नेपाली बीमा बजारः व्यापार विस्तारमा एग्रेसिभ बने कम्पनी, १९ महिनापछि ‘डबल डिजीट’मा बिजनेश ग्रोथ « Arthapath.com
१५ फाल्गुन २०८१, बिहीबार

नेपाली बीमा बजारः व्यापार विस्तारमा एग्रेसिभ बने कम्पनी, १९ महिनापछि ‘डबल डिजीट’मा बिजनेश ग्रोथ



काठमाडौं । बीमा व्यवसायको आकार सवा खर्ब नाघेको छ । एक वर्षको अवधिमा नै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको आफ्नो व्यवासाय थप ११ अर्ब २७ करोड बढाएका छन् ।

पछिल्लो समय नेपाली बीमा व्यवसायले गतिलिन खोजेको देखिन्छ । समग्र बीमा क्षेत्रको व्यापार ग्रोथको आँकडा १९ महिनापछि दोहोरो अंकमा पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ७८ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन र ७ वटा लघुबीमा कम्पनीहरु संचालनमा छन् । यी कम्पनीहरुले ७ महिनाको अवधिमा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा भने १०.३० प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने कम्पनीहरुले १ खर्ब ९ अर्ब ५१ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा व्यवसायको १९ महिनापछि दोहोरोे अंकले वृद्धि भएको छ । कोभिड महामारी, आर्थिक शिथिलता लगायतको मारमा परेको बीमा क्षेत्र विस्तारै लयमा फर्किने संकेत गरिरहेको छ । गत आवको पहिलो पहिलोमा समग्र व्यवसाय २०.७४ प्रतिशत वृद्धि भएको थियो । त्यसपछिका महिनाको वृद्धिदर भने १० प्रतिशत कम नै देखिन्छ ।

आर्थिक शिथिलताका कारण प्रभावित भएको बीमा व्यवसाय विस्तारै सुधरोन्मुख छ । पछिल्लो महिनाहरुमा भने कम्पनीहरुको व्यवसाय क्रमिक रुपमा बढेको छ । पछिल्लो समय आर्थिक गतिविधि बढ्नथालेसँगै कम्पनीहरुको व्यवसायको आकार पनि सकरात्मक रुपमा वृद्धि भएको छ ।

प्राधिकरणका अनुसार चालु आवको पहिलो महिनामा त झन् २.९९ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तमा ३.१५ प्रतिशत, भदौमा ४.९७ प्रतिशत मात्रै ग्रोथ भएको थियो । त्यस बाहेकका महिनामा भने गति लिन खोजको देखिन्छ । प्राधिकरणका अनुसार गत पुस मसान्तमा पनि बीमा व्यवसाय वृद्धिदर ९.४२ प्रतिशत, मंसिर मसान्तमा ७.९४ प्रतिशत, कात्तिक मसान्तमा ९.४४ प्रतिशत वृद्धि भएको थियो ।

व्यापार विस्तारमा जीवन बीमा नै तगडा देखिएका छन् । समिक्षा अवधिमा जीवन बीमा व्यापार १०.४६ प्रतिशत वृद्धि भई ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीहरुको नयाँ व्यापार अर्थात् बीमा शुल्क आर्जन पनि २८.४९ प्रतिशत बढेको छ । ७ महिनामा कम्पनीहरुले २० अर्ब ७५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यता, नविकरण मार्फत संकलन हुने बीमा शुल्क आर्जन पनि ६.३४ प्रतिशत बढेर ७५ अर्ब २५ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार हाल सक्रिय जीवन बीमालेखको संख्या २.६१ प्रतिशत बढेर १ करोड ४१ लाख ५३ हजार ८४८ वटा पुगेको छ । तर, जारी बीमालेखको संख्या भने २०.४ प्रतिशत घटेको छ । माघ मसान्तसम्ममा आइपुग्दा कुल जारी जीवन बीमालेखको संख्या ३३ लाख ६८ हजार २९४ वटा पुगेको छ ।

प्राधिकरण अनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यापार ९.६९ प्रतिशत बढेको छ । ७ महिनामै कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको माघ मसान्तसम्ममा भने २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरुको बीमालेख बिक्री दर भने ६.९८ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीहरुले कुल १८ लाख २१ हजार ९२७ निर्जीवन बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरणका अनुसार बीमा व्यवसायसँगै दायरा पनि बढेको छ । हाल कुल जनसंख्याको ४३.९४ प्रतिशतमा पहुच पुगेको छ ।
र्थिक शिथिलताले कम्पनीहरुको व्यापार नै नकरात्मक असर गरिरहेको थियो । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायको आकार पनि घट्दो थियो । बीमाको दायरा पनि खुम्चिँदो नै थियो । तर, पछिल्लो समय भने केही आर्थिक गतिविधिसँगै कम्पनीहरुको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।

प्राधिकरणका अनुसार गत पुस मसान्तसम्ममा पनि ४३.६२ प्रतिशतमा बीमा पहुँच पुगेको छ । गत मंसिरसम्म पनि ४३.०२ प्रतिशत जनसंख्या बीमाको दायारामा थिए । यस्तै, कात्तिकसम्म ४२.९२ प्रतिशत, असोजसम्म ४२.८४ प्रतिशत, भदौसम्म ४२.९२ प्रतिशत र साउनसम्म भने ४२.७० प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।

यता, बीमा क्षेत्रमा आवद्ध हुने कर्मचारीहरुको संख्या पनि बढोत्तरी नै देखिन्छ । समिक्षा अवधिमा बीमा कम्पनीहरुको कर्मचारी संख्या ५.०६ प्रतिशत बढेर १२ हजार ५३ हजार पुगेको छ । यता, कार्यालयको संख्या थपिने क्रम जारी नै छ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालयको संख्या ३.५२ प्रतिशत बढेर २ हजार ९९६ वटा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्