नेशनल लाइफले कमायो ४० करोड ८५ लाख नाफा, ८१ अर्ब नाघ्यो बीमा कोषको आकार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सवा ५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा कम्पनीले ४० करोड ८५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ५.१९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ११.४८ प्रतिशत बढेर १४ अर्ब ७ करोड ९५ लाख २६ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा भने यस्तो बीमा शुल्क १२ अर्ब ६२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले लगानी तथा कर्जाबाट पनि ४ अर्ब ३३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, कमिसन आम्दानी पनि २८.८७ प्रतिशत बढेर ४ करोड ८८ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत वृद्धि भई १९ अर्ब ३७ करोड ८० लाख पुगेको छ । यता, कुल खर्च पनि ११.२४ प्रतिशत बढेर १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीले दावी भुक्तानी पनि ९.९७ प्रतिशत बढाएको छ । ९ महिनामा कम्पनीले १५ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छ ।
कम्पनीले जीवन बीमा कोषको आकार पनि १७.९८ प्रतिशत बढाएर ८१ अर्ब ३२ करोड ६० लाख पुर्याएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोष ६१ करोड ६ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १०.४९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ ।