झन्डै १५ प्रतिशत बढायो एनएलजी इन्स्योरेन्सले लगानी, कमायो साढे १२ करोड नाफा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले झन्डै साढे १२ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा कम्पनीले १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ९.७८ प्रतिशत कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १३ करोड ६७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफामा गिरावट आएपनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने ३१.६६ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो बीमा शुल्क ६६ करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ। जबकि, गत आवको सोही अवधिमा भने ५० करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिसन बापत हुने आम्दानी पनि १७.४४ प्रतिशत बढेर २३ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी भने २३.३० प्रतिशत गिरावट आई १३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल आम्दानीमा १४.८६ प्रतिशत बढोत्तरी देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा ९० करोड ८० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यो वर्षको सोही अवधिमा आइपग्दा भने १ अर्ब ४ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । तर, कुल खर्च वृद्धिदर पनि उच्च नै देखिएको छ। समिक्षा अवधिमा कम्पनीको यस्तो खर्च २०.९८ प्रतिशत बढेर ८६ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको खुद दावी भुक्तानी पनि ३५.५३ प्रतिशत बढेर ४४ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीले लगानी पनि दोहोरो अंकमा बढाएको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको लगानी १४.८४ प्रतिशत बढेर ३ अर्ब ४२ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ र विपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ६.५७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३२ रुपैयाँ कायम भएको छ ।