व्यापारमा शिखरलाई कसैले उछिन्न सकेनन्, बिजनेश ग्रोथमा नेपाल र ओरियण्टल एग्रेसिभ

काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीहरुको व्यवासय वृद्धि भएको छ । कम्पनीहरुले ४४ प्रतिशतसम्म बिजनेश ग्रोथ गरेका छन् । ७ महिनामा ठुला निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब बढीको व्यापार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा १४ वटा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ७.८० प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनीहरुले कुल १६ लाख २१ हजार ६७९ वटा बीमालेख बिक्री गरेका छन् ।
गत वर्षको तुलनामा चार वटा कम्पनीको व्यापार घटेको देखिन्छ । समिक्षा अवधिमा युनाईटेड अजोड, प्रभू, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यापार क्रमशः ७.९९ प्रतिशत, ४.९८ प्रतिशत, ३.३८ प्रतिशत र ०.१४ प्रतिशत घटेको छ । यी बाहेकका सबै कम्पनीहरुले भने बढाएका छन् ।
समिक्षा अवधिमा सर्वाधिक व्यापार बढाउनेको पहिलो सूचीमा नेपाल इन्स्योरेन्स छ । कम्पनीको व्यापार एक वर्षको अवधिमा ४४.१६ प्रतिशत वृद्धि भएको छ। गत आवको माघ मसान्तसम्ममा कम्पनीले ८७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर १ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, बिजेनश ग्रोथमा ओरियण्टल इन्स्योरेन्स पनि तगडा देखिएको छ । कम्पनीले एक वर्षको अवधिमा व्यापार ४३.६८ प्रतिशत बढाएर १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । यता, एनएलजीको व्यापार पनि १२.९२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेनस (सलिको) को ९.९३ प्रतिशत, शिखरको ८.१६ प्रतिशत , सिद्धार्थ प्रिमियरको ७.८२ प्रतिशत वृद्धि भएको छ।
रकमको आधारमा भने शिखर नै नम्बर वानको सूचीमा छ । ७ महिनामै कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको बीमा व्यापार गरेको छ । दोस्रो सूचीमा रहेको सलिकोले २ अर्ब ९३ कोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले पनि २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ, चौंथो स्थानमा रहेको आइजीआई प्रुडेन्सियलले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार नेको इन्स्योरेन्सले पनि १ अर्ब ९५ करोड, हिमालयन एभरेष्टले १ अर्ब ९२ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
कुन कम्पनीको व्यापार बढ्यो,कुनको घट्यो ? (रकम लाखमा)
