उकासिँदै बैंक र बीमा क्षेत्र, आर्थिक वृद्धिमा स्थायीत्वको संकेत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.६५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
यसले देशको समग्र आर्थिक वृद्धिमा वित्तीय तथा बीमा क्षेत्रको उल्लेखनीय भूमिका देखाउँछ ।
राष्ट्रिय योजना आयोग तथा केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत रहने अपेक्षा गरिएको छ ।
बैंकिङ्ग क्षेत्रमा निक्षेप तथा ऋण प्रवाहमा भएको निरन्तर वृद्धिले आर्थिक सक्रियतालाई बढाएको छ । त्यसैका आधारमा मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन् ।
विगत वर्षको तुलना गर्दा यो वृद्धिदर केही घटेको देखिन्छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहेको संशोधित अनुमान गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा पनि वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत थियो । तथ्यांक अनुसार वित्तीय तथा बीमा क्षेत्रले पछिल्ला केही वर्षयता स्थिर र दिगो वृद्धि कायम राख्न सफल भएको देखिन्छ ।
वित्तीय पहुँच विस्तार, डिजिटल बैंकिङ्ग सेवाको प्रवद्र्धन, र बीमा क्षेत्रको विस्तारले यस क्षेत्रमा लगानीकर्ताको चासो बढेको छ । बैंक तथा बीमा कम्पनीहरू पनि आफ्ना सेवा तथा उत्पादनहरू नविन ढंगले विस्तार गर्नमा अग्रसर भएका छन् ।
नेपाल राष्ट्र बैंकले समयसापेक्ष नीति तथा निगरानी प्रणाली सुधार गर्दै लगेका कारण पनि वित्तीय प्रणालीमा स्थायित्व कायम हुने अपेक्षा छ ।
दीर्घकालीन रुपमा हेर्दा वित्तीय तथा बीमा क्षेत्र नेपालको समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने प्रमुख क्षेत्रको रुपमा स्थापित हुँदै गएको छ । आगामी वर्षहरूमा डिजिटल प्रविधिको अधिकतम प्रयोग, वित्तीय साक्षरता अभिवृद्धि र नियामक सुधारमार्फत यो क्षेत्रलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
वृद्धिदर र जीडीपीमा योगदानलाई हेर्दा सरकार तथा निजी क्षेत्रको सहकार्यमा वित्तीय प्रणालीको दिगोपन कायम राख्न सकिने जानकारहरु बताउँछन् ।