मोटर र सम्पत्ति बीमा व्यवसायको आकार बढ्दै, कृषि र हवाई बीमाको व्यापार घट्यो

काठमाडौं । निर्जीवन बीमामा आधा हिस्सा ओगटेका मोटर सम्पत्ति बीमा व्यवसाय बढेको छ । निर्जीवन बीमा व्यवसायमा यी दुई बीमाको हिस्सा ५८ प्रतिशत बढी छ ।
पछिल्लो समय यी बीमा व्यवसायको आकार बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ११.२२ प्रतिशत बढी हो । गत आवको पहिलो मंसिरमा भने कम्पनीहरुले १० अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार कृषि तथा बाली र हवाई बीमा बाहेक सबै बीमा व्यवसाय बढेको देखिन्छ । समिक्षा अवधिमा कृषि तथा बाली बीमा २.९२ प्रतिशत घटेको छ भने हवाई बीमा ६.८७ प्रतिशत घटेरको छ । चालु आवको पहिलो पाँच महिनामा यी बीमा मार्फत कम्पनीहरुले क्रमशः ७७ करोड ३ लाख र ९३ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
तर, व्यवसायमा सबैभन्दा ठुलो हिस्सा रहेको मोटर बीमा भने बढेको छ । समिक्षा अवधिमा यस्तो बीमा ५.६३ प्रतिशत वृद्धि भएको छ । चालु आवको पाँच महिनामा कम्पनीहरुले मोटर बीमा मार्फत ५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३२.०३ प्रतिशत छ । पाँच महिनामा कम्पनीहरुले ६ लाख ३७ हजार ९६३ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।
यता, दोस्रो ठुलो हिस्सा आगटेको सम्पत्ति बीमा व्यवसाय पनि दोहोरो अंकमा वृद्धि भएको छ । गत वर्षको मंसिर मसान्तसम्मको तुलनामा यस्तो व्यवसाय १६.५४ प्रतिशत वृद्धि भई ४ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको २६.१६ प्रतिशत हुन आउँछ । पाँच महिनामा कम्पनीहरुले १ लाख ९७ हजार ५५० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।
नेपालमा सम्पत्ति र मोटर बीमालाई कानुनी रुपमै अनिवार्य गरिएको छ । सरकारले मोटर बीमा सम्पत्ति बीमालाई अनिवार्य गरेकाले नै यी बीमा व्यवसाय बढ्दो देखिएको हो । यता, बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा अनिवार्य गरिएको छ । यसले पनि कम्पनीहरुले मोटर र सम्पत्ति बीमामै बढी केन्द्रित देखिन्छन् ।
यता, कम्पनीहरुको लघुबीमा व्यवसाय पनि व्यापाक मात्रा विस्तार गरेका छन् । लघुबीमा ८५२ प्रतिशत वृद्धि भई ३४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, इन्जिनियरिङ्ग तथा ठेक्का जोखिम बीमा व्यवसाय पनि १७.५२ प्रतिशत वृद्धि भएको छ । चालु आवको पाँच महिनामा कम्पनीहरुले यस्तो बीमा मार्फत २ अर्ब ३० करोड ९८ लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा यस्तो बीमाको हिस्सा १३.१८ प्रतिशत छ ।

बागमती प्रदेशमै गर्छन् ६६ प्रतिशत व्यवसाय, कहाँबाट कति उठ्यो बीमा शुल्क ?
निर्जीवन बीमा कम्पनीहरुको आधा बढी व्यवसाय बागमती प्रदेशमै केन्द्रित छ । बागमती प्रदेशबाट नै कम्पनीहरुले ६६.३७ प्रतिशत बीमा शुल्क उठाउँछन् ।
चालु आवको पाँच महिनामा बागमती प्रदेशबाट ११ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको मंसिर महिनाको तुलनामा भने १३.२३ प्रतिशत बढी हो । सो प्रदेशमा कम्पनीहरुले ५ लाख ६१ हजार १७५ वटा बीमालेख बिक्री गरेका छन् ।
बागमतीपछि कम्पनीहरुले लुम्बिनी प्रदेश धेरै व्यापार गरेका छन् । सो प्रदेशमा कम्पनीहरुले ९.१२ प्रतिशत व्यापार गरेका छन् । चालु आवको पाँच महिनामा कम्पनीहरुले १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको तुलनामा ६.३१ प्रतिशत बढी हो ।
यस्तै, कोशी प्रदेशबाट १ अर्ब ५१ करोड ५६ लाख, मधेशबाट १ अर्ब २० करोड, गण्डकीबाट ९६ करोड २५ लाख, सुदुरपश्चिमबाट ४५ करोड २५ लाख र कर्णालीबाट १५ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरको छन् । कुल व्यवसायमा यी प्रदेशहरुको योगदान क्रमशः ८.६५ प्रतिशत, ८.८५ प्रतिशत, ५.४९ प्रतिशत, २.५८ प्रतिशत र ०.९० प्रतिशत छ ।
