जीवन बीमा व्यवसायको आकार साढे ६५ अर्ब: वृद्धिदरमा रिलायवल र सिटिजन तगडा, कसले कति उठाए प्रिमियम ?

काठमाडौं । जीवन बीमा व्यवसायको आकार साढे ६५ अर्ब नाघेको छ । कम्पनीहरुले व्यापार पनि साढे ६ प्रतिशत बढाएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
प्राधिकरणका अनुसार पाँच महिनामा १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने ६.४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
पाँच महिनामा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क मार्फत १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ र वैदेशिक रोजगार मार्फत १ अर्ब १८ करोड ९७ लाख र नविकरण मार्फत ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
समिक्षा अवधिमा अधिकांश कम्पनीहरुले व्यापार बढाएका छन् । तर, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन भनेको घटेको छ । समिक्षा अवधिमा यी दुई कम्पनीको व्यापार क्रमशः ०.११ प्रतिशत र ५०.१० प्रतिशत घटेर ६ अर्ब ७९ करोड १४ लाख र २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ ।
व्यवसायमा नेपाल लाइफकै वर्चश्व कायमै देखिएको छ । पाँच महिनामा कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको २८.५४ प्रतिशत हुन आउँछ । गत आवको तुलनामा नेपाल लाइफको व्यवसाय ११.९६ प्रतिशत वृद्धि भएको छ ।
यस्तै, नेशनल लाइफले पनि ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएको छ । कम्पनीले सो अवधिमा ११.५१ प्रतिशत व्यापार ग्रोथ गरेको देखिन्छ । रकमको आधारमा तेस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एकलआइसी) ले पनि ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
व्यवसाय वृद्धिदरको आधारमा रिलायवल नेपाल पहिलो सूचीमा छ । कम्पनीको बीमा शुल्क आर्जन २५.४४ प्रतिशत वृद्धि भई १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, दोस्रो सूचीमा रहेको सिटिजन लाइफको पनि १८.५९ प्रतिशत वृद्धि भई २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । यता, प्रभू महालक्ष्मी लाइफको व्यापार पनि १५.९० प्रतिशत, आइएमई लाइफको १५.७० पव्रतिशत र सूर्यज्योतिको १५.५७ प्रतिशत वृद्धि भई क्रमशः १ अर्ब ९४ करोड २५ लाख, १ अर्ब ८९ करोड ४९ लाख र ३ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा एशिन लाइफको व्यवसाय पनि ११.०९ प्रतिशत वृद्धि ३ अर्ब ३६ करोड ४ लाख, सानिमा रिलायन्सको ९.६३ वृद्धि भई २ अर्ब ५८ करोड ७५ लाख, सन नेपालको ८.७१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ५६ लाख, मेट लाइफको ६.३५ प्रतिशत बढेर २ अर्ब ३३ करोड २० लाख रुपैयाँ कायम भएको छ ।