भव्य बन्य रुपमा सम्पन्न भयो नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२५’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अचिभर्स अवार्ड भव्यताका साथ सम्पन्न गरेको छ।
कम्पनीले गत शनिबार सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रममा सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग उनको भनाई थियो । नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने उनको भनाई छ ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको जानकारी गराए । तर, बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने उनको दावी छ । बीमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने उनको विश्वास छ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको बताए । आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन अभिकर्तालाई उनले आग्रह गरे ।
अभिकर्ताकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए । उनले अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको बताए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे । आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताए ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको दावी गरे । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखि राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरु प्रतिबद्ध रहेको बताए ।