निर्जीवन बीमा : व्यापारमा शिखरकै वर्चश्व, तीन कम्पनीको घट्यो व्यवसाय, कसले कति उठाए प्रिमियम ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्सकै वर्चश्व कायमै देखिएको छ । शिखरले आफूलाई पहिलो सूचीमा निरन्तरता दिन सफल भएको हो ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको कम्पनीहरुको व्यवसायिक विवरणअनुसार सर्वाधिक व्यापार गर्नेको शीर्ष सूचीमा शिखर छ ।
चालु आर्थिक वर्षको आठ महिनामा ४ अर्ब १ करोड ३९ लाख ५६ हजार रुपैयाँ बढीको व्यापार गरेको छ । यो गत वर्षको तुलनामा भने ७.९४ प्रतिशत बढी हो । गत वर्षको फागुन मसान्तसम्ममा पनि कम्पनीले ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
शिखर इन्स्योरेन्स मर्जर बिना नै अन्य कम्पनीहरुले व्यापार टक्कर दिएको छ । केही महिनाअघिसम्म दोस्रो, तेस्रो सूचीमा समेत पुगेको शिखरले पछिल्लो समय भने आफ्नो पोजिशनलाई पुनः नम्बर वान नै कायम राखेको छ । आठ महिनामा कम्पनीले १ लाख ९७ हजार २५८ वटा निर्जीवन बीमालेख जारी गरेको छ । कुल व्यवसायमा शिखरको हिस्सा १४.३२ प्रतिशत हुन आउँछ ।
व्यवसायको आकारको आधारमा दोस्रो सूचीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । सलिको आठ महिनामा ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको ११.८६ प्रतिशत हुन आउँछ । सलिको व्यापार वृद्धिदर भने ९.२४ प्रतिशत छ ।
प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म आइपुग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो । यता, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आफ्नो व्यापार ३.२० प्रतिशत मात्रै बढाएको देखिन्छ ।
पाँचौं स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि २ अर्ब २१ करोड ५ लाख र छैटौं स्थानमा रहेको नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
व्यापार बढाउन भने ओरियण्टल इन्स्योरेन्स निकै तगडा देखिएको छ । गत वर्षको तुलनामा कम्पनीले आफ्नो व्यापार ४४.०७ प्रतिशत बढाएर १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत वर्षको फागुन अन्तमा आइपुग्दा कम्पनीले १ अर्ब १८ करोड २४ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।
यता, नेपाल इन्स्योरेन्सको बिजनेश ग्रोथ पनि ४०.९९ प्रतिशत देखिन्छ । योसँगै कम्पनीले आठ महिनामा १ अर्ब ४० करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सको व्यापार पनि १४.७१ प्रतिशत, सानिमा जिआइसीको ०.६२ प्रतिशत र नेशनल इन्स्योरेन्सको ०.४४ प्रतिशत मात्रै ग्रोथ देखिन्छ ।
तर, राष्ट्रिय बीमा कम्पनीसहित तीन वटाको व्यापार भने घट्दो छ । समिक्षा अवधिमा राष्ट्रिय बीमाको व्यापार १३.३२ प्रतिशत घटेर १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यता, युनाईटेड अजोडको पनि ८.४९ प्रतिशत र प्रभूको ३.३५ प्रतिशत घटेको छ । युनाईटेड अजोड र प्रभूले आठ महिनामा क्रमशः १ अर्ब ५९ करोड ८६ लाख र १ अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
कसले कति उठाए प्रिमियम ? (रकम लाखमा )
