बीमा व्यवसायको बढ्दो ग्राफ: साढे ८३ अर्ब नाघ्यो समग्र आकार, व्यापार बढाउन जीवनभन्दा निर्जीवन एग्रेसिभ « Arthapath.com
१४ पुष २०८१, आईतवार

बीमा व्यवसायको बढ्दो ग्राफ: साढे ८३ अर्ब नाघ्यो समग्र आकार, व्यापार बढाउन जीवनभन्दा निर्जीवन एग्रेसिभ



काठमाडौं । बीमा व्यवसायको आकार सवा ६ अर्ब बढेको छ । योसँगै नेपाली बीमा व्यवसायको कुल आकार साढे ८३ अर्ब नाघेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

पाँच महिनामा बीमा कम्पनीहरुले कुल ८३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा ७.४४ प्रतिशत अर्थात् ६ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल ७७ अर्ब ५० करोड ६९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन बीमा कम्पनी संचालनमा छन् । यस्तै, तीन वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् ।

आर्थिक शिथिलताका कारण नेपाली बीमा व्यवसाय प्रभावित भएको थियो । व्यवसायसँगै नाफा पनि प्रभावित भएको थियो । तर, हाल विस्तारै आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा कम्पनीहरुको व्यसायमा पनि क्रमिक सुधार देखिएको छ । आर्थिक संकटकै कारण आम मानिसहरुको आय स्रोत गुम्दै गएको थियो । कोरोना महामारी र प्राकृतिक विपदले नेपाली बीमा बजार सुस्ताएको थियो । अहिले विस्तारै आर्थिक क्रियाकलाप चलायमान हुँदै गएको छ । निर्माण क्षेत्र, व्यवसाय तथा बैंकिङ्ग क्षेत्रमा पनि क्रमिक रुपमा सकरात्मक सुधार देखिन थालेको छ । जसले नेपाली बीमा व्यवसायलाई थप उकालो यात्रामा अघि बढाइरहेको छ ।

प्राधिकरणका अनुसार व्यवसाय वृद्धिदरमा निर्जीवन बीमा अगाडि देखिएको छ । निर्जीवन बीमा व्यवसाय ११.२२ प्रतिशत वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले कुल १२ लाख ७० हजार ६५७ वटा निर्जीवन बीमालेख बिक्री गरि कुल १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ बढी हो । गत वर्षको पहिलो पाँच महिनामा कम्पनीहरुले ११ लाख ७२ हजार ४४७ वटा निर्जीवन बीमालेख बिक्री गरेका थिए ।

यता, जीवन बीमा व्यवसायभ ने ७.१० प्रतिशत मात्रै वृद्धि भएको छ । गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीहरुमा कुल १ करोड ३८ लाख ३८ हजार ८७७ वटा जीवन बीमालेख सक्रिय छन् । यद्यपि, यो गत आवको तुलनामा ०.५५ प्रतिशत मात्रै बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुसँग कुल १ करोड ३७ लाख ६२ हजार ५५३ वटा बीमालेख सक्रिय थिए ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क आर्जन) मा भने उल्लेख्य सुधार देखिन्छ । समिक्षा अवधिमा यस्तो व्यवसाय २८.०२ प्रतिशत वृद्धि भएको छ । गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर १४ अर्ब ६ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, चालु आवको पाँच महिनामा कम्पनीहरुले नविकरण मार्फत ५२ अर्ब ८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुको यस्तो बीमा शुल्क गत आवको तुलनामा भने २.५८ प्रतिशत मात्रै धेरै हो ।

हाल बीमाको दायरमा आएको जनसंख्या ४३.०२ प्रतिशत पुगेको छ । यस्तै, हाल बीमा क्षेत्रमा आवद्ध कर्मचारीहरुको संख्या पनि एकै वर्ष ३७० जना थपिएका छन् । हाल जीवन बीमा कम्पनीहरु कर्मचारीको संख्या ५ हजार ८८२ जना र निर्जीवन बीमामा ५ हजार ९३६ गरि कुल ११ हजार ८१८ जना पुगेको छ । कर्मचारी बढाउन निर्जीवन बीमा अघि देखिएको छन् । यो बीचको अवधिमा थपिएका कर्मचारी मध्ये निर्जीवन तर्फ २९३ जना छन् । यता, जीवन बीमामा भने ७७ जना कर्मचारी थपिएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्