बीमा क्षेत्रको ‘कमब्याक’लाई समर्थन गर्दै बजार : जीवन बीमामा नाफाको बहार, कसले कति कमाए ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

बीमा क्षेत्रको ‘कमब्याक’लाई समर्थन गर्दै बजार : जीवन बीमामा नाफाको बहार, कसले कति कमाए ?



काठमाडौं । व्यापार विस्तारमा आक्रामक ठुला जीवन बीमा कम्पनीहरुको नाफा वृद्धिदर पनि सकरात्मक नै छ ।

कम्पनीहरु व्यापारसँगै लगानी विस्तारमा पनि केन्द्रित छन्, जसको सकरात्मक प्रभाव नाफा वृद्धिमा परेको छ । कम्पनीहरुको नाफा दोहोरो अंकमा नै वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा १४ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८८ करोड ७३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ११.९३ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीहरुले ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा कम्पनीहरुको व्यापार वृद्धिदर पनि १४.६२ प्रतिशत छ । मुलुकमा आर्थिक गतिविधिक पनि विस्तारै चलायमान हुँदैछ । बीमा प्रतिको चासो पनि आम मानिसमा बढ्दै गएको छ । यसका साथै लगानीको रणनीति व्यवस्थापन र वित्तीय अनुशासनका कारण पनि कम्पनीहरुको प्रदर्शन सुदृढ देखिन्छ । समग्रमा कम्पनीहरुले व्यापार, लगानी र नाफामा सन्तुलित र सकरात्मक प्रगति गरेका छन् ।

विशेषत आर्थिक गतिविधिमा आएको सुधार, रोजगारीको अवसरहरु विस्तार, बीमाप्रतिको चेतना र डिजीटल प्रविधिको प्रयोगले कम्पनीहरुको नाफा लगायतका सूचक वृद्धिदरलाई ठुलो टेवा पुर्याएको छ ।

विगत केही समयदेखि कम्पनीहरुको व्यापार पनि प्रभावित भएको थियो । आर्थिक शिथिलताका कारण कम्पनीहरुको लगानी विस्तार र नाफा वृद्धिदरमा निकै नै असर परिरहेको थियो । तर, हाल अर्थतन्त्र विस्तारै चलायमान हुँदै छ । समग्र बीमा उद्योग नै सकरात्मक बन्दै आएको छ । यसले आगामी दिनमा यस क्षेत्र अझै उल्लेख्य रुपमा बढ्द जाने बताइन्छ ।

अधिकांश कम्पनीहरुको व्यापार सकरात्मक रुपमा वृद्धि भएको छ । समिक्षा अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमाको नाफामा ठुलो गिरावट देखिन्छ । विवरण अनुसार सन नेपालको नाफा ३३.३५ प्रतिशत घटेको छ । यता, राष्ट्रिय जीवन बीमाको नाफा ३७.१० प्रतिशत घटेको छ । तर, यी बाहेकका सबै कम्पनीहरुले नाफा बढाएका छन् ।

सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नेपाल लाइफ छ । कम्पनीले ९ महिनामा ६५ करोड २२ लाख बढी नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८.६३ प्रतिशत धेरै हो ।

दोस्रो धेरै हिमालयन लाइफले ४७ करोड २४ लाख नाफा कमाएको छ । कम्पनीको नाफा वृद्धिदर ८.४९ प्रतिशत धनात्मक छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा बढाउनको शीर्ष सूचीमा एशियन लाइफ छ । कम्पनीको नाफा ५९.५ प्रतिशत वृद्धि भई ३३ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, रिलायवल नेपाल लाइफले पनि नाफा ३६.८८ प्रतिशत बढाएर ४६ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा सूर्यज्योति लाइफको नाफा ३१.८९ प्रतिशत, मेट लाइफको २७.६ प्रतिशत, सिटिजनको २७.१४ प्रतिशत, एनआइसी नेपालको २२.६५ प्रतिशत, सानिमा रिलायन्सको १०.७७ प्रतिशत, आइएमईको १०.४७ प्रतिशत वृद्धि भएको छ ।

यता, नेशनल लाइफले पनि ५.१८ प्रतिशत र प्रभू महालक्ष्मीले ०.६७ प्रतिशत मात्रै नाफा बढाएका छन् ।

कसले कति कमाए ?


प्रतिक्रिया दिनुहोस्