बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको चम्केला भाग्य ? « Arthapath.com
११ माघ २०८१, शुक्रबार

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको चम्केला भाग्य ?



काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार शुक्रबार कार्यालय समय सकिँदासम्म उक्त संख्यामा आवेदन प्राप्त भएको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा खामबन्दि गरिएका आवेदनहरु जम्मा भएको छ । ‘एउटै फाइल एक–डेढ किलोका छन्’, महाशाखाका एक अधिकारीले भने ।

अर्थमन्त्रालयका प्रवक्ता महेश्वर भट्टराईले पनि अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिको बैठक नबसेसम्म आवेदकहरुको विस्तृत विवरण प्राप्त नहुने बताएका थिए ।

सिद्धबाबा सुरुङ मार्ग छिचोल्ने समारोहमा भाग लिन योजना आयोगका उपाध्यक्ष एवम् छनोट समितिका संयोजक शिवराज अधिकारी पाल्पा गएका छन् । उनी साँझसम्म काठमाडौँ फर्किएर बैठक बस्यो भने आजै बेलुका, नभए आइतबार मात्रै आवेदकहरुको विस्तृत विवरण बाहिर आउने प्रवक्ता भट्टराईले जानकारी दिएका थिए । तर, साँझ भने १२ वटा आवेदकको नाम प्रकाशन गरिएको छ ।

आवेदन दिनेमा तत्कालिन बीमा समिति (प्राधिकरण)कै पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र प्राधिकरणकै निर्देशक कमलराज रेग्मी रहेका छन् ।

यस्तै, अध्यापक, पत्रकार, कानून व्यवसायी एवम् विभिन्न निजी प्रतिष्ठानहरुमा उच्च व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका शरद ओझा तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक रहेका दामोदर बसौलाको नाम सार्वजनिक भएको छ ।

नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनीले पनि आवेदन दिएका छन् । त्यस्तै, डा. देवराज रोका, रमण नेपाल, विनोद काजी श्रेष्ठ, विक्रान्त पाण्डे, डिम प्रसाद पौडेल, बुद्ध काजी श्रेष्ठ रहेका छन् ।

योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयका सचिव रामप्रसाद घिमिरे सदस्य छन् भने र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझालाई राखिएको छ । उक्त समितिले पुस २६ गते एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरुले १५ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन बुझाउन भनेको थियो ।

उक्त म्याद आज शुक्रबार सकिएको छ । अब समितिले आवेदक मध्येबाट उनीहरुो योग्यता र कार्ययोजनालाई हेरेर तीन जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्ने छ । तिनै ३ जनामध्येबाट कोही एक जनालाई मन्त्री परिषदले प्राधिकरण अध्यक्ष नियुक्त गर्ने छ ।

सच्याइएकोः यसअघि प्रकाशित समाचारमा ‘*१२ जनाको आवेदन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्