बीचमै बीमालेख त्याग्ने प्रवृत्तिमा छैन सुधार : एलआइसी र नेपाल लाइफको सरेन्डर उच्च, कुन कम्पनीबाट कति ? « Arthapath.com
१५ चैत्र २०८१, शुक्रबार

बीचमै बीमालेख त्याग्ने प्रवृत्तिमा छैन सुधार : एलआइसी र नेपाल लाइफको सरेन्डर उच्च, कुन कम्पनीबाट कति ?



काठमाडौं । पछिल्लो समय बीमा योजना परिपक्क हुने समयावधि नसकिँदै सरेन्डर गर्ने बीमितको संख्या बढ्दो नै छ ।
आठ महिनामै ७१ हजार बढी बीमितले झन्डै १० अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी बन्द गराएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा ७१ हजार ५५४ बीमितले पोलिसी सरेन्डर गराएका छन् । सो अवधिमा ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको हो ।

बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । हाल बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था प्राधिकरणले गरेको छ ।

तर, तोकिएको उक्त अवधी नसकिदैं बीमितहरुले बीमालेख नै बन्द गराउने सिलसिला बढ्दो नै छ । सरेन्डर प्रवृत्ति बीमा क्षेत्रलाईका नकरात्मक मानिन्छ । यद्यपि, बीमा सरेन्डर नियमित प्रक्रिया पनि मानिन्छन् ।

बीमितले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ ।

कतिपय अवस्थामा बीमितलाई आर्थिक समस्या परेको खण्डमा पनि बीमालेख त्याग्ने गरेका प्राधिकरणले जनाएको छ । यस्तै, बीमितले आफ्नो आर्थिक क्षमता अनुसार सुहाउँदो बीमालेख खरिद नगर्दा पनि यस्तो समस्या बढ्ने गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

अर्को तर्फ अभिकर्ताहरुले कमिसनको लोभमा लागेर बीमितलाई बीमा योजनाको बारेमा राम्रोसँग नबुझाई बीमा गराउँदा पनि सरेन्डरको प्रवृत्ति बढ्ने गरेको जानकारहरु बताउँछन् । यस्तै, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले पनि सरेन्डर प्रवृत्तिलाई थप टेवा पुर्याएको बताइन्छ । बीमितले आफ्ना आर्थिक हैसियत अनुसार र आवश्यकताका आधारमा बीमालेख खरिद गर्ने हो भने सरेन्डर दर घटाउन सकिने प्राधिकरणका अधिकारीको भनाई छ ।

एलआइसी र नेपाल लाइफका बीमितले त्याग्छन् धेरै बीमालेख, अन्य कुनको सरेन्डर कति ?

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सरेन्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको देखिएको छ । कम्पनीका १७ हजार ८९ बीमितले ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी बन्द गराएका छन् । यो कुल सरेन्डरको ३१.४ प्रतिशत हुन आउँछ ।

दोस्रो स्थानमा रहेको नेपाल लाइफका पनि १५ हजार ५७२ बीमितले बीमा पोलिसी त्यागेका छन् । आठ महिनामा कम्पनीको २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीका १० हजार १४६ बीमितले ९२ करोड ११ लाख रुपैयाँ, एशियन लाइफका ५ हजार ८२४ बीमितले ६१ करोड १४ लाख रुपैयाँ र सूर्यज्योति लाइफको ३ हजार ९६३ बीमितले ५३ करोड २१ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् ।

यस्तै, हिमालयन लाइफको ४२ करोड २७ लाख, मेट लाइफको २७ करोड ९९ लाख, सिटिजन लाइफको १८ करोड ४४ लाख, सानिमा रिलायन्सको १७ करोड ४५ लाख, प्रभू महालक्ष्मीको १४ करोड २० लाख र आइएमई लाइफको १३ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएका छन् । यी कम्पनीहरुमा क्रमशः ४ हजार ५४, २ हजार ३७, १ हजार ९५९, १ हजार २० र १ हजार १९० जना बीमितले बीमालेख त्यागेका छन् ।

यस्तै, रिलायवल नेपाल लाइफका १ हजार ९६ बीमितले ७ करोड ४४ लाख र सन नेपाल लाइफका ५२६ बीमितले ५ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा सरेडन्डर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्