व्यापार विस्तारमा आक्रामक बीमा कम्पनी: व्यवसायको आकार १ खर्ब नाघ्यो, दायरा पनि बढ्न थाल्यो

काठमाडौं । नेपाली बीमा बजारले सकरात्मक लय लिएको छ । एक वर्षको अवधिमै बीमा कम्पनीहरुको व्यापार झन्डै ९ अर्ब रुपैयाँ बढेको छ । ६ महिनामै कम्पनीहरुको व्यवसायको आकार १ खर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बीमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बराबरको ब्यापार गरेका छन् । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने ९.४२ प्रतिशत अर्थात् ८ अर्ब ८२ करोड १६ लाख रुपैयाँ बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए ।
केही महिनाअघिसम्म कम्पनीहरुको व्यवसाय ग्रोथमा खास सुधार आउन सकिरहेको थिएन । धेरै कम्पनीहरुको व्यवसाय प्रभावित भइरहेको थियो । आर्थिक शिथिलताका कारण व्यवसायसँगै कम्पनीहरुको नाफा समेत प्रभाव भएको थियो । तर, पछिल्लो महिनाहरुमा भने कम्पनीहरुको व्यवसाय क्रमिक रुपमा बढेको छ । आर्थिक गतिविधि बढ्नथालेसँगै कम्पनीहरुको व्यवसायको आकार पनि सकरात्मक रुपमा वृद्धि भएको छ ।
व्यवसाय बढाउन तातिए कम्पनीहरु, व्यवसाय वृद्धिदर उस्तै उस्तै
हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिदर करिब उस्तै उस्तै देखिन्छ । समिक्षा अवधिमा जीवन बीमा व्यवसायको आकार ९.३७ प्रतिशत वृद्धि भई ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।
जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय बढाउन निकै आक्रमक देखिएका छन् । समिक्षा अवधिमा कम्पनीहरुको नयाँ बीमा व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २८.७३ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले कुल ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको कुल व्यवसाय गरेका थिए । त्यसमध्ये १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने नयाँ व्यापार ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ बढेर १७ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क भने ४.९४ प्रतिशत बढाएका छन् । ६ महिनामा कम्पनीहरुको नविकरण बीमा शुल्क ६३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पुस मसान्तसम्ममा भने यस्तो बीमा शुल्क ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार जीवन बीमालेख बिक्री दर पनि २.०८ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा कम्पनीहरुले १ करोड ४० लाख ४१ हजार ३५३ वटा बीमालेख बिक्री गरेका छन् ।
यता, निर्जीवन बीमा व्यवसायको आकार पनि साढे ९ प्रतिशत वृद्धि भएको छ । ६ महिनामै कम्पनीहरुले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने ९.६० प्रतिशत बढी हो । गत आवको पहिलो ६ महिनामा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार निर्जीवन बीमालेख बिक्री दर पनि ८.१ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा कम्पनीहरुले १५ लाख ५७ हजार ७९० वटा बीमालेख बिक्री गरेका छन् । तर, गत आवको सोही अवधिमा भने कम्पनीहरुले १४ करोड ४१ लाख ४४९ वटा बीमालेख बिक्री गरेका थिए ।
व्यवसायसँगै बढ्यो बीमाको दायरा
व्यवसायसँगै बीमाको पहुँच पनि विस्तार भएको छ । अघिल्लो महिनासम्म घट्दो ट्रेन्डमा थियो । तर, अहिले भने विस्तारै बढ्न थालेको देखिन्छ ।
हाल ४३.६२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । जबकि, गत आवको दोस्रो त्रैमासमा ४३.०५ प्रतिशत मात्रै थियो । आर्थिक शिथिलताले कम्पनीहरुको व्यापार नै नकरात्मक असर गरिरहेको थियो । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायको आकार पनि घट्दो थियो । जसका कारण बीमाको दायरा पनि खुम्चिँदो नै थियो । तर, पछिल्लो समय भने केही आर्थिक गतिविधिसँगै कम्पनीहरुको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
प्राधिकरणका अनुसार गत मंसिरसम्म पनि ४३.०२ प्रतिशत जनसंख्या बीमाको दायारामा थिए । यस्तै, कात्तिकसम्म ४२.९२ प्रतिशत, असोजसम्म ४२.८४ प्रतिशत, भदौसम्म ४२.९२ प्रतिशत र साउनसम्म भने ४२.७० प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।
धमाधम थपिँदै बीमा क्षेत्रमा कर्मचारी, कम्पनीहरुले बढाए कार्यालय संख्या
पछिल्लो समय कम्पनीमा आवद्ध हुने कर्मचारीहरुको संख्या पनि उत्तिकै बढ्दो छ । गत वर्षको तुलनामा कम्पनी कर्मचारीको संख्या ३.५० प्रतिशत बढेको छ । एकै वर्ष ४०३ जना कर्मचारी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।
हाल जीवन बीमामा ५ हजार ९२६ जना र निर्जीवन बीमा ५ हजार ९७५ जना गरि कुल ११ हजार ९०१ जना कर्मचारी आवद्ध छन् । समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीमा ५.१९ प्रतिशत र जीवन बीमामा १.८६ प्रतिशत कर्मचारी बढेका हुन् ।
यता, कम्पनीहरुले कार्यालय संख्या पनि ४.६७ प्रतिशत बढाएका छन् । हाल मुलुकभर कम्पनीहरुको ३ हजार २ वटा कार्यालय स्थापित छन् । एक वर्षमा कम्पनीहरुले १३४ वटा कार्याल विस्तार गरेका हुन् । हाल जीवन बीमा कम्पनीको १ हजार ८४४ वटा र निर्जीवन बीमाको १ हजार १५८ वटा कार्यालय छन् ।