सानिमा रिलायन्सको ८९.७१ प्रतिशत, प्रभू महालक्ष्मीले ४३ प्रतिशत बढाएका छन् ।

चार वटा निर्जीवन बीमा कम्पनीले घटाए सेयर बजारमा लगानी, तीन कम्पनी आक्रामक

प्राधिकरण अनुसार सो अवधिमा निर्जीवन बीमा कम्पनीको सेयर बजारमा लगानी २८.४२ प्रतिशत बढेर ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

अधिकांशले लगानी बढाएता पनि चार वटा निर्जीवन बीमा कम्पनीहरुले सेयर बजारमा लगानी घटाएका छन् । समिक्षा अवधिमा प्रभू इन्स्योरेन्सको ५५.४७ प्रतिशत, शिखरको १९.८५ प्रतिशत, सिद्धार्थको ९.१२ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.४१ प्रतिशत घटेको छ ।

यी बाहेकका अन्य कम्पनीहरुले भने बजारमा लगानी वृद्धि गरेका छन् । सेयर बजार लगानी बढाउन सानिमा जिआइसी, आइजीआई प्रुडेन्सियल, एनएलजी र नेको इन्स्योरेन्स आक्रामक देखिएका छन् । समिक्षा अवधिमा यी कम्पनीहरुले लगानी क्रमशः ४८८.६१ प्रतिशत, ४३९.८५प्रतिशत, १७३.०९ प्रतिशत र ९४.३८ प्रतिशत बढाएका छन् ।

रकमको आधारमा सबैभन्दा धेरै लगानी राष्ट्रिय बीमा कम्पनीको ७९ करोड ४१ लाख रुपैयाँ देखिएको छ । यता, नेकोको पनि ६२ करोड २२ लाख, आइजीआई प्रुडेन्सियलको ५२ करोड १० लाख, सिद्धाथ प्रिमियरको ५० करोड ८६ लाख रुपैयाँ लगानी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्