हिमालयन रिको प्रभावशाली प्रदर्शन: सवा ४ अर्ब माथिको व्यापार, नाफा पनि उच्च
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले झन्डै एक अर्ब नाफा कमाएको छ । कम्पनीको व्यापार पनि उच्च दोहोरो अंकमा वृद्धि भएको छ ।
कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ६.२५ प्रतिशत धेरै हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको व्यापारको आकार ४ अर्ब नाघेको छ । ९ महिनामै कम्पनीले ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खदु बीमा शुल्क आर्जन गरेको छ । जुन, गत आवको तेस्रो त्रैमासको तुलनामा १९.७६ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो बीमा शुल्क आर्जन ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको लगानी पनि ६.८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले १७ अर्ब ८० करोड ८८ लाख रुपैयाँ कुल लगानी गरेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १९.१५ प्रतिशत वृद्धि भई ९१ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।
९ महिनामा कम्पनीको कुल आम्दानी २१.७६ प्रतिशत बढेर ५ अर्ब २० करोड २६ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि २४.७० प ्रतिशत बढेर ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको दावी भुक्तानी खर्च पनि ४२.३७ प्रतिशत बढेर २ अर्ब २८ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ४९ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १२.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ ।


















