१३ प्रतिशत बढ्यो जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, व्यापार भित्र्याउन यी कम्पनीहरु देखिए तगडा

काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन दोहोरो अंकले वृद्धि भएको छ । कुल व्यापारमा नयाँ व्यवसायको हिस्सा १९.४३ प्रतिशत योगदान छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
हाल संचालनमा रहेका १४ वटा कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ बराबरको नयाँ व्यावसाय भित्र्याएका छन् । यो गत आवको फागुन मसान्तसम्मको तुलनामा १३.१८ प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने कम्पनीहरुले कुल १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए ।
आर्थिक शिथिलताले कम्पनीहरुको समग्र व्यवसाय नै माथि उठन सकिरहेको थिएन । कम्पनीहरुलाई नयाँ व्यवसाय भित्र्याउनै निकै सकस थियो । तर, हाल विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ । अर्थतन्त्र चलायमान भएसँगै बीमा व्यवसाय पनि फष्टाउँदै गएको छ । नयाँ व्यवसाय वृद्धि कम्पनीहरु व्यापाक रुपमा तातिएका छन् ।

अधिकांश कम्पनीहरु नयाँ व्यवसाय वृद्धिमा जोड दिएका छन् । ११ वटा कम्पनीको प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । तीन वटाको भने घटेको देखिन्छ ।
गत वर्षको तुलनामा सन नेपाल लाइफको नयाँ व्यवसाय २८.९६ प्रतिशत घटेर ६२ करोड १८ लाख रुपैयाँ कायम भएको छ । यता, आइएमई लाइफको ११ प्रतिशत र रिलायवल नेपाल लाइफको ०.१५ प्रतिशत घटेर क्रमशः ७७ करोड ९५ लाख र ८५ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
नयाँ व्यवसाय बढाउन प्रभू महालक्ष्मी लाइफ तगडा देखिएको छ । समिक्षा अवधिमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ५० प्रतिशत बढेर ७९ करोड ८५ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय पनि ३९.५९ प्रतिशत, एलआइसी नेपालको २६.९७ प्रतिशत, नेपाल लाइफको २३ प्रतिशत, सूर्यज्योति लाइफको १६.२० प्रतिशत, नेशनलको १५.६१ प्रतिशत र हिमालयन लाइफको १२.५१ प्रतिशत वृद्धि भएको छ ।
नयाँ व्यवसायको आकार भने नेपाल लाइफको ठुलो छ । समिक्षा अवधिमा कम्पनीले कुल ५ अर्ब २४ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत वर्षको फागुन मसान्तसम्ममा भने ४ अर्ब २४ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, नेशनल लाइफले पनि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । यता, एलआइसी नेपालले १ अर्ब ७१ करोड ८२ लाख, हिमालयन लाइफले १ अर्ब ५६ करोड ७२ लाख, सूर्यज्योतिले १ अर्ब ५५ करोड ७६ लाख, सिटिजन लाइफको १ अर्ब १८ करोड ७३ लाख, एशियनले १ अर्ब ८ करोड १२ लाख र सानिमा रिलायन्सले १ अर्ब १ करोड ८८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
कुन कम्पनीहरुको नयाँ व्यवसाय कति ?

लघु जीवन बीमकको नयाँ व्यवसाय कस्तो ?
चालु आवको ८ महिनामा तीन लघु जीवन बीमा कम्पनीहरुले ४० करोड १२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले १७ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यता, क्रेष्ट माइक्रो लाइफले पनि १५ करोड ८१ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ६ करोड ९० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् ।
समिक्षा अवधिमा लघु जीवन बीमकले कुल ७२ करोड ४६ लाख रुपैयाँ बराबरको कुल व्यवसाय गरेका छन् । हाल कम्पनीहरुले ७ लाख ९१ हजार ८५६ वटा बीमालेख सक्रिय छन् । कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत ३१ करोड ४८ लाख र नविकरण मार्फत ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।